विवादित पूर्व स्वास्थ्य सचिव अर्याल रक्षामा जान दौडधुपमा


काठमाडौं । विवादित पूर्व स्वास्थ्य सचिव लक्ष्मण अर्याल रक्षा मन्त्रालयको सचिवमा जान लबिइङ गर्न थालेका छन् ।

रक्षा सचिव वेगेन्द्र शर्मा पौडेलले ५ वर्षे कार्यवधिका कारण आजबाट अवकाश पाएपछि उनको ठाउँमा जान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्याल दौडधुममा लागेको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

सचिव अर्यालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुँदा व्यापारी शंकर अग्रवालसँग मिलेर अस्पतालहरुमा लिक्विड अक्सिजन ट्यांक जडान गर्न लगाएको आरोप लाग्दै आएको छ । स्वास्थ्य सेवाको बाह्रौं तहमा रहेका डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्र श्रेष्ठको कार्य सम्पादन मूल्यांकन नै ‘किर्ते’ गरेर पठाएको विषय स्वास्थ्य लाइभले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

उनले विभूषणको सिफारिस गर्दा कसैलाई काखा र कसैलाई पाखा गरेको भन्दै चर्को आलोचना भएको थियो । ज्यान दिएर खोप वितरणमा फिल्डमा खटिएका स्वास्थ्यकर्मीलाई विभूषणका लागि सिफारिस नगरी स्वास्थ्य क्षेत्रका आईएनजिओ माफिया सुशील बराललगायतको नाम गृह मन्त्रालयमा पठाएका थिए ।

कोरोनाविरुद्धको खोप खरिद गर्दा तत्कालीन स्वास्थ्य सचिव अर्यालले सुरज वैद्य, विजय दुगडलगायतसँग  कमिसनमा चलखेल गरेपछि भारतबाट कोभिसिल्ड खोप ल्याउन सकेन ।

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा इकोनोमिक मिनिस्टरमा कार्यरत उनकी श्रीमती नीता पोखरेल अर्यालमार्फत भारतबाट खरिद हुने खोपलगायतका औषधि तथा स्वास्थ्य उपकरणमा चलखेल गर्ने गरेको आरोप लाग्दै आएको छ ।

अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएर गएपनि स्वास्थ्यको छायाँ सचिव कै रुपमा काम गर्ने गरेको चर्चा अहिले पनि चल्ने गरेको छ ।

पोखरेलले नयाँदिल्लीमा बसेर नेपालको हितमा काम गर्न नसकेको आरोप लागेपनि उनलाई फिर्ता बोलाउने आँट देउवा सरकारले गर्न सकेको छैन ।

दिल्लीमा इकोनोमिक मिनिस्टर रहेका कृष्णहरि पुष्कर ( हाल राजस्व सचिव )लाई कांग्रेसीको ट्यांग लगाएर फिर्ता बोलाई सचिव अर्यालकी श्रीमती नितालाई पठाइएको थियो । उनको काम दिल्लीमा बसेर आर्थिक कूटनीतिमा भन्दा करेसाबारी र परिवारका सदस्य हेर्नमै ठिक्क हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

‘आफूलाई एमाले देखाएर स्वास्थ्य सचिव भएका अर्याल माओवादीमा जान तयार रहेको भन्दै अर्थ सचिव हुन खोजेका थिए । अहिले फेरि कांग्रेस निकट हुँ भन्दै रक्षा सचिवमा जान लबिइङ गरिरहेको छन् । यो अच्चमै भइरहेको छ ।’, प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले स्वास्थ्य लाइभसँग भने । अर्यालले विभिन्न फोर्स प्रयोग गरेर रक्षा सचिव बन्ने दौडधुममा लागेको ती अधिकारीले स्वास्थ्य लाइभलाई सुनाए ।

पौडेलको ठाउँमा रिक्त एक सचिवमा लागि सहसचिव कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौला बढुवाको लाइनमा रहेका छन् । सचिव बढुवाको सिफारिस हुनु अगाडि नै अर्यालले रक्षा सचिवको बाजी मार्न खोजेको स्रोतको दाबी छ

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ