एचआईभी बोर्डका प्रमुख कार्यकारीको तलब मात्र डेढ लाख !

एचआईभी बोर्डसँग दुईवटा गाडी रहेको पुष्टि


काठमाडौं । एचआईभी एड्स तथा यौनरोग नियन्त्रण बोर्डका उपाध्यक्ष/ कार्यकारी प्रमुखको मासिक तलब मात्र डेढ लाख तोकिएको पाइएको छ ।
स्वास्थ्य लाइभले फेला पारेको २००९ बोर्डको बजेटमा युएनडिपी र डिएफआईडीको स्रोतबाट खाने गरी प्रमुख कार्यकारीको मासिक तलब डेढ लाख तोकिएको छ । बोर्डको निर्देशकको तलब मासिक ९५ हजार रुपैयाँ उल्लेख गरिएको छ । अनुगमन तथा मूल्यांकन अधिकृत, नीति अधिकृत, कार्यक्रम संयोजक, प्रशासन अधिकृत र अनुगमन तथा मूल्यांकन सहायकको तलबभत्ता भने खुलाइएको छैन ।
त्यस्तै प्रशासन सहायकको ४० हजार, रिसेप्सनिष्ट/सेक्रेटरीको १७ हजार, ड्राइभरको १५ हजार, रनर र कार्यालय सहयोगीको १३ हजार ५ सय रुपैयाँ तोकिएको खुल्न आएको छ । बोर्डका कर्मचारीको तलबभत्तामा मात्र ३६ लाख ८९ हजार गएको पाइएको छ ।

एचआईभी/ एड्स तथा यौनरोग नियन्त्रण, रोकथाम, उपचार, हेरचाह, पुर्नस्थापनाका साथै यसबाट संक्रमित प्रभावित एवं जोखिममा रहेका समूहको अधिकारको संरक्षण गर्न तथा स्रोत परिचालन गर्नका लागि स्थापित उक्त बोर्ड तलबभत्तामै सीमित भएको देखिन्छ ।
युएनडिपी, डिएफआईडीको बजेटमार्फत सञ्चालित एमआईभी/ एड्स तथा यौनरोग नियन्त्रण बोर्ड स्वार्थ समूहको चंगुलमा परेर अहिले निस्क्रिय अवस्थामा रहेको छ ।
बोर्डको सम्पत्ति र अवस्थाकाबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नै बेखबर रहेको छ ।
बोर्डको मासिक कार्यालय भाडा ४० हजार, कार्यालय सुरक्षा खर्च मासिक १८ हजार, सञ्चार खर्च मासिक १० हजार रुपैयाँ भने नेपाल सरकारबाटै उपलब्ध गराउने गरेको पाइएको छ । स्टेसनरी र सवारी कर पनि सरकारकै जिम्मेवारीमा रहेको पाइन्छ ।
इन्धन खर्च दुईवटा सवारी साधनको मासिक १८ हजार ७ सय ५० रुपैयाँ उल्लेख छ । त्यो खर्चको स्रोत भने युएनडिपीलाई राखिएको छ । इन्धन खर्चबाटै बोर्डसँग दुईवटा गाडी थियो भन्ने प्रस्ट भएको छ । तर अहिले ती गाडी कहाँ छन् भन्ने कुरा स्वास्थ्य मन्त्रालयलाई नै थाहा छैन । स्वास्थ्य लाइभले खोजी गर्दा यो विषयमा स्वास्थ्यका जिम्मेवार अधिकारीले जवाफ दिन सकेका छैनन् । थप दुईवटा सवारी साधन मासिक ३० हजार भाडा बुझाउने गरी भाडामा लिएको पनि देखिन्छ ।
इन्टरनेट इमेल, मासिक १५ हजार, टेलिफोन मासिक १५ हजार, आईटी सहयोग मासिक २१ हजार, मर्मत सम्भार र इन्सुरेन्स मासिक १५ हजार र कार्यालय आपूर्तिका लागि मासिक ३७ हजार ५ सय रुपैयाँ खर्च गर्ने गरिएको स्वास्थ्य लाइभलाई प्राप्त कागजातबाट खुल्न आएको हो ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ