निजी मेडिकल कलेजलाई कारबाही नगरे केयूमा तालाबन्दी गर्ने चेतावनी

कारबाही गर्न ४८ घण्टे अल्टिमेटम


काठमाडौं । नेसनल मेडिकल स्टुडेन्ट एसोसिएसन सेन्ट्रल कमिटीले विद्यार्थी ठग्ने निजी मेडिकल कलेजलाई कारबाही नगरे  काठमाडौं विश्वविद्यालय (केयू)मा तालाबन्दी गर्ने चेतावनी दिएको छ । एसोसिएसनले आज केयूका उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै  उक्त चेतावनी दिएको हो ।

‘यम शैक्षिक शत्रको एमबीबीएस / बीडीएसमा काठमाडौ विश्वविद्यालयका सम्बन्ध प्राप्त निजी मेडिकल कलेजहरुक चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी लिन नमिल्ने शुल्क चिकित्सा शिक्षा आयोगको निमयावलीविपरीत विभिन्न अनावश्यक शीर्षकमा एकजना विद्यार्थीबाट मात्रै लाखौं रूपैयाँ माग गरेको र असुल्न खोजेको कर्तुत विद्यार्थी, अभिभावक र पत्रपत्रिकाहरूबाट जानकारीमा आइसकेको छ।’, एसोसिएसनले दिएको ज्ञापनपत्रमा भनिएको छ, ‘सोबारे सम्बन्धित कलेज र चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण भएबापत पनि कुनै ठोस कदम चलेको छैन ।’,

त्यस्तो अवैध गैरकानुनी र अत्याचारी लुट भइरहँदा पनि विश्वविद्यालय मौन रहँदा हामी आश्चर्यित भएका भन्दै एसोसिएसनले नियम मिचेर विद्यार्थीहरुलाई लूटन खोज्ने कलेजलाई विश्वविद्यालयले कारबाही गर्ने, चेतावनी दिने अधिकार र दायित्व दुवै बोकेको स्मरण गराएको छ  ।विश्वविद्यालयको यो कतै मौन समर्थन त होइन भन्ने ठूलो प्रश्न चिन्ह उठेको एसोसिएसनले ज्ञापनपत्रमार्फत भनेको छ ।

विद्यार्थीको हितमा नलागेमा विश्वविद्यालयको अस्तित्व र गरिमामा पनि आँच आउँने दाबी गर्दै एसोसिएसनले काठमाडौं विश्व विद्यालयलाई उक्त कलेजहरुलाई चेतावनीका साथसाथै कारबाही गर्नको लागि समेत अनुरोध  गरेको छ ।

विद्यार्थीसँग बढी शुल्क लिने निजी मेडिकल कलेजलाई ४८ घन्टाभित्र कारबाही सुरु गर्न अल्टिमेटम दिएको एसोसिएसनका अध्यक्ष डा. सुजन कडरियाले जानकारी दिए ।

४८ घण्टाभित्र बढी शुल्क लिने मेडिकल कलेजमाथि कारबाही  नभए काठमाडौं विश्वविद्यालयलाई पनि उक्त अपराधको सहयोगी ठहर गर्दै विश्वविद्यालयविरुद्ध पनि कडा संघर्षका कार्यक्रमका साथ अघि बढ्न बाध्य हुने उनको भनाइ छ ।त्यसको जिम्मेवार काठमाडौं विश्वविद्यालय स्वयं हुने डा. कडरियाको चेतावनी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ