कांग्रेसको स्वास्थ्य विभाग प्रमुखमा डा. यादव, पूर्वस्वास्थ्य राज्यमन्त्री श्रेष्ठ र गुरूङ पनि बने विभागीय प्रमुख


काठमाडौं । नेपाली कांग्रेसको स्वास्थ्य विभाग प्रमुखमा डा. चन्द्रमोहन यादव मनोनित भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले यादवलाई स्वास्थ्य विभाग प्रमुखमा मनोनित गरेका हुन्।

नेपाली कांग्रेसमा सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३७(१) (ग) बमोजिम नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका सदस्य डा. यादवलाई केन्द्रीय स्वास्थ्य विभाग प्रमुखमा मनोनित गरेका छन्। उनी पूर्व एवं प्रथम राष्ट्रपति रामवरण यादवका छोरा समेत हुन्।

त्यस्तै सभापति देउवाले पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका उमेश श्रेष्ठलाई कृषि तथा किसान विभाग प्रमुखमा मनोनित गरेका छन्। पछिल्लो समय कृषि पेसामा रमाएका श्रेष्ठलाई देउवाले बुझेरै कृषि तथा किसान विभाग प्रमुख बनाएको देखिन्छ। नेपाली कांग्रेसमा केन्द्रीय सदस्य समेत रहेका पूर्वस्वास्थ्य राज्यमन्त्री श्रेष्ठ कृषि क्रान्तीमा होमिएका छन्।

गगनकुमार थापा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य राज्यमन्त्री रहेका तारामान गुरूङलाई समेत सभापति देउवाले केन्द्रीय विभागको प्रमुख बनाएका छन्। गुरूङ प्राकृति स्रोत विभागको प्रमुखमा मनोनित भएका हुन्।

केन्द्रीय सदस्य गोविन्द भट्टराई राज्य प्रशासन विभाग प्रमुख मनोनित हुँदा उमेशजंग रायमाझी खेलकुद विभाग प्रमुख बनेका छन्। शिक्षा विभाग प्रमुखमा नैनसिंह महर, कानुन विभाग प्रमुखमा मानबहादुर नेपाली, विद्यार्थी विभाग प्रमुखमा राजीव ढुंगाना, पेशागत तथा बुद्धिजीवी विभागमा डा. डिला संग्रौला र सुभेच्छुक संस्था समन्वय विभाग प्रमुखमा अब्दुल सत्तार मनोनित भएका हुन्।

 

वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुखमा कल्याणकुमार गुरुङ मनोनित भएका छन्। पार्टी सभापति देउवाले ३७ वटा विभागको प्रमुख तोकेका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ