पशुपतिको गौशाला धर्मशाला मारवाडी समितिबाट फिर्ता आयो


काठमाडौं। पशुपति क्षेत्र विकास कोष अन्तर्गतको गौशाला धर्मशाला मारवाडी सेवा समिति, नेपालबाट फिर्ता आएको छ। कोषले २०८० साल साउन १३ गते मारवाडी सेवा समितिसँग भएको सम्झौता खारेज गर्दै फिर्ता ल्याउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध मारवाडी सेवा समितिले अदालत गएको थियो। अदालतले मारवाडी सेवा समितिको विपक्षमा फैसला गरेसँगै मारवाडी सेवा समितिको कब्जाबाट गौशाला धर्मशाला खोसिने भएको छ।

मारवाडी सेवा समितिले गौशालाको मुख्यचोकमा रहेको पशुपति क्षेत्र विकास कोषको नाममा रहेको ९ रोपनी ९ आना २ पैसा जग्गा कौडीको भाउमा हडप्दै आएको थियो। कोषका अध्यक्ष एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पालामा मारवाडी सेवा समितिसँग भएको सम्झौता खारेज गर्दै उक्त जग्गा खोस्ने निर्णय भएको थियो। उक्त निर्णयलाई अदालतले पनि साथ दिएको किराँतीले जनाएका छन्।

किराँतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ,

सानो खुशीको खबर,

नाजायज सम्बन्धबाट सम्झौता गरि गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समाजले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि हडपेर भोगचलान गर्दै आएको सबैमा जगजाहेरै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हाम्रो कार्यकालमा ०८०/०४/१७ को निर्णय अनुसार उक्त सम्झौता खारेज गरिएको थियो। तर, मारवाडी समाजले दिएको उजुरीको कारण सो विषय अदालतमा विचाराधीन अवस्थामा थियो। अदालतको फैसला अनुसार आजबाट सो सम्पूर्ण सम्पत्ति श्री पशुपतिनाथको मातहतमा आएको छ। सबैलाई धन्यवाद र जग्गाको उचित संरक्षण र व्यवस्थापन गर्नका लागि पशुपति क्षेत्र विकास कोषलाई अनुरोध गर्दछु।

जय पशुपतिनाथ !

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ