स्वास्थ्यमा सरुवा भएकी सचिव याम कुमारी के गर्लिन् ?


काठमाडौं । सरकारले सचिव याम कुमारी खतिवडालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दरबन्दी राखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेपछि सिंहदरबारमा नयाँ तरंग उत्पन्न भएको छ ।

 स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयको (जनसङ्ख्या) हेर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव खगेन्द्र प्रसाद नेपालका लागि विशेष पद सिर्जना गरेपछि त्यो ठाउँमा खतिवडालाई लगिएको हो ।

फरक क्षमता भएका नेपाललाई शारीरिक समस्या भएपछि स्वास्थ्यमा सरुवा भएपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै बस्ने व्यवस्था मिलाइएको थियो । तर  उद्योग र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालिसकेकी  सचिव खतिवडा प्रधानमन्त्री कार्यालयबाट स्वास्थ्यमा ‘जम्प’ गर्ने सम्भावना रहेको सिंहदरबार वृत्तमा चर्चा छ ।

खतिवडालाई स्वास्थ्य मन्त्रालयमै पठाउने गरी प्रधानमन्त्री कार्यालयमा नेपालको ठाउँमा ल्याइएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले स्वास्थ्य लाइभलाई बताए ।

‘सचिव नेपालले स्वास्थ्यमा जाने इच्छा नदेखाएपछि प्रधानमन्त्री कार्यालयमै व्यवस्थापन गरिएको थियो । खतिवडा सक्रिय सचिव भएकाले स्वास्थ्य मन्त्रालयमै गएर काम गर्ने सम्भावना देखिन्छ ।’, प्रधानमन्त्री कार्यालयका ती उच्च अधिकारीले स्वास्थ्य लाइभसँग भने । सचिव खतिवडाको परिवार मेडिकल क्षेत्रमा सक्रिय रहेकाले उनको स्वास्थ्यमा जान विशेष चाख रहेको उनको दाबी छ ।

सचिव खतिवडासँगै बागमती प्रदेश प्रमुख सचिव किरण राज शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ । शर्माको ठाउँमा हालै बढुवा भएका कृष्ण बहादुर राउत जाने दौडधुपमा लागेका छन् । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवक्ताको भूमिकामा रहेकाले बागमती प्रदेशमै पदस्थापन हुने उच्च सम्भावना छ । सचिव खतिवडाको ठाउँमा प्रदेश नं. २ का प्रमुख सचिव हरिप्रसाद मैनाली आउने भएका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरे जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । केन्द्रमा सुशिलचन्द्र तिवारीलाई लगिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसूदन बुर्लाकोटीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ