आधारभूत अस्पतालका लागि चाहिने स्वास्थ्य सामग्री  धमाधम वितरण


काठमाडौँ । आधारभूत अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणका वितरण पारदर्शी ढङ्गबाट अगाडि बढेको छ । स्वास्थ्य मन्त्रालयको योजना, अस्पतालहरूको आवश्यकता र माग अनुसार स्वास्थ्य सेवा विभागले खरिद गरेका आवश्यक सामग्रीको वितरण तीब्र गतिमा भइरहेको छ ।

स्वास्थ्य सेवा विभागले दिएको जानकारी अनुसार आधिकांश जिल्ला र पालिकाका स्वास्थ्य संस्थाहरूमा आवश्यक सामग्री पुगेका छन् । नपुगेका अस्पताल र स्वास्थ्य संस्थाले लाने क्रम जारी छ । अस्पतालमा उपकरण सञ्चालन गर्न सक्ने जनशक्ति, बिरामीको चाप र सेवाको आवश्यकतालाई पहिचान गरेर विभागले स्वास्थ्य उपकरणहरू वितरण गरेको छ ।

विगतका दिनहरूमा वितरण भएका स्वास्थ्य सामग्रीमा बेथिति भएको भन्दै यस वर्षबाट थिति बसाल्न त्रिपक्षीय सम्झौता भएपछि मात्रै हस्तान्तरण गरिएको छ । हाल सम्म १३ वटा केन्द्रिय अस्पताल, १०९ स्थानीय तह, ३१ वटा प्रदेश अस्पतालमा स्वास्थ्य सामग्री गइसकेका छन् । सामग्री माग्ने र लैजानेको भिड हुने विभागमा स्वास्थ्य मन्त्रीलाई बधाई तथा शुभकामना दिन आउँनेले एकै पटक सामग्री लगेकाले अहिले भिड कम भएको छ ।

विभागले हालै निमार्ण सम्पन्न भएका आधारभूत अस्पतालमा शय्या, डेलिभरी शय्या, विपी सेट, स्थेस कोप, डेलिभरी सेट, निबुलाइजर, एसीजी मेसिन, माइक्रोस्कोप, प्यासेन्ट मनिटर, ह्विल चियर, अक्सिजन सिलिन्डर लगायत तत्काल सेवा सुरु गर्नका लागि चाहिने सामान पठाएको छ । लगेका सामग्रीहरू सञ्चालन नभएर कारबाहीको भागिदार सम्बन्धित निकायको जिम्मेवार व्यक्ति हुनुपर्ने छ ।

पछिल्लो समय स्वास्थ्य उपकरण खरिद र वितरणमा मन्त्रीले चाहेको भन्दा बढी पारदर्शिता देखिएको छ । स्वार्थ पुरा नभएका निकायहरू बाहेक अरुले स्वास्थ्य सामग्री खरिद र वितरणमा प्रश्न उठाएका छैनन् । तर, सरुवाको हल्लाले कर्मचारी तन्त्रमा एक प्रकारको तरंग भने ल्याएको छ । सरुवा तत्काल नहुने र निरन्तर हल्लाले कर्मचारीको काम गर्ने मनसायमा ब्यापक गिरावट आएको छ । यसले कर्मचारीमा भन्दा पनि मन्त्रीको सफल हुने बाटोमा तगारो लाग्ने देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ