स्वास्थ्यमन्त्री निक्ष, जसले आफ्नै गोजीको १५ लाख हालेर महामारीमा औषधि खरिद गरे


काठमाडौं । मात्र १७ वर्ष अगाडि कुरा हो । स्वास्थ्य सहायक मन्त्रीको कुर्सीमा निक्ष सम्शेर राणा थिए । २०६१ साल माघ १९ गते तत्कालीन् राजा ज्ञानेन्द्र वीर बिक्रम शाहको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्मा निक्षलाई स्वास्थ्य सहायक मन्त्रीको जिम्मेवारी दिईएको थियो । मन्त्रिपरिषद्को दोस्रो वरियताका उपाध्यक्ष कीर्तिनिधि बिष्टले भौतिक योजना तथा निमार्ण मन्त्रालयसहित  स्वास्थ्य हेर्ने जिम्मेवारी पाएका थिए । बिष्टले स्वास्थ्य मन्त्रालयको सबै अधिकार सहायक मन्त्री निक्षलाई नै प्रत्यायोजन गरिदिएका थिए । स्वास्थ्यमा अर्को मन्त्री नपठाई ज्ञानेन्द्रकै सल्लाह बमोजिम बिष्टले निक्षलाई नै स्वास्थ्यको सम्पूर्ण अधिकार दिएका थिए ।

उनी स्वास्थ्यमन्त्रीको रुपमा आउँनु केही समय अगाडि देशमा जापानिज इन्सेफ्लाइटिसको महामारी थियो । कयौं मानिसहरुको मृत्यु भएको थियो । तत्कालीन् उपसचिव तथा हालै सेवाबाट अवकास पाएका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ भन्छन्, ‘बि.स. २०६० सालमा जापानिज इन्सेफ्लाइटिसले केही जिल्लामा महामारीको रुप लिएको थियो । त्यस बेलाको सीमित जनशक्ति, स्रोत साधन र अहिलेको स्रोत साधन र जनशक्तिकाबीच देखिएको कोरोना महामारी उस्तै थियो ।’,

नेपालमा त्यो बेला जापानिज इन्सेफ्लाइटिसले साउन, भदौं, असोज र कात्तिक चारमहिना महामारीको रुप लियो । श्रेष्ठकाअनुसार दाङमा मात्रै ५ सय बढी मानिसको मृत्यु भयो । लगत्तै राजाको प्रत्यक्ष शासन सुरु भयो । विश्व बैंकले भ्याक्सिन खरिद गर्न १३ करोड रुपैयाँ दिएको थियो । उक्त रकमबाट भ्याक्सिन खरिद गर्ने भनेर स्वास्थ्य मन्त्रालयले टेन्डर आह्वान गर्यो तर, दुई कम्पनीले मात्रै हाले । स्वार्थ बाझिने भन्दै मन्त्रालयले उक्त टेन्डर रद्ध गरिदियो । सबै रकम विश्व बैंक फिर्ता गएपछि राजाले स्वास्थ्यसचिव, खोप शाखा प्रमुख र उपसचिवलाई अख्तियारमार्फत मुद्दा लगाउने तयारी भयो । सबैलाई एक दिन थुनेर तारिकमा छाडियो ।

अधिकारीहरुका अनुसार नेपालको खरिद ऐनले यस्तो व्यवस्था दिएको छैन । महेन्द्र श्रेष्ठ भन्छन्, देशमा महामारीले नागरिक भटाभट मरिरहेका थिए, भ्याक्सिन खरिद गर्न दुई कम्पनीले मात्रै प्रस्ताव गरेपछि स्वास्थ्य मन्त्रालयले टेन्डर रद्ध गरेको थियो । यसले ठूलो समस्या ल्यायो । सोही बेला स्वास्थ्य सहायक मन्त्रीका रूपमा निक्ष सम्शेर राणा आए ।

उक्त बेला संसारमा जेईको भ्याक्सिन उत्पादन गर्ने दुईवटा मात्रै कम्पिन थिए । भ्याक्सिन पाउँन अहिलेको जस्तो सहज थिएन । टेन्डर रद्ध भएपछि विश्व बैंकको १३ करोड रुपैयाँ फ्रिज भयो । स्वास्थ्य सहायक मन्त्री निक्षलाई अधिकारीहरुले कानुनका कारणले खरिद रद्ध गर्नुपरेको भनेर स्पष्ट रुपमा बुझाए । मन्त्रीले राजालाई सोहीअनुसार बुझाएर छुटाएका थिए । त्यस बेला इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत खोप शाखामा महेन्द्र बहादुर बिष्ट थिए ।

निक्षको बुढीले तिमी मन्त्री हुने, मान्छे मरिरहेका छन् भनेपछि उनले आफ्नो खल्तीको पैसा हालेर जेइ भ्याक्सिन खरिद गरेका थिए । १५ लाख रुपैयाँको भ्याक्सिन किनेर बाढेका थिए । तर, अहिलेका अधिकारीहरु नागरिकप्रति एकरती उत्तरदायी छैनन् ।

निक्षले त्यति मात्रै गरेनन्, स्वास्थ्य मन्त्रालय वरिपरि पुरै फोहोर थियो । मन्त्री निक्षले सचिवलाई बोलाएर एक हप्तासम्म सफा गर्न भने तर, सचिवले टेरेनन् । यस विषयमा थप प्रष्ट पार्दै स्वास्थ्य मन्त्रालयका तत्कालीन् अधिकारी डा. बाबुराम मरासिनी भन्छन्, ‘स्वास्थ्य मन्त्रालयमा पूरै झाडी थियो, भित्ताभरी झार पलाएको थियो । निक्षले दश दिन कुरे सचिवले नटेरेपछि कसैलाई नभनी शनिबार आफैं आएर सफा गरे।’, राणाहरु हेर्दा डरलाग्दा देखिए पनि उनीहरुको काम गर्नेशैली विलकूल फरक थियो । तत्कालीन् मन्त्री निक्ष जनताप्रति उत्तरदायी देखिन्थे तर अहिलेका मन्त्री त्यस्ता छैनन्। अहिले स्वास्थ्य मन्त्रालय पुन : निक्ष आउनुभन्दा अगाडि जस्तो भएको मरासिनी बताउँछन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ