एचआईभी बोर्डको वार्षिक खर्च सवा २ करोड, कसको कति योगदान ?

कण्डमदेखि क्यान्डल लाइट दिवससम्म बजेट दुरूपयोग !


काठमाडौं । स्वास्थ्य लाइभको निरन्तर खोजीमा निस्क्रिय पाइएको एचआईभी बोर्डको वार्षिक खर्च मात्र वार्षिक करिब सवा दुई करोड रहेको पाईएको छ । स्वास्थ्य लाइभले फेला पारेको आर्थिक वर्ष २०६६/२०६७ को बोर्डको वार्षिक बजेट तथा खर्च २ करोड १४ लाख २७ हजार ५ सय रुपैयाँ रहेको देखिन्छ ।

बोर्डका प्रमुख कार्यकारी शरद वन्तको हस्ताक्षर रहेको उक्त बजेट कागजातमा कार्यालय सञ्चालन र कार्यक्रम क्रियाकलाप गरी दुईवटा शीर्षक छुट्याएर बजेट व्यवस्था गरिएको छ । बोईको कार्यालय सञ्चालनमा दुईवटा उपशीर्षक राखेर मानव शंशाधनमा ३६ लाख ८९ हजार रुपैयाँ र बोर्ड कार्यालय सञ्चालनका लागि २४ लाख २८ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

कार्यक्रमका लागि भनेर ६ वटा उप-शीर्षकमा खर्च घुट्याइएको छ ।  त्यसमा बोर्डको राष्ट्रिय गतिविधि सञ्चालनका लागि ६८ लाख ५० हजार, नीति वकालतका लागि २५ लाख १० हजार, समन्वय बैठकको नाममा, १४ लाख १० हजार,नेतृत्व विकास र जवाफदेहिताका नाममा २७ लाख १२ हजार ५ सय रुपैयाँ, स्रोत परिचालनका नाममा १४ लाख २५ हजार र कार्यक्रम आयोजना गर्ने नाममा ४ लाख २ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरी खर्च गरेको खुल्न आएको छ ।

कण्डमदेखि क्यान्डल लाइट दिवससम्म खर्च

बोर्डले इभेन्ट अर्गनाइजेसनको नाममा विनियोजन गरेको बजेट ४ लाख २ हजार ५ सय रुपैयाँ तीनवटा दिवसमा खर्च गर्ने गरेको पाइन्छ । नेसनल कण्डम डेदेखि क्यान्डल लाइट डेसम्मको इभेन्टमा बोर्डले पैसा दिने गरेको खुल्न आएको छ ।

बोर्डले नेसनल कण्डम डे इभेन्टका लागि ५१ हजार रुपैयाँ, वर्ल्ड एड्स डे का लागि ३ लाख २६ हजार ५ सय रुपैयाँ र क्यान्डल लाइट डे को अवसरमा इभेन्ट गर्दा २५ हजार बजेट दिने गरेको बोर्डको पारित बजेट कागजातबाट देखिन्छ ।

बोर्डको खर्चमा कसको कति योगदान ? 

स्वास्थ्य लाइभलाई प्राप्त डकुमेन्टअनुसार बोर्डको २०६६/२०६७ बजेटमा नेपाल सरकारसहित ८ वटा दातृ निकायको स्रोत परिचालन भएको देखिन्छ । बोर्डको उक्त आर्थिक वर्षको बजेट २ करोड १४ लाख २७ हजार ५ सय रुपैयाँमा नेपाल सरकारको योगदान १० लाख अर्थात् ४.७ प्रतिशत रहेको पाइएको छ ।

त्यस्तै युएनएफपिएको १० लाख २५ हजार अर्थात् ४.८ प्रतिशत, युएनडिपी/डिएफआईडीको १ करोड १४ लाख ४ हजार अर्थात् ४७.३ प्रतिशत, युएनएड्सको ४५ लाख २२ हजार ५ सय रुपैयाँ अर्थात् २१.१ प्रतिशत र युएसएडको ६ लाख अर्थात् २.८ प्रतिशत बोर्डको खर्चमा योगदान रहेको देखिन्छ ।

त्यसैगरी युएनडिपी/ग्लोवल फण्डको ३२ लाख ६१ हजार अर्थात् १५.२ प्रतिशत र टिबीईको ५ लाख अर्थात् २.३ प्रतिशत बजेट खर्चमा योगदान रहेको पाइएको छ । २ करोड १४ लाख २७ हजार ५ सय रुपैयाँ विभिन्न स्रोतमार्फत बजेट परिचालन गर्दै आएको बोर्ड स्वास्थ्यका उच्च सरकारी अधिकारी र पहुँचवाला एनजिओ/आइएनजिओको स्वार्थ नमिल्दा निस्क्रिय बन्न पुगेको आरोप लाग्दै आएको छ ।

एचआईभी बोर्डको प्रमुख कार्यकारीको तलबमा मात्र डेढ लाख खर्च हुने गरेको स्वास्थ्य लाइभले यसअघि नै खुलासा गरिसकेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ