चिकित्सक संघका पूर्व अध्यक्षद्वय कांग्रेस राजनीतिमा पराजित 


काठमाडौं । नेपाल चिकित्सक संघका पूर्व अध्यक्षद्वय डा. अन्जनी कुमार झा र डा. मुक्तिराम श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

मधेशी कोटाबाट कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार भएका डा. झा र जनजाती कोटाबाट कांग्रेस केन्द्रीय सदस्यको प्रतिस्पर्धामा उत्रिएका डा. श्रेष्ठलाई कांग्रेस महाधिवेशन प्रतिनिधिले पत्याएनन् ।

पूर्व स्वास्थ्यमन्त्रीहरुलाई कांग्रेसको राजनीति फापेपनि चिकित्सक संघका पूर्व अध्यक्षहरुलाई कांग्रेस राजनीति नफापेको हो ।

पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा कांग्रेस महामन्त्री, पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी कांग्रेस सहमहामन्त्री र निवर्तमान स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएका छन् । तर चिकित्सक संघको नेतृत्व गरेर कांग्रेस राजनीतिमा फड्को मार्न खोजेका चिकित्सकद्वय झा र श्रेष्ठ केन्द्रीय सदस्य हुनबाट रोकिएका हुन् ।

निवर्तमान स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ र चिकित्सक संघका पूर्व अध्यक्ष श्रेष्ठ दुबै  कांग्रेसको जनजाती तर्फको केन्द्रीय सदस्यमा उठेका थिए । राज्यमन्त्री श्रेष्ठले शानदार मतका साथ जित हासिल गर्दा पूर्व अध्यक्ष श्रेष्ठले पराजय भोग्नु परेको हो ।

स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेका व्यक्तिहरुलाई ढोका खुला गरेका कांग्रेस प्रतिनिधिहरूले चिकित्सक संघको नेतृत्व गर्नेका लागि भने कांग्रेस राजनीतिमा ढोका खुल्न नसक्ने म्यासेज दिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ