पञ्चायतका ती टंक गिरी गणतन्त्रका यी एकनारायण अर्याल


काठमाडौं। पञ्चायतकालमा खोटाङ हलेसी महादेवका पुजारीका छोरा टंक गिरीले लोक सेवामा नाम निकाले। २०४३/४४ सालतिर शाखा अधिकृत बनेर लामिडाँडा विमानस्थित हुँदै गिरी खोटाङ फर्किने भए। गिरी लामिडाँडा विमानस्थलमा पुग्नेवित्तिकै पुजारीको छोराले शाखा अधिकृतमा नाम निकाल्यो भन्दै बाजागाजासहित फूलमाला र अबिर जात्रा मनाउने काम भयो। पञ्चायतकालमा भएको यो हर्षबढाइँ अहिले पनि चर्चा हुने गर्छ।

पञ्चायतकालमा हलेसी महादेवका पुजारीका छोरा टंक गिरी शाखा अधिकृत हुँदा गरेको अबिर जात्रा गणतन्त्रमा पनि देखा परेको छ। बाढीपहिरोले मुलुकमा सयौंको संख्यामा ज्यान गोइरहेका बेला एकनारायण अर्याल टंक गिरीको याद दिलाउने गरी गृह जिल्ला स्याङ्जामा पञ्चेबाजासहित फूलमाला, खादा र अबिर जात्रामा रमाइरहेका थिए। उनले देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएर उक्त पञ्चेबाजासहित आँधीखोला घुमेका हैनन् मुख्यसचिव भएको उपलक्ष्यमा उक्त अबिर जात्रा गरिएको थियो। देश राष्ट्रिय विपत्तिमा परेका बेला राष्ट्र सेवक भनेर आफूलाई चिनाउने निजामती प्रशासनको नेतृत्वकर्ता एकनारायण पञ्चेबाजामा रमाइरहेको दृश्यले उनैलाई गिज्याइरहेको देखिन्छ।

जेलमा रहेका टेकनारायण पाण्डेलाई पनि हिसाब गर्ने हो भने बरियतामा पाँचौ नम्बरमा रहेका एकनारायण चार जना वरिष्ठ सचिवलाई उछिन्दै मुख्यसचिव बनेका हुन्। बरियता मिचेर एकनारायण मुख्यसचिव बनाएको भनेर चर्को आलोचना भइरहेको छ। देशलाई राष्ट्रिय विपत्ति परेका बेला पञ्चेबाजा र अबिर जात्रामा रमाउनुले उनी देश बनाउने हैन आफै बन्न मुख्यसचिव भएका हुन् भन्ने उक्त दृश्यले देखाउँछ। राष्ट्रिय विपत्तिमा जिम्मेवार पदाधिकारी र गैरजिम्मेवार बन्नुले जनमानसमा नकारात्मक छाप बसेको छ।

अबिर जात्रा र बाजागाजाले पञ्चायतका ती टंक गिरीसँग गणतन्त्रका यी एकनारायण अर्यालको तुलना हुन थालेको हो। मुलुक पञ्चायत, बहुदल हुँदै गणतन्त्रमा पुगिसक्यो तर त्यहीँ तौरतरिका व्यवहार र प्रवृत्ति फेरिएको छैन। व्यवस्था फेरिए पनि अवस्था उस्तै छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ