स्वास्थ्यमन्त्री खतिवडा: प्रतिपक्षमा हुँदा विरोध, सत्तामा आउँदा बिजोग


समाचार टिप्पणी

काठमाडौं । प्रतिपक्षमा हुँदा सरकारविरुद्ध खरो विरोधीका रुपमा प्रस्तुत हुने विरोध खतिवडा सत्तामा उक्लिएसँगै बिजोग अवस्थामा आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाका पछिल्ला काम कारबाही र गतिविधिले यो कुराको पुष्टि गर्छ । स्वास्थ्य मन्त्रालयले गरेका स्वास्थ्यकर्मीहरुको सरुवा एकपछि अर्को गर्दै विवादमा पर्न थालेका छन् ।

कोभिड-१९ महामारीको तेस्रो भेरिएन्ट सुरू हुने जोखिम देखापरिरहेको अवस्थामा कोरोना कालमा अब्बल देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा. अनुप बाँस्तोलालाई सार्क क्षयरोग केन्द्रतिर धकेलेर मन्त्री खतिवडाले डा. मनिषा रावललाई ल्याएका छन् । ‘ओमिक्रोन’ भेरिएन्टको रोकथाम तथा नियन्त्रणमा जुट्ने बेलामा उनले देशको एक मात्रै प्रमुख सरुवा रोग विज्ञलाई क्षेत्राधिकारबाहिर सरुवा गरिदिए ।

डा. बाँस्तोला नेपालमा एक मात्रै ट्रपिकल मेडिसिन विज्ञ हुन् । उनको दरबन्दी टेकु अस्पताल भन्दाबाहिर छैन । २७ हजार स्वास्थ्यकर्मीहरुको दरबन्दीमध्ये ट्रपिकल मेडिसिनको एक दरबन्दीमा उनी मात्रै छन् । उनै विज्ञलाई सनकको भरमा स्वास्थ्यमन्त्री खतिवडाले दनक दिएका छन् ।

पाँच महिनामा के गरे डा. बाँस्तोलाले

➡️३ सय शैय्याको सरुवारोग अस्पताल बनाउँन तीब्रता दिए । भूमाफियाबाट जोगाएर टेकु परिसरभित्र आफ्नै जग्गा खोजेर अत्याधुनिक र सुविधासम्पन्न बनाउने निर्णय गराए ।

➡️अस्पतालको स्टोरमा सुधार गरे ।

➡️ टेकु अस्पतालमा बिरामीलाई लक्षित गरी लिफ्टको संचालन गरे ।

➡️ सरुवारोग अस्पताल भएपनि फोहोर र ढलको व्यवस्थापन थिएन । उनले अस्पतालको सरसफाइ गरे । फोहोर र ढलको व्यवस्थापन गरे

➡️स्थापना कालदेखि थुप्रिएका कुरुप उपकरणहरु लिलामी भएको थिएन । उनले त्यसलाई हटाउन पहिलोपटक लिलामीका लागि प्रक्रिया अगाडि बढाएका थिए ।

➡️ओपिडी सेवा विस्तार गरी विशेषज्ञ सेवामा परिणत गरे ।

➡️टेकु अस्पताललाई डिजिटलाइज गरे ।

➡️ टिचिङ लर्निङ्को काम सुरु गरे जसले थुप्रै कर्मचारीलाई महामारीमा तालिम दिलाए ।

➡️अस्पताल फार्मेसीको विस्तार गरे ।

➡️लुकेर बसेको फार्मेसी सबैको नजर पर्ने ठाउँमा सारे ।

स्वास्थ्यमन्त्री खतिवडाले डा. बाँस्तोलाको ‘केस’मा मात्र होइन पछिल्लो समयमा गरेका अधिकांश सरुवा शंकाका घेरामा तानिएका छन् । स्वास्थ्यमा भएका सरुवाहरूमा आर्थिक विवादमा मुछिएका पात्रहरूलाई आर्थिक कारोबार हुने मुख्य ठाउँमा लगेर राखिएको छ ।

संघीय सरकार मातहतका अधिकांश केन्द्रीय अस्पताल निर्देशकलाई धम्की र स्पष्टीकरण लिएर आर्थिक चलखेलका आधारमा अर्को व्यक्ति पठाउन लागिएको चर्चा सुरु भएको छ । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले सार्वजनिक रुपमै मन्त्री खतिवडा पैसा कमाउने धन्दामा नाङ्गै भएर लागेको आरोप लगाएका छन् ।

निजी अस्पताल नवीकरणमा मन्त्री खतिवडा आफैं सक्रिय भएर लागिपरेको कुरा खुल्न आएको छ । यसअघि निजी अस्पताल नवीकरण महाशाखा प्रमुखबाटै हुँदै आएकोमा मन्त्री खतिवडाले आफैं डकुमेन्ट तानेर बार्गेनिङ गर्न थालेको निजी अस्पतालका सञ्चालकहरु सुनाउँछन् ।

मन्त्री खतिवडाले चासो राखेको अर्को कुरा भनेको मोबाइल पिसिआर भ्यान हो । भ्यानमा पिसिआर मेसिन राखेर बाहिर गएर टेष्ट गर्न सकिने मोबाइल पिसिआर निजी क्षेत्रका व्यापारीलाई दिएर कमिसनको चक्करमा मन्त्री खतिवडा लागेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । यो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला वा अन्य कुनै सरकारी निकायबाट गर्न सकिनेमा निजी क्षेत्रका स्वास्थ्य माफियासँग मिलेर उनले चलखेल गर्न थालेको ती अधिकारीहरूको भनाइ छ ।

मन्त्री खतिवडाको सचिवालयमा रहेका व्यक्तिहरु पैसा आउने ठाउँ पत्ता लगाउन लागिपरेको आरोप लाग्न थालेको छ । विवादित पात्रलाई महत्त्वपूर्ण जिम्मेवारी दिन थाल्नुले त्यो आरोपमा दम देखिन्छ । स्वास्थ्य मन्त्रालय कब्जा गरेर बसेर एनजिओ, आइएनजिओलाई हटाउन नसकेका मन्त्री खतिवडाले आफ्नै सचिवालयका सदस्यलाई अशक्त बस्ने आगन्तुक कक्ष कब्जा गर्न लगाएका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पदाधिकारी हटाउन सिफारिस गरेर अहिले जोगाउन उनी आफैं लागेको चर्चा छ । सिनेट बोलाउने विषय अड्काएर वीपीका पदाधिकारीलाई टिकाइरहने रणनीति अख्तियार गरेको भन्ने आरोप लाग्दा पनि मन्त्री खतिवडाले मुख खोलेका छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘केस’ पनि उनी अनौठो ढंगले व्याक भएका छन् । कर्णाली प्रतिष्ठानको कार्यक्रममा जान आज मात्रै मन्त्री खतिवडा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

देश महामारीको चपेटामा परेको अवस्थामा स्वास्थ्य जस्तो संवेदनशील मन्त्रालय सम्हालेका खतिवडा आर्थिक विवादमा तानिनुले स्वास्थ्य क्षेत्र बिजोग हुने अवस्थामा पुगेको छ । यी गतिविधि हेर्दा मन्त्री खतिवडा सत्तामा होइन प्रतिपक्षमै ठीक रहेछन् भन्ने टिप्पणी सुरू भएको छ ।

मन्त्री खतिवडा निकट व्यक्तिहरू उनी लामो समय सार्वजनिक लेखा समितिमा बसेर काम गरेकाले लेखा समितिमा गएर बयान दिन नपरोस् भन्नेमा सचेत रहेको दाबी गर्छन् । तर, मन्त्री खतिवडाका पछिल्ला गतिविधि हेर्दा उनको सार्वजनिक लेखा समितिमा गएर बयान दिने दिन धेरै टाढा देखिँदैन ।

प्रतिपक्षमा हुँदा विरोधको छवि बनाएका खतिवडाको नियति सत्तामा आउँदा बिजोग देखिएको छ । यी गतिविधि हेर्दा प्रथम दृष्टिमै स्वास्थ्यमन्त्री खतिवडाको अवस्था ‘आश लाग्दो केटा जेठाजु पर्‍यो’ भनेजस्तो भएको छ । यस्तै ढंगले स्वास्थ्य मन्त्रालय चलाउन थाल्ने हो भने महामारीमा उनको नेतृत्व राज्यलाई धेरै महँगो पर्ने देखिन्छ । तत्काल छवि सुधार्ने कि विकल्प खोज्ने मन्त्री खतिवडाको हकमा यो बहसको विषय बनेको छ ।

 

 

 

 

क्याटेगोरी : विचार, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ