काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई राहत र पुन:स्थापनाका लागि काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग


काठमाडौं। काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई बाढीजन्य विपद्बाट पुगेको क्षति पुनःस्थापना तथा संकट व्यवस्थापन गर्न राहतका लागि काठमाडौँ महानगरपालिकाले २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ।महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले पालिकाहरुको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो। यसरी सहयोग प्रदान गरिने पालिकाहरुमा पनौती नगरपालिका, रोशी गाउँपालिका र वेथानचोक गाउँपालिका छन्। पालिकाहरुबाट सहयोगको माग भएपछि विपद् व्यवस्थापन समितिमा छलफल गरेर सहयोगका शिफारिस गरेर महानगर विपद व्यवस्थापन समितिमा पठाइएको, समितिका संयोजक प्रेम थापाले जानकारी दिए।

आन्तरिक क्षति व्यवस्थापन गर्दै संकटमा परेका पालिकाहरुलाई महानगरपालिकाले सहयोग उपलब्ध गराएको हो। आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन वडाहरुलाई पत्राचार गरिएको छ। वाह्यतर्फ सहयोगका माग भएका स्थानीय तहहरुलाई ‘विपद् व्यवस्थापन कोष’ बाट सहयोग उपलब्ध गराएको हो। अनधिकृत बसोबासलाई भौतिक सहयोग गरेर असुरक्षित आवासलाई बढावा नदिने महानगरपालिकाको नीति छ।

सहयोग उपलब्ध गराइएका पालिका क्षेत्रमा असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल बर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी र पहिरोले व्यक्तिका बस्ने घर पूर्ण र आंशिक रुपमा क्षति गरेको छ। सार्वजनिक सेवा प्रदान गरिने कार्यालयहरुबाट सेवा प्रवाह गर्न कठिन हुने अवस्था सिर्जना भएको छ। सडक, खानेपानीका ट्याङ्की तथा पाइप लाइन, सञ्चार र विद्युत सञ्जाल विच्छेद भएको छ। खेतीबाली बगाएको र पुरिएको छ। लत्ताकपडा, खानेकुराको अभाव तथा स्वास्थ्यजन्य समस्या सिर्जना भएको छ। यस्तो मानवीय संकटमा राहत र पुनःस्थापना गर्न महानगरपालिकाले सहयोग गरेको हो।

बाढी पहिरोको विपत्तिमा परेर पनौती नगर क्षेत्रमा २० जना व्यक्तिको मृत्यु भएको छ। ५ सय वटा घर पूर्ण र ७१३ वटा घर आंशिक रुपमा क्षति भएका छन्। २ हजारभन्दा धेरै पशु धनको क्षति भएको छ। रोशी गाउँपालिका क्षेत्रभित्र १२ जना व्यक्तिको निधन भएको छ। आवासीय करिब ५ सय घरमा पूर्ण क्षति भएको छ। करिब १ हजार ५ सय घरमा आंशिक क्षति भएको छ। खसी बोका, गाई, भैसी गरेर करिब ५ सय र कुखुरा चल्ला करिब २ हजार संख्यामा क्षति भएको छ।

वेथानचोक गाउँपालिकाभित्र १२ जना व्यक्तिको निधन भएको छ। पूर्ण र आंशिक गरेर ९७० वटा घरहरुमा क्षति पुगेको छ। गाई, भैँसी र वंगुर गरेर १ हजार वटा, ८ हजार ५ सय वटा कुखुरा गरी ९ हजार ५ सय बढी पशुधनको क्षति भएको हो। गाउँपालिकाको प्रशासनिक भवनमा पनि क्षति पुगेको छ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ