स्वास्थ्यमन्त्रीले टेकु अस्पतालमा ओपीडी टिकटको मूल्य ५० रुपैयाँ पुऱ्याए


काठमाडौँ । नेपाली काङ्ग्रेसको कोटाबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेका प्रदीप पौडेलले गरिबको उपचार गर्ने अस्पतालमा ओपीडी टिकटको मूल्य बढाएका छन्। असोज ५ गतेबाट लागू हुनेगरी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ओपीडी टिकटको मूल्य ३० रुपैयाँबाट बढाएर ५० रुपैयाँ बनाइएको छ।

स्वास्थ्य सेवा नि:शुल्कको भाषण छाडेर हिँडेका पौडेल भुइँ मान्छेको उपचारमा मूल्य बढाएर ढाड सेक्न लागेका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधी बसौलाले समितिको निर्णय अनुसार मूल्य बढाएको स्वीकार गरे। स्वास्थ्य क्षेत्र एउटा सिस्टममा आउँन लागेको बेला पौडेल भत्काउन लागेका छन्।

निःशुल्क पाइने एन्टीरेबिज भ्याक्सिनमा पनि मूल्य वृद्धि भएको छ। तीन डोजको १ सय ७० रुपैयाँ लिँदै आएको अस्पतालले अहिले ३ सय रुपैयाँ लिन थालेको छ। अरुले गरेको राम्रो कामलाई आफैले गरेको भनेर प्रचार गर्ने मन्त्री पौडेल यो विषयमा आफूले निर्णय नगरेको भन्दै पन्छिन सक्छन्। पौडेल आफैमा मिडियामा प्रचार खोज्ने भएकाले गरिब लुट्ने निर्णयले उनलाई फाइदा पुग्दैन। त्यसैले पनि मूल्य बढाउने निर्णय आफ्नो नभएको भनेर पन्छिन सक्छन्।

स्वास्थ्यले रङ्ग न ढङ्गका व्यक्ति मन्त्री पाएपछि बेथिति बढ्दै गएको छ। ‘भुस्याहा कुकुर’ले टोक्ने भनेको आधिकांश सडकमा मजदुरी गर्नेहरू हुन्छन्। सडकमा मजदुरी गर्नेहरूसँग ३ सय रुपैयाँ तिरेर लगाउने खोप र ५० रुपैयाँको टिकट काट्न पैसा हुँदैन। यस्तो अवस्थामा मूल्य बढाउनुले स्वास्थ्यमन्त्रीको नियत के रहेछ भन्ने स्पष्ट हुन्छ। अस्पतालका एक अधिकारीले भने, ‘प्रदीप पौडेलका “छेपारे” कुरा नगरम, पौडेल आएर स्वास्थ्यमा राम्रो काम के भयो भन्नोस् त ?’, टेकु अस्पतालको ओपीडी शुल्क बढाउनुले त्यो कुरालाई थप पुष्टि गरेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ