राप्तीको उपकुलपतिका लागि ‘छोटो सूची’ मा को को परे !


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि नाम नदिएका कारण ‘छोटो सूची’ सार्वजनिक हुनबाट रोकिएको छ । चिकित्सक भगवान कोइरालाको टिमले तयार पारेको उपकुलपतिको ‘छोटो सूची’ तयार भएको छ । तर, मन्त्रीले आफ्नो उमेद्धारको नाम दिन नसकेका कारण ढिला भएको छ ।

डा भगवान कोइरालाको टिमले सम्भावित व्यक्तिहरुको ‘छोटो सूची’ तयार पारेको छ । डा, विकास लामिछाने, डा रामेश कोइराला, डा राजेन्द्रराज वाग्ले, डा. ऋषिकेश नारायण श्रेष्ठ, डा नारायण बिक्रम थापाको नाम तयार भएको छ । यी मध्ये तीन जनाको नाम तयार पारेर प्रधानमन्त्री समक्ष पेश गरिने छ । तर, मन्त्रीले आफ्नो उमेद्धारको नाम दिन ढिलाइ भएका कारण समय लागेको एक अधिकारीले बताए ।

अधिकारीहरुले अन्तिम निर्णय नभएकाले अहिले ‘छोटो सूची’ बारे बोल्न समस्या भएको बताएका छन् । समितिले भने विगतमा विवादीत भएका व्यक्तिहरुलाई समावेश गराएको छैन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा विवादित पूर्व उपकुलपति प्राडा संगिता सिंह भण्डारीसहित १६ जनाले दाबी गरेका थिए ।

घरमा पालेको कुकुरको उपचार खर्चको बिल समेत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट तिराउन लगाएर चर्चामा आएकी भण्डारीले पुनः उपकुलपति हुने दाबी पेश गरेपछि संवैधानक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतमाथि चुनौती थपिएको थियो । समितिले उनको नाम सिफारीस नगर्ने बताएको छ ।

सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङको उपकुलपतिका लागि गत पुस ७ गते आवेदनको सूचना निकालेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदको लागि योग्यता पुगेका इच्छुक उम्मेदवारले ७ (सात) दिनभित्र सिफारिस समितिको सचिवालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना महाशाखामा आवेदन पेश गर्न उक्त सूचनामा भनिएको थियो । त्यही अनुसार १६ जनाले राप्ती प्रतिष्ठानको उपकुलपतिमा दरखास्त हालेका हुन् ।

सूचनामा स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरुको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ को दफा ९ को उपदफा २ बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिसम्बन्धी कार्यविधि, २०७८ मा उल्लेखित अनुभव र योग्यतासहित रितपूर्वकको निवेदन माग गरिएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. भण्डारीसहित डा. पवन जंग रायामाझी, प्राडा प्रदिप घिमिरे शर्मा, डा. लुमेश्वर आचार्य, डा. विकास लामिछाने, डा. प्रबोध रेग्मी, प्राडा राजेन्द्रराज वाग्ले, डा. ऋषिकेश नारायण श्रेष्ठ, डा. सञ्जयकुमार ठाकुर, डा. लक्ष्ममीनारायण सिंह, डा. प्रविन श्रेष्ठ, डा. जीत नारायण यादव, डा. विश्वनाथ यादव, प्राडा नारायण विक्रम थापा, डा. रमेश कोइराला र प्राडा रेवतीरमण मल्लले उपकुलपतिका लागि आवेदन पेश गरेका थिए ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ