प्रधानमन्त्रीको मानसिक स्वास्थ्यमाथि प्रश्न गर्ने सिईओ रेग्मीलाई साँढेको संज्ञा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको मानसिक स्वास्थ्यमाथि प्रश्न उठाउने पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मीलाई पर्यटनमन्त्री प्रेम आलेले साँढेको संज्ञा दिएका छन् ।
पर्यटन बोर्ड स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आलेले छानबिन प्रक्रियामा रहेका सिईओ रेग्मीलाई जँड्या र साँढेको संज्ञा दिँदै यस्ता व्यक्तिबाट बोर्ड चल्न नसक्ने टिप्पणी गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको मानसिक स्वास्थ्य जाँच गर्नु पर्ने भनेर सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि विवादमा आएका रेग्मीमाथि लण्डनमा पनि ह्विस्की खाएर देशको बेइज्जत गर्ने काम गरेको मन्त्री आलेको आरोप छ ।
आफ्नो कामको मतलब नगरी जाँड खानमै सिईओ रेग्मी लाग्ने गरेको आरोप लगाउँदै मन्त्री आलेले जाँड खाने धन्दा चलाउने साँढेलाई सिईओ बनाएर संस्था चल्छ भन्दै उल्टै प्रश्न गरेका छन् । चारवटा गाडी टोयोटाको बेचेर प्रेम आलेको इमान खरिद गर्ने कुरा नसोचे पनि हुन्छ भन्दै उनले निलम्बित सिईओ रेग्मीमाथि आक्रोश पोखेका छन् ।
लण्डन जाँदा आफू र सचिव दूतावासमै बसेको सुनाउँदै मन्त्री आलेले भने, ‘बोर्डको ८० लाख खर्च भयो भनेर बिल पेस भएको छ रे । त्यहाँ खानसमेत मैले पकेटबाट व्यहोरेको छु । होटल र खानामा एक रूपैयाँ खर्च भएका छैन । असी लाख बील आयो भन्नुभएको छ, असी लाख कसरी आयो ?’,
यस विषयमा छानबिन गरेर कानुनी दायरमा ल्याउन आग्रह गर्दै उनले त्यो धन्दा अब चल्नेवाला नरहेको बताए । मन्त्री आलेले बोर्डको कार्यक्रममा बोल्दै निलम्बित सिईओ रेग्मीविरुद्ध विषबमन गरेका हुन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस