कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रण गर्न खोप सुरु, पाँच वर्षसम्म काम गर्ने अनुमान

काठमाडौं । कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा लिन सरकारले आइतबारदेखि खोप अभियान सुरु गरेको छ । गत असोज १८ गतेदेखि फैलिएको हैजा नियन्त्रणबाहिर भएपछि सरकारले विश्व स्वास्थ्य संगठनको सहयोगमा हैजाविरुद्धको खोप मगाएको थियो ।
उक्त खोप हजा प्रभावित क्षेत्र कृष्णनगर, महाराजगञ्ज, शिवराज, बिजयनगर र यसोधारामा लगाउन थालेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलकाअनुसार हाल हैजा नियन्त्रणतर्फ गएको छ । हालसम्म १३ सय ७१ जना प्रभावित भएका छन भने, उपचाररत कोही पनि छैनन । नयाँ बिरामीहरु पनि नदेखिएको प्रवक्ता पौडेलले बताए ।
सरकारले कृष्णनगरमा ६० हजार ७ सय ४३ जना, महाराजगञ्जमा ५३ हजार १ सय ५६ जना, शिवराजमा ६४ हजार ७ सय ७८ जना, बिजयनगरमा ३५ हजार ९ सय ३ जना र यसोधारामा ३७ हजार ७ सय ८३ जना गरी २ लाख ५२ हजार ३ सय ६३ जनालाई हैजाविरुद्ध खोप लगाउने छ ।
स्वास्थ्य मन्त्रालयकाअनुसार हैजाविरुद्ध खुवाइने खोप सुरक्षित र प्रभावकारी रहेको छ । ‘ओरल कलेरा भ्याक्सिन’ खाएको ७ दिनपछि यो खोपले कम्तिमा पाँच वर्ष सम्म काम गर्ने अनुमान छ । डा. पौडेल भन्छन्, ‘हैजाबाट बचाउन साथै समुदायमा रोग सर्न नदिन खोप सेवन अनिवार्य छ । खोप मंसिर महिनामा दुई पटक खुवाइने छ ।’,
हैजाविरुद्धको खोप ५ देखि १५ गते सम्म पहिलो मात्रा र दोस्रो मात्रा १४ दिनपछि खुवाइने छ । प्रवक्ता पौडेलकाअनुसार तोकिएका पालिकाबाट १ वर्षमाथिका सबै उमेर समूहका व्यक्तिमा दिइने छ ।
यो खोप कसले खान हुन्छ ?
एक वर्षमाथिका सबै उमेर समूहका व्यक्तिहरु, कुपोषण भएका व्यक्तिहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु (एचआएभी लागेका व्यक्ति), गर्भवती साथै स्तनपान गराइरहेका महिलाहरु, कोभिड–१९ लागेर निको भएकाहरु
खान नहुने समूह
यो खोप एक वर्ष मुनिका बालबालिका, पखाला लागेका र ज्वरो आएका व्यक्तिले खान मिल्दैन । तर, बिरामी निको भएपछि खोप खान मिल्छ । यदि पहिलो मात्रा खोप खाँदा कुनै प्रतिक्रिया देखिएमा दोस्रो मात्रा खोप खानु हुँदैन ।
खोप खाएपछि देखिने असर
खोप खाएपछि केही सामान्य असरहरु देखिन सक्छ । कसै कसैलाई हल्का ज्वरो आउँने, पेट दुख्ने, वाकवाकी वा पखाला लाग्ने, चिलाउने, स-साना बिमिरा,खटिरा आउने जस्ता सामान्य असरहरु देखिन सक्छ । जुन बिस्तारै ठिक हुँदै जान्छ ।
ठिक हुन दुवै मात्रा खानै पर्छ
हैजाविरुद्धको खोपले ठिक हुन दुवै मात्रा लिनै पर्छ । खोप खाएपछि पनि सरसफाइमा ध्यान दिनु पर्छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, विविध, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस