लीलादेवी गडतौलालाई समावेशी आयोगको अध्यक्ष बनाउने तयारी


काठमाडौं । सचिवको वरियताक्रममा ९ नम्बरमा रहेर वरियता मिचेर मुख्यसचिव बनेकी लीलादेवी गडतौलालाई राष्ट्रिय समावेशी आयोगको अध्यक्ष बनाउने तयारी भइसकेको छ। कानुन आयोगको सचिव हुँदै राष्ट्रिय समावेशी आयोगको अध्यक्ष बन्न आवेदन दिएकी गडतौलालाई संवैधानिक परिषद्ले उक्त आयोगको अध्यक्षमा सिफारिस गर्ने तयारी गरेको हो।

बुधबार ५ बजे बस्न लागेको संवैधानिक परिषद्को बैठकमा राष्ट्रिय समावेशी आयोगको अध्यक्षका लागि गडतौलको नाम प्रस्ताव हुने सम्भावना रहेको परिषद् सचिवालय स्रोतको दाबी छ। राष्ट्रिय समावेशी आयोगको अध्यक्ष बन्नका लागि गडतौलले मिडियामा गएर प्रधानमन्त्री केपी शर्मा ओलीको गुनगान गाउन थाल्नुले पनि त्यसको छनक मिलेको देखिन्छ।

संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना उच्च छ। विश्वभरप्रसाद श्रेष्ठ ३ हप्ता मात्र सर्वोच्चको प्रधानन्यायाधीश रहने भएकाले उनको ठाउँमा अर्को प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी छ। प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँलको डा. मनोज शर्मा, डा. कुमार चुडाल, डा. नहकुल सुवेदीको नाम संवैधानिक परिषद्मा पठाएको छ।तीमध्ये वरिष्ठतम् न्यायाधीश राउत नै प्रधानन्यायाधीशमा सिफारिस हुने सम्भावना छ।

हुन त वरियतामा पाँचौं नम्बरमा रहेका एकनारायण अर्याललाई मुख्यसचिव बनाएर ‘बहादुरी’ प्रदर्शन गरेका ओलीले प्रधानन्यायाधीशमा पनि वरिष्ठता र वरियतालाई ‘घाममा सुकाइदिन’ सक्छन्। त्यसमा संवैधानिक परिषद्का अन्य सदस्य चनाखो बन्नुपर्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ