औषधिमा कमिसन चक्कर
वीपीका चिकित्सक श्रेष्ठ भन्छन्, ‘अनावश्यक औषधि नलेखुन भनेर लिस्ट दिएको हो’,
काठमाडौं । औषधिको ‘बान्ड’ तोकेर सिफारिस गर्न निर्देशन दिने वीपीका चिकित्सक प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले चिकित्सकले अनावश्यक औषधि नलेखुन भनेर लिस्ट सार्वजनिक गरेको बताएका छन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत चिकित्सक श्रेष्ठले अर्थोका चिकित्सक आवद्ध रहेको एक गोप्य एसएमएस च्याटमा आठ प्रकारका औषधिको ‘बान्ड’ तोकेर चिकित्सकलाई सिफारिस अर्थात् प्रेसक्राइब गर्न निर्देशन दिएको कुरा स्वास्थ्य लाइभले ७ पुसमा सार्वजनिक गरेको थियो ।
अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ मा ब्रान्ड तोकेर औषधि सिफारिस गर्न निषेध गरेको छ । यस्तो पाइएमा सरकारले सम्बन्धित चिकित्सकमाथि कारबाही गर्ने बताइएको छ । चिकित्सकले औषधिको ‘बान्ड’ तोकेर बिरामीलाई सिफारीस गर्दा ठूलो कमिसनको खेल भएपछि सरकारले नियम नै बनाएर औषधिको ‘बान्ड’ तोकेर सिफारीस गर्न रोक लगाएको हो । तर वीपीका चिकित्सक श्रेष्ठले ब्रान्ड नै तोकेर औषधि सिफारिस गर्न निर्देशन दिएको तथ्य स्वास्थ्य लाइभले फेला पारेको हो ।
डा. बिक्रम प्रसाद श्रेष्ठले आफूले गल्ति स्वीकार गर्नुभन्दा त्यसलाई ढाकछोप गर्न लागेका छन् । उनले समाचारको खण्डन गर्दै विभागमा थिति बसाउन र बिरामीलाई चाहिने भन्दा बढी औषधि सिफारिस नहोस भनेर नेपालमा स्थापित कम्पनीहरुका औषधिको लिस्ट दिएको बताएका छन् । यसलाई कमिसनको खेल भन्नु मेरो चरित्र हत्या हुर्नु हो उनले भनेका छन् ।
फार्मेसी निर्देशिकाले निषेध गरेको कुरामा खुलेआम औषधिको ब्रान्ड लेख्न निर्देशन दिने श्रेष्ठले कस्तो थिति बसाउन खोजेका हुन् भन्ने कुरा प्रस्ट खुलेको छैन ।
नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. कृष्ण अधिकारी कानुनले बन्देज लगाएको कुरा चिकित्सकले लेख्न नहुने बताउँछन् । ‘जनस्वास्थ्य सेवा ऐनले पनि ब्रान्ड तोकेर औषधि दिन नमिल्ने स्पष्ट उल्लेख गरेको छ’,उनले भने । उनकाअनुसार चिकित्सकले बिरामीलाई औषधि दिँदा जेनेरिक नाममा मात्रै प्रेसक्राइब गर्नुपर्छ । डाक्टर श्रेष्ठले स्वास्थ्य लाइभमा आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस