कानुनको दुरुपयोग गर्ने महेश्वर श्रेष्ठ नेपाल जनस्वास्थ्य संघ अध्यक्षको उमेदवार


काठमाडौं । जनस्वास्थ्यकर्मीहरुको छाता संगठन नेपाल जनस्वास्थ्य संघको नयाँ कार्यसमितिका लागि आगामी पुस २४ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा माओवादी र नेपाली कांग्रेस निकट जनस्वास्थ्यकर्मीबीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ ।

माओवादी निकट प्रगतिशील समूहका तर्फबाट अध्यक्षमा बसन्त अधिकारी र कांग्रेस निकट पेशागत समूहका तर्फबाट महेश्वर श्रेष्ठ अध्यक्षमा उठेका छन् । उनीहरु दुवैले प्यानल तयार पारिसकेका छन् ।

पेशागत समूहका उमेदवार महेश्वर श्रेष्ठ पटकपटक विवादमा आएका व्यक्ति हुन् । तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ हुँदा शक्तिको आडमा लुम्बिनी प्रदेश समायोजन भएका श्रेष्ठ संघमा आएका थिए । जुन कानुनको ठाडो दुरुपयोग हो ।

गत साउन २९ गते लुम्बिनी प्रदेशमा कार्यरत स्वास्थ्य शिक्षा समूहका श्रेष्ठलाई तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नचाहँदा नचाहँदै गृहमन्त्री बालकृष्ण खाँणको दबाबमा संघमा ल्याउनु परेको थियो ।

११ औं तहका श्रेष्ठ कांग्रेस निकट जनस्वास्थ्य संघका निर्वाचित केन्द्रीय महासचिव पनि हुन् । कानुनत अधिकृत भन्दामाथिका पदाधिकारीलाई ट्रेड युनियनको पदमा बस्ने अधिकार छैन । यति मात्रै हैन महेश्वर श्रेष्ठले आफू समायोजन भएको प्रदेशमा नगएर मालदार अड्डा खोज्ने क्रममा १२ कात्तिकमा पुन बागमती प्रदेशमा स्वास्थ्य निर्देशनालयको निर्देशकको जिम्मेवारी लिए ।

प्रदेशमा समायोजन भएको कर्मचारी संघमा तान्न लगाएर संघबाट पुन: अन्तर प्रदेशमा गएर कानुनविपरीत निर्देशकको जिम्मेवारी लिने सम्भवतः श्रेष्ठ पहिलो व्यक्ति हुन् ।

बसन्त अधिकारी पब्लिक हेल्थ पढेका व्यक्ति हुने भने श्रेष्ठ स्वास्थ्य शिक्षा समुहका हुन् । अधिकारी बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको पब्लिक हेल्थ युनिट प्रमुख हुन् । अधिकारी १० औं तहका कर्मचारी हुन् भने श्रेष्ठ एघारौं तहका कर्मचारी हुन् ।

समायोजन ऐन विपरीत उनी बागमती प्रदेश पुगेका हुन् । उनीको दरबन्दीअनुसारको पद त्यो हैन । श्रेष्ठले बाग्मती प्रदेश तालिम केन्द्रको प्रमुखमा पनि आफ्नो श्रीमती बनाएको आरोप लागेको छ । ११ तहको प्रमुख हुनुपर्नेमा श्रेष्ठले दश/एघारौं तहका पब्लिक हेल्थका कर्मचारी हुँदाहुँदै आठौं तहकी श्रीमतीलाई निमित्त प्रमुखको जिम्मेवारी दिएका छन् ।

यता अधिकारीमाथि भने प्रदेश आपूर्ति कार्यालय प्रमुख हुँदा विभिन्न स्वास्थ्य सामग्रीमा अनियमिताता गरेको आफ्ना मान्छेहरु चेपेर काम दिएको आरोप लाग्ने गरेको छ ।

जनस्वास्थ्य संघको निर्वाचनले १५ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने छ । मतदान ७ वटै प्रदेशका राजधानी र काठमाडौंमा गरिने व्यवस्था मिलाईएको छ । मतदानमा १ हजार ७ सय १८ जना मतदाता रहेको बताईएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ