हवाई र सिमा नाकाको प्रवेश विन्दुमा बढ्यो ‘एस जिन’ नेगेटिभको संख्या


काठमाडौं ।  अफ्रिकाबाट सुरु भएको कोरोनाको नयाँ र तेस्रो भेरिएन्ट ‘अमिक्रोन’ नेपालमा पनि बढ्न थालेको आशंका सरकारी अधिकारीहरुले गरेका छन् । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण प्रसाद पौडेलले कोरोना पुष्टि हुनेमा एस जिन नेगेटिभको संख्या बिस्तारै बढ्न थालेको बताए ।

हिजो शुन्य अवस्थामा पुगेको एस जिन नेगेटिभको संख्या अहिले बढ्न थालेको छ । तीन दिन अगाडीको मात्रै सिमा नाकाको तथ्यांकमा एस जिन नेगेटिभको संख्या बढेको पाइएको छ । अधिकारीहरुका अनुसार त्रिभुुवन विमान स्थल र सिमा नाका हुदै नेपाल भित्रनेहरुमा उक्त संख्या बढेको छ ।

निर्देशक पौडेलका अनुसार एस जिन नेगेटिभको मात्रा न्युन देखिएको तर, अहिले फेरी दैनिक बढ्दो क्रमममा देखा पर्न थालेको छ । तथ्यांक अनुसार सिमा नाकामा दुई दिन अगाडी ८४ वटा नमुना परिक्षण गर्दा ६ वटामा एस जिन नेगेटिभ भेटिएको छ । बिचमा सिमा नाकामा एस जीन नेगेटिभ देखिन छाडेको थियो । दैनिक १६ वटा सम्म एस जिन नेगेटिभ देखिन थालेको छ ।

भारतमा ‘अमिक्रोन’ तिब्र रुपमा बढ्दैगएको छ । विगतमा पनि भारत हुदै नेपालमा कोरोना प्रवेश गरेको थियो । अहिले पनि भारतबाट सिमानाका हुदै नेपाल प्रवेश गर्नेहरुमा एस जिन नेगेटिभ देखिन थालेको छ । स्वास्थ्य मन्त्रालयले एस जिन नेगेटिभ देखिएका नमुनालाई ‘अमिक्रोन’ भएको अनुमान गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि नमुना परिक्षण गर्दा एस जिन नेगेटिभ देखिने संख्या बढ्दै गएको बुझिएको छ ।

नेपालमा  पहिलाने पटक मंसिर २० गते अफ्रिका बाट आएका दुई जनामा कोरोनाको नयाँ भेरिएन्ट ‘अमिक्रोन’ पुष्टि भएको थियो । उनिहरु ३ मंसिरमा हवाई मार्ग हुदै नेपाल आएका थिए । त्यस्तै पुस ७ मा तेस्रो व्यक्तिमा ‘अमिक्रोन’ पुष्टि भएको थिए ।
नयाँ भेरिएन्ट पत्ता लगाउन गरिएको नियमित जिन सिक्वेन्सिङ बढाइएको छ । हाल जीन सिक्वेन्सिङमा डेल्टा भेरिएन्ट भेटिएको थियो । तर, भारतमा ‘अमिक्रोन’  बढ्नु र नेपालका सिमा नाकामा एस जीन नेगेटिभ देखिनुले यहाँ पनि ‘अमिक्रोन’ बढ्न थालेको बुझिएको छ ।

स्वास्थ्यद्धारा सबै जिल्लालाई तयारी रहन परिपत्र
स्वास्थ्य मन्त्रालयले आगामी जनवरीको अन्तिमबाट नयाँ भेरिएन्ट ‘अमिक्रोन’ देखिने गरी बढ्ने बताएको छ । यसलाई रोक्न र क्षति कम गराउन विगतमा सम्भव भएका कार्यालय घरबाट चलाउने, भिडभाड नगर्ने, मास्क, स्यानिटाइजर नियमीत प्रयोग गर्ने, खोप नलगाएकाहरुले तुरुन्त खोप लगाउने बताएको छ ।

स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट थप फैलन नदिन स्थानीय र प्रदेश सरकारलाई निर्देशन दिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन निर्देशन दिएको हो ।

महाशाखाले कोभिड महामारीको जोखिम कायमै रहेकाले संक्रमितको संख्या थप बढ्न नदिन पूर्व तयारी आवश्यक रहेको जनाएको छ । संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी क्वारेन्टाइन तथा परीक्षण गर्न, सीमा नाकामा प्रवेश गर्ने यात्रुहरुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गहरुको पहिचान गरी खोप लगाउन र घरमै आइसोलेसन वा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको फलोअप एवं मापदण्ड पालनाको निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ