त्रिशुली अस्पतालमा तीन वेडको एनआइसियू संचालनमा


काठमाडौं । संघिय अस्पतालले सरकारको निर्णय कार्यान्वयन गर्न नसकेको बेला त्रिशुली अस्पताल नुवाकोटले तीन वेडको एनआइसियू संचालनमा ल्याएको छ । गत जेठमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३३ करोड लगानीमा पेडियाट्रिक आइसियू तथा एनआइसियू थप गर्ने निर्णय गरेको थियो ।

मन्त्रालयको उक्त निर्णय अझै कार्यान्वयनमा आएको छैन । तर, त्रिशुली अस्पताल नुवाकोटले प्रदेश सरकार, स्थानीय सरकार र नागरिकहरुको सहयोगमा तीन वेडको एनआइसियू संचालनमा ल्याएको छ ।

जिल्लास्तरका अस्पतालमा एनआइसियू संचालनमा ल्याउने कुरा बिरलै हुन्छ । देशमा पेडियाट्रिक चिकित्सक कम छन् । त्यसमा पनि जिल्लास्तरका अस्पतालमा गएर काम गर्नेहरु हुँदैनन् ।

त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेकाअनुसार बुधबारदेखि तीन वेडको एनआइसियू औपचारिक रुपमा सुरु भएको छ । अस्पतालले ठिक एकवर्ष अगाडि आइसियू संचालनमा ल्याएको थियो ।

जन्मेको २८ दिनभित्रको शिशुलाई एनआइसियूमा राखिन्छ । एनआइसियू संचालनसँगै धादिङ, रसुवा र नुवाकोटका जनतालाई प्रत्यक्ष फाइदा पुगेको छ । डा. पाण्डेले कम वेड भएपनि यसबाट शिशु मृत्युदर रोक्न ठूलो भुमिका खेल्ने विश्वास लिएका छन् ।

अस्पतालको एनआइसियू पेडियाट्रिक चिकित्सक ऋषिकेश रेग्मीले नेतृत्व गरेका छन् । बुधबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानले विधिवत रुपमा एनआइसियूको उद्घाटन गरेका हुन् ।

सरकारले देशभर २ सय ७५ वेड पेडियाट्रिक आइसियु थप गर्न ३३ करोड भन्दा बढी रकम आवश्यक पर्ने बताएको थियो । पैसा दिएका अस्पतालले वेड तयार पारेका छैनन तर, मन्त्रालयले रकम नदिएको त्रिशुली अस्पतालले एनआइसियू वेड तयार पारेर संचालनमा ल्याउनु अन्य अस्पताललाई चुनौती भएको अधिकारीहरुले बताएका छन् ।

यता मेची, कोशी, राजबिराज, बिरगञ्ज, चितवन, भिम अस्पताल, बुटवल, नेपालगञ्ज, सुर्खेत, दाङ, डडेल्धुरा, सेती र महाकाली अस्पतालमा पेडियाट्रिक वार्ड छन् । तर, पिआइसियू, एनआइसियु वेड छैनन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवनका दुई मेडिकल कलेज, भरतपुर अस्पताल, र नेपालगञ्ज मेडिकल कलेजमा थोरै संख्यामा एनआइसियू वेड छन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ