ग्लोवल फण्डको ‘सिसिएम’मा आवद्ध पदाधिकारीले सेभ द चिल्ड्रेनबाट करोडौंका कार्यक्रम लिने गरेको खुलासा

काठमाडौँ । नेपाल सरकारलाई अनुदानमार्फत आएको ग्लोवल फण्डको अर्बौ रुपैयाँ रकम सेभ द चिल्ड्रेनको पोल्टामा पुऱ्याउने भूमिका खेलेका व्यक्तिले प्रोजेक्ट हत्याएको पाइएको छ ।
सेभ द चिल्ड्रेनले आफूखुसी प्रयोग गर्दै आएको उक्त रकम नेपाल सरकारमार्फत नै खर्च गर्ने व्यवस्था गर्न भूमिका खेल्नु पर्ने कन्ट्री कोर्डिनेटिङ मेकानिजम (सिसिएम ) कै पदाधिकारीले सेभबाट करोडौंको प्रोजेक्ट हत्याएको पाइएको हो ।
स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) हुने गरी ग्लोवल फण्डले दिने पैसा हेर्नका लागि गठन भएको सिसिएममा संलग्न व्यक्तिहरु सेभ द चिल्ड्रेनबाट प्रोजेक्ट लिएर काम गर्ने कुरा गलत र कानुनविपरीत रहेको अधिवक्ता केदार कार्कीको भनाई छ ।
‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ यसरी जोडियो
ग्लोवल फन्डले नेपाललाई दिने अनुदानको पैसा उपयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको सिसिएमको अध्यक्ष जुन क्षेत्रबाट बनाए पनि हुन्छ । कहिले स्वास्थ्य मन्त्री त कहिले स्वास्थ्य सचिवले सिसिएमको अध्यक्षको हैसियतमा काम गर्ने गरेका छन् । यादव कोइराला स्वास्थ्य सचिव हुँदा मन्त्रालयको प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई सिसिएमको अध्यक्ष बनाएका थिए । लक्ष्मण अर्याल स्वास्थ्य सचिवमा सरूवा भएर आएपछि आफैं सिसिएमको अध्यक्ष बनेका थिए । जिम्मेवार सरकारी अधिकारी नै सिसिएमको अध्यक्ष बन्ने परिपाटी रहेपनि नेपाल सरकारमार्फत नै ग्लोवल फण्डको पैसा खर्च गर्न सक्ने गरी भूमिका खेल्न र त्यो किसिमको मेकानिजम बनाउन सकेको देखिँदैन ।
अर्को गम्भीर कुरा सिसिएमको उपाध्यक्ष नागरिक समाजबाट बनाउँदै आएको छ । ग्लोवल फण्डको पैसा कसलाई प्रयोग गर्न दिने भनेर सिसिएमको उपाध्यक्षको पनि उत्तिकै भूमिका रहन्छ । अहिले सिसिएमको उपाध्यक्ष अच्युत सिटौला छन् । सेभ द चिल्ड्रेनलाई ग्लोवल फण्डको पैसा चलाउन दिने भूमिका खेल्ने संयन्त्र सिसिएमका उपाध्यक्ष सिटौलाले आफ्नो संस्थामार्फत स्वार्थ बाझिनेगरी सेभबाट करोडौंको प्रोजेक्ट हत्याएको पाइएको छ । उनको संस्था त्रिशुली प्लसले करोडौंको प्रोजेक्ट लिइएको पाइएको हो । यो विषयलाई गम्भीर रुपमा लिनुपर्ने अधिवक्ता कार्कीको भनाई छ ।
सिटौलाको माइग्रेन्टमा कुनै विज्ञता छैन तर, सिसिएमको उपाध्यक्ष भएकै नाताले प्रभाव र दवावमा पारेर उनले सेभ द चिल्ड्रेनबाट माईग्रेन्टको कार्यक्रम लिएको तथ्य फेला परेको हो । त्रिशुली प्लस नामको संस्था चलाउने सिसिएमका उपाध्यक्ष सिटौलाले केही समय अघि मात्र बिनास्वीकृति ५० लाखको कार्यक्रम पाएका छन् । ‘कार्यक्रम गर्दा सेभ द चिल्ड्रेनसँग स्वीकृती लिएर मात्रै काम गर्नुपर्छ तर, सिसिएमका उपाध्यक्ष सिटौलाले स्वीकृती बिना काम गर्दा पनि सेभ द चिल्ड्रेनले चासो दिएको छैन ।’, एक पूर्व सदस्यले स्वास्थ्य लाइभसँग भने, ‘सिटौलाको संस्था वैधानिक होला त्यसमा कुनै प्रश्न छैन तर, उनले गर्ने कामको पूर्व स्वीकृती अनिवार्य चाहिन्छ त्यो छैन ।’
सिसिएमको उपाध्यक्षको हैसियतमा ग्लोवल फण्डको पैसा दिलाउन भूमिका खेलेकाले उनको संस्थाले गैरकानुनी रुपमा काम गर्दासमेत सेभ द चिल्ड्रेनले कुनै चासो नदेखाएको ती पूर्व सदस्यको आरोप छ । यस पटक पनि सिसिएमका उपाध्यक्ष सिटौलाको संस्थाले पूर्व स्वीकृती बिना नै काम अगाडि बडाएको छ । ‘यस पटक त्रिशुली प्लसले एयरपोर्टमा विदेश जानेहरुका लागि हेल्थ डेक्स राख्ने भनेको थियो तर, अहिलेसम्म प्रक्रिया अगाडि बढेको छैन । पम्प्लेट छापेर बाड्ने भनिएको छ तर, अहिले सम्म बजारमा पम्प्लेट देखिएको छैन ।’ ती अधिकारीले भने सेभ द चिल्ड्रेन उच्च स्रोतकाअनुसार सिसिएममा गएपछि उनले एचआइभी र टिभीको कार्यक्रम पनि आफ्नै हातमा लिएका छन् । त्यो प्रोजेक्टको नाममा करिब ६ करोड रुपैयाँ चलाएका छन् । नियमत: सिसिएमको उपाध्यक्षले एसआरको काम गर्न पाइदैन । तर उनले प्रभाव र पहुँचका आधारमा काम गरिरहेको सेभ द चिल्ड्रेनका अधिकारीहरु बताउँछन् ।
ग्लोवल फण्डमार्फत बनेको सिसिएमको उपाध्यक्ष भएर उनले तीनवटा कार्यक्रम लिएका छन् । उनले कार्यक्रम गरेकोबारे ग्लोवल फण्डमासमेत जानकारी पुगिसकेको छ । ग्लोवल फण्डले यो विषयमा चासो नदिनुले उसकोसमेत संलग्नता भएको अधिकारीहरुको आरोप छ ।
सरकारलाई प्रिन्सिपल रिसिपेन्ट (पिआर) बाट सन २०१४ मा हटाएपछि सेभ द चिन्ड्रेन र ग्लोवल फण्डसँग मिलेर सिसिएममा बसेका पदाधिकारीले नै ग्लोवल फण्डको रकम कब्जा गरिरहेका छन् । सिटौलालाई एचआइभीको कार्यक्रम दिएकोप्रति खासै बिरोध भएको छैन तर, टिभी र माइग्रेनको कार्यक्रम कसरी पायो भन्ने प्रश्नमा सेभ द चिल्ड्रेनलेसमेत उत्तर दिन सकेको छैन ।
सिटौला भने आफू पनि एचआइभी संक्रमित भएकाले कार्यक्रम चलाएको बताए । कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भन्ने करै आउँदैन । ‘एचआइभी संक्रमितलाई औषधि नै नखाउ भन्नु पऱ्यो होइन भने काम गर्न पाउनुपर्छ ।’, सिसिएमका उपाध्यक्ष सिटौलाले भने । आफू त्रिशुली प्लसमा भएपनि निस्क्रिय अवस्थामा रहेको उनको तर्क छ । एचआइभी संक्रमितको हकहितमा काम गर्न आएको पैसा भएकाले सेभ द चिल्ड्रेनलाई प्रभाव पारेर नलिएको सिटौलाको दावी छ । उनले माइग्रेन्ट वर्करकोसमेत प्रोजेक्ट हात पारेका छन् त्यो विषयमा भने प्रस्ट खुलाएनन् ।
त्यस्तै नागार्जुन डेभलपमेन्ट कमिटीका प्रमुख जगदीश भट्ट पनि सिसिएमका सदस्य छन् । उनले पनि ग्लोवल फण्डले दिएकोमध्येको ठूलो रकम सेभ द चिल्ड्रेनबाट हत्याएका छन् । एसआरहरु सिसिएममा नजाने भन्ने थियो । भट्टले पनि सिटौलाले जस्तै त्यसविपरीत सेभ द चिल्ड्रेनबाट करोडौंको प्रोजेक्ट हत्याएको खुलासा भएको हो । पैसा सबै सबैलाई चाहिने भएपनि यो सिटौला, भट्टलगायतको एक प्रकारको लुट भएको सरकारी अधिकारीहरू बताउँछन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस