लाज ढाक्न पूर्व उपकुलपति डा. संगीताको खण्डन


काठमाडौं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी विवादास्पद पूर्व उपकुलपति डा. संगीता भण्डारीले आफूले गरेको कर्तुत ढाकछोप गर्न  स्वास्थ्य लाइभले प्रकाशित गरेको समाचारको खण्डन गरेकी छन् ।

जग्गा भाडा लगाउनेदेखि स्वास्थ्य उपकरण खरिदमा करोडौं रुपैयाँ घोटलाको आरोप खेपेकी उनले घरमा पालेको कुकुरको बिल समेत प्रतिष्ठानलाई तिराएको बिल स्वास्थ्य लाइभले सार्वजनिक गरेको थियो ।

गत पुस ५ गते स्वास्थ्य लाइभले ‘डा. भण्डारीको कुकुर उपचार खर्चसमेत प्रतिष्ठानको जिम्मामा’ शीर्षकमा समाचार सार्वजनिक गरेको थियो ।  स्वास्थ्य लाइभले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त गरेको कागजातमा घरको कुकुरलाई उपचार गरेको ४ सयको बिल प्रतिष्ठानको नाममा काटिएको स्पष्ट देख्न सकिन्छ ।

पूर्व उपकुलपति डा. भण्डारीले उक्त बिलसहितको समाचार लेखेकोप्रति आफ्नो गभ्भीर ध्यानाकर्षण भएको बताएकी छन् । आफ्नो नाम जोडिएर छापिएको समाचार चरित्र हत्या गर्ने उद्देश्यले प्रकाशित भएको उनको बुझाई छ ।  ‘हुँदै नभएको कुरामा नियोजित कसैको उक्साहटमा लागेर आएको समाचारमा कुनै सत्यता छैन ।’, उनको खण्डनमा उल्लेख छ ।

तत्कालिन स्वास्थ्यमन्त्री दिपक बोहराको जोडबलमा नियुक्ति पाएकी उपकुलपति डा. भण्डारीको चार वर्षे कार्यकाल नै विवादास्पद र उपलव्धिबिहीन बनेको प्रतिष्ठानका कर्मचारीहरूको आरोप छ ।

कुकुरको उपचार समेत प्रतिष्ठानको ढुकुटीबाट गरेर राज्य कोषको चरम दुरुपयोग गरेकी भण्डारीको खण्डनलाई स्वास्थ्य लाइभसँग सुरक्षित रहेको प्रतिष्ठानको नाममा काटिएको कुकुरको बिलले आफैं जवाफ दिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ