स्वास्थ्यमा हाबी भएका आइएनजिओ ‘माफिया’
काठमाडौं । सरकार कमजोर हुँदा एनजिओ/ आइएनजिओको रजाईं चल्ने गर्छ । नेपालको स्वास्थ्य क्षेत्रको अवस्था हेर्दा सरकार कमजोर भएको भान हुन्छ । एनजिओ/आइएनजिओ हाबी हुन थालेपछि सरकारी संयन्त्र र कर्मचारी भुत्ते हुन्छ र त्यसको फाइदा आइएनजिओकर्मी तथा माफियाहरूले लिन गर्छन् । देश विस्तारै असफल हुँदै जान्छ ।
नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था हेर्दा अझ त्यो कुराको ‘पिक्चर क्लियर’ हुन्छ । स्वास्थ्य क्षेत्र सुधारका नाममा मन्त्रालयको भौतिक सम्पत्ति र कानुन तथा नीति निर्माण जस्तो संवेदनशील कुरामा पनि आइएनजिओको दबदबा देखिएको छ ।
स्वास्थ्य मत्रालयको भौतिक पूर्वाधारदेखि नीति निर्माणसमेतमा पहुँच राख्न सक्ने हैसियत भएको आइएनजिओको नाम नेपाल हेल्थ सेक्टर सपोर्ट कार्यक्रम (एनएचएसएसपी) हो ।
कृष्णप्रसाद शर्मा, प्रमुख एनएचएसएसपी
मुख्य व्यक्ति हुन् कृष्णप्रसाद शर्मा (गौतम) र उनका मुख्य साझेदार डा. सुशील बराल र सुरेश तिवारी हुन् । हर्ट इन्टरनेसनलका प्रबन्ध निर्देशक (एमडी) डा. बराल र बेलायती आइएनजिओ अक्सफोर्ड पोलिसी म्यानेजमेण्ट (ओपीएम) नेपालका कन्ट्री डाइरेक्टर डा. तिवारीसँग मिलेर शर्माले एनएचएसएसपी हाँकेका छन् । एनएचएसएसपीले बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआईडी/युकेएड ) को आर्थिक सहयोग हेर्दै र प्रयोग गर्दै आएको छ ।
शर्मा, बराल र तिवारीमाथि स्वास्थ्य मन्त्रालयमा एउटा बिम्ब प्रयोग गर्न थालिएको छ । हर्टका बराल अरूण नदी हुन्, ओपीएमका तिवारी तमोर हुन् भने शर्मा सुनकोशी नदी हुन् । यि तीनवटा मिलेर सप्तकोशी अर्थात एनएचएसएसपी बगेको छ।
तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य उपेन्द्र यादव र प्रमुख विशेषज्ञ डा. सुशिलनाथ प्याकुरेलले मन्त्रालय छाड्न एनएचएसएसपीलाई निर्देशन दिएका थिए । तर, स्वास्थ्य तथा जनसंख्या सचिव भएर लक्ष्मण अर्याल आएपछि एनएचएसएसपीले उल्टै संरक्षण पायो । उनीहरु झन बलिया आइएनजिओ माफिया भएर निस्केको स्वास्थ्यका अधिकारीहरु बताउँछन् ।
सचिव अर्यालले बराल, तिवारी र शर्माको एनएचएसएपीलाई मन्त्रालयमा हालिमुहाली गर्न दिएर संरक्षण गर्नुको कारण भने अर्यालका नजिकका नातेदार देबेन्द्र ज्ञवाली भएको स्वास्थ्य मन्त्रालयका अधिकारी सुनाउँछन् । ज्ञवाली अहिले एनएचएसएसपीमै काम गर्न थालेका छन् । अर्याललाई खुसी पार्न ज्ञवालीलाई जागिर दिएपछि एनएचएसएसपीले मन्त्रालयमा रजाईं गर्ने छुट पाएको ती अधिकारीहरुको दाबी छ । पछि ज्ञवालीले सचिव अर्याललाई प्रयोग गरेर बरालको नाम संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट दिइने पदकका लागि सिफारिस गराएरै छाडेको एनएचएसएसपीमा कार्यरत एक अधिकारीले स्वास्थ्य लाइभलाई बताए ।
यस अघिका सचिवले मन्त्रालयमा यसरी नै बसेका जिआइजेट, आईपास, पिएसआइलाई निकालेका थिए । तर, अर्याल भने आइएनजिओको संरक्षक बनेर सरकारी अधिकारीहरूमाथि अभद्र व्यवहार गर्न थाले । त्यसको फाइदा एनएचएसएसपीले उठायो । मन्त्रालयका अधिकारीहरूकाअनुसार सचिव अर्यालको आड पाएपछि मनोबल बढेको उक्त आइएनजिओले स्वास्थ्य मन्त्रालयको कोठा, ट्वाईलेटदेखि नियम, कानुन मात्र कब्जा गरेन बिजुली र पानीको पैसासमेत सरकारलाई नै तिराउन थाल्यो । आफ्ना कर्मचारीप्रति निकै कठोर बन्ने सचिव अर्याल एनजीओ/आइएनजिओेका अगाडि शिर झुकाएर हिडे । अनि एनएचएसएसपी साँढे भएर निस्कियो ।
आइएनजिओ संरक्षक सचिव लक्ष्मण अर्याल
एनएचएसएसपीले बेलायत सरकारले दिएको रकमको खर्च कसरी भइरहेको छ भनेर मनिटरिङको कामसमेत गर्ने गरेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार यो सहयोग वार्षिक ५ अर्ब रुपैयाँ भन्दाबढी हुन्छ । एनएचएसएसपीले बाहिर बसेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक सहयोग गर्नु पर्ने हो । एनएचएसएसपीका एक उच्च अधिकारीकाअनुसार स्वास्थ्य मन्त्रालयलाई आवश्यक परेको खण्डमा बजेटिङ, विशेष गरी तथ्यांकहरु (एचएमआइएस, एलएमआइएस जस्ता) मन्त्रालयको चाहनाअनुसार सहयोग गर्ने हो । तर, उनिहरुको टिओआरअनुसार काम भएको छैन ।
स्वास्थ्यमा एनएचएसएसपीको हस्तक्षेप र माफियागिरी नै चल्ने गरेको मन्त्रालयका अधिकारीहरुको आरोप छ । तिवारीले डाटा र हेल्थ फाइनान्सिङमा पिएचडी गरेका छन् । त्यस्तै बरालले हेल्थ इन्फर्मेसनमा पिएचडी गरेका छन् । सिस्टममा एक सय जना कर्मचारीले गर्ने यिनीहरु एक्लैले गर्छन् । नमिलेको कुरा भनेको उनिहरुले आफ्ना कुरा लाद्ने काम गर्नु गलत हो । यसले गर्दा पटकपटक मन्त्रालय विवादमा पर्दै आएको छ । उनीहरुको काम स्वास्थ्य मन्त्रालयले जे/जे भन्छ मान्ने मात्रै काम हो । तर, स्वास्थ्यका कर्मचारी नै गतिलो नभएका कारण तिवारी र बरालको हस्तक्षेप स्वास्थ्यका हरेक क्षेत्रमा छ ।
सुरेश तिवारी
डाटामा काम गर्ने तिवारीलाई स्वास्थ्य विमा जस्तो संवेदनशील क्षेत्रमा लैजानु राज्यका लागि ठुलो घात हो । आइएनजिओमा आवद्ध भएर देशको डाटामा खेल्ने व्यक्तिलाई हरेक नागरिकको गोप्य सूचना लिने ठाउँमा लैजानु शंकाको विषय भएको जानकारहरु बताउँछन् । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गरी डा. तिवारीलाई बोर्डको सदस्यमा नियुक्त गरेका हुन् ।
सरकारको मौजुदा कानुन भन्दाबाहिर गएर कुनैपनि एनजीओ/आइएन जिओकर्मीहरुले काम गर्न सक्दैनन् तर, नेपालमा त्यसको ठिक उल्टो भएको मन्त्रालयका अधिकारीहरूको आरोप छ ।
डा. सुशील बराल
यता एनएचएससपीका अर्का हर्ताकर्ता बरालले स्वास्थ्यका पोलिसीमा खेल्दै आएका छन् । उनी चार देशको पोलिसी मेम्बर छन् । डा. सेनेन्द्रराज उप्रेतीको पालाबाट बराल नेपालको स्वास्थ्य पोलिसीभित्र प्रवेश गरेका हुन् । बराल कै डिजाइनमा सरकारी अधिकारीहरूलाई बाइपास गरी सुरक्षित मातृत्व सम्बन्धी ऐन तथा नियमावली निमार्णमा सबै काम आइएनजिओकर्मीले गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीकाअनुसार सुरक्षित मातृत्वसम्बन्धी ऐन, नियमावली आईपास नेपालले तयार पारेको हो । सरकारबाट आईपासले ड्राफ्ट गरेको कानुनलाई सदर गर्ने काम भएको ती अधिकारीले सुनाए । रोग नियन्त्रण केन्द्र सम्बन्धी ऐनका साथै प्रत्यायन प्राधिकरणसम्बन्धी ऐन पनि आइएनजिओको नेतृत्वमा तयार पारेको हो । स्वास्थ्यका महत्त्वपूर्ण र संवेदनशील कानुन र नीति निर्माणमै हस्तक्षेप गरेर आफ्नो स्वार्थ घुसाउने मुख्य पात्र डा. बराल र डा. सुरेश तिवारी रहेको रहस्य मन्त्रालयका अधिकारीहरु खुलाउछन् ।
यता एनएचएसएसपीमा आवद्ध डा. बराल भने सरकारी प्रणालीमा परिवर्तन आवश्यक रहेको बताउँछन् । सरकारमा क्षमता रहेकाले सरकार कमजोर छ भन्न नमिल्ने उनको तर्क छ । एनएचएसएसपीमा आवद्ध भएर मात्रै हैन विगतमा सरकारी कर्मचारी भएर पनि काम गरेको बताउँदै बरालले ग्रामीण स्वास्थ्यकर्मी भएर काम गरेको हुनाले स्वास्थ्य क्षेत्रमा राम्रा क्षमतावान कर्मचारीहरु रहेको दाबी गरे । ‘उहाँहरुसँग भएको क्षमतालाई सही सदुपयोग गरेर सही नतिजा निकाल्नको लागि निश्चित प्रणालीले काम गर्नुपर्छ । व्यक्तिगत सबै जानकार छौं तर, प्रणाली सुधार गरेर सिस्टमले चलाउने व्यवस्था गरेको खण्डमा सरकारी कमजोरी देखिने छैन ।’, उनले भने
सबैभन्दा पहिला नेतृत्वको कुरा आउँने भन्दै बरालले अब पाँच वर्षमा मन्त्रालयका विभिन्न निकायको नेतृत्व कस्तो हुने भन्नेमा भर पर्ने तर्क गरे। उनले अघि थपे, ‘अबको पाँच वर्षमा नीति निमार्णको खाका कोर्ने कस्तो नेतृत्व चाहिन्छ भनेर खाका बनाएर अगाडी बढ्नु पर्छ । तर, एकै पटक चाहिएको बेलामा खोज्दा कोही भेटिदैनन् । त्यसैले यस्तो अवस्थामा हामीले सहयोग गरेका हौँ ।’,
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सार्वजनिक सरोकार
तपाईको प्रतिक्रिया दिनुहोस