महानगर भवनको किर्ते ठेक्का पार्ने समानान्तरको स्वास्थ्यमा आँखा

अस्पतालदेखि अदालतसम्मको ठेक्कामा समानान्तरको सेटिङ


काठमाडौं । टेकुस्थित काठमाडौं महानगरपालिकाको भवन निर्माणको साढे ६९ करोडको ठेक्का किर्ते गरेर हत्याउने समानान्तर निर्माण सेवा स्वास्थ्यका ठेक्कामा समेत संलग्न रहेको पाइएको छ ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रदेखि ठिमीस्थित अस्पताल भवन निर्माणको ठेक्का समेत समानान्तरले पाएको देखिन्छ ।

अख्तियारले बोलपत्र कागजातमा ‘किर्ते’ गरेको आरोपमा महानगरपालिकाका निर्देशक भैरबबहादुर बोगटीसहित ५ जनामाथि अभियोग लगाएपनि सामानान्तरलाई उन्मुक्ति दिएको छ । यसअघि ठेकेदारलाई पनि मुद्दा चलाउँदै आएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग समानान्तरका मालिक अच्युत खरेलसँग नतमस्तक देखियो । त्यति मात्र होइन किर्ते काण्डमा संलग्न काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाईसमेत जोगाउने काम भएको आरोप अख्तियारमाथि लाग्दै आएको छ ।
झन्डै डेढ अर्बको भक्तपुर जिल्ला अदालतको ठेक्का बिनाप्रतिस्पर्धा हत्याएको समानान्तरले झन्डै आधा अर्बको गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मीक तथा बहिरंग सेवा भवन निर्माणको ठेक्का र ३३ करोडमा ठिमी अस्पतालको ठेक्का पनि सेटिङमा समानान्तरले पाएको आरोप लाग्न थालेको छ ।
महानगरपालिका भवनको किर्ते काण्ड बाहिर आएसँगै समानान्तरले सरकारी अधिकारीसँगको मिलेमतोमा भवनको जस्तोसुकै ठेक्का कब्जा गर्न सक्छ भन्ने पुष्टि भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिजाएर खरेलले नेपालकै ठूलो गोदावारी सभाहल निर्माणको ठेक्का ८१ करोड ६ लाखमा हत्याए पनि समयमै बनाउन सकेनन् । समय थपेर बनाइएको सभाहल १० दिनपछि चुहिन थाल्यो । त्यस्तै रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालय पनि गोदावरी कै सभाहल कै हालतमा देखिन्छ । समानान्तरले बनाएको यो भवनमा पनि चुहिने समस्यामा छ । यो भवन निर्माण गर्दाको ठेक्का कागजात समेत गायब पारिएको चर्चा छ ।

७१ करोडमा महान्यायाधिवक्ता कार्यालयको ठेक्का हत्याएको समानान्तरले यसमा पनि ठूलो चलखेल गरेको चर्चा छ ।
समानान्तरको बदमासीले महान्यायाधिवक्ता कार्यालयको भवनमा पानी चुहिने मात्र होइन फल्स सिलिङ खस्ने लिफ्ट नै नचल्ने समस्या देखा परेको छ ।

सर्वाेच्च अदालतको भवन निर्माणदेखि राष्ट्र बैंक प्रवलीकरणसम्म समानान्तरले साम्राज्य खडा गरेको देखिन्छ ।
नेपाल आयल निगमको भवन निर्माणको ठेक्का १ अर्ब २६ करोड र करिब ८० करोड भैँसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूको सम्पर्क कार्यालय निर्माणको ठेक्का समेत किर्ते समानान्तरले पाउनु रहस्यको विषय बनेको छ । रक्षा मन्त्रालयको भवन समेत सामानान्तरले बनाएको हो । यो भवनमा पनि समस्या देखा परेको छ ।
सरकारी कर्मचारीसँग सेटिङ मिलाएर अर्बोंका ठेक्का हत्याउने समानान्तरमाथि कर छलीमा संलग्न रहेको समेत आरोप लागेको छ । राजस्व अनुसन्धान विभागले स्वास्थ्यका भवनमा साम्राज्य खडा गर्ने तयारीमा रहेको समानान्तर कार्यालयमा छापा हानेर कर छलीको पुष्टि हुने महत्त्वपूर्ण कागजातहरू लगेको छ ।
प्रहरी कार्यालय, रक्षादेखि प्रायजसो भिआईपी भवनको ठेक्का समानान्तरले नै पाउनु र भवन निर्माणमा बदमासी देखिनुले यी सबै ठेक्काको विषयमा उच्चस्तरीय छानबिन आयोग गठन गरेर हेर्न आवश्यक रहेको उच्च सरकारी अधिकारीहरु औंल्याउँछन् ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ