कोभिड बढेपछि विशेष निर्णय गर्न सर्वोच्चको ‘फूलकोर्ट’ बोलाइयो

प्रधानन्यायाधीश राणाले फूलकोर्ट बहिष्कार गर्ने !


काठमाडौं । अदालतहरुमा कोभिड-१९ संक्रमित ह्वातै बढेपछि सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) बोलाइएको छ ।

आज बस्ने सर्वोच्च अदालतका न्यायाधीशहरुको फूलकोर्टले कोभिड र अदालतको सेवासम्बन्धी विशेष निर्णय गर्ने जनाइएको छ ।

सर्वोच्च अदालतका मीरा खड्कासहित केही न्यायाधीश तथा मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित दुई दर्जन बढी कर्मचारहरुलाई कोरोना संक्रमण पुष्टि भइसकेका छ । न्यायाधीश सपना प्रधान मल्लको सवारी चालकलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि ठूलो संख्यामा सर्वोच्चमा कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

हिजो मात्र जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश सीताराम मण्डल, साधुराम सापकोटा, लेखनाथ पौडेल रजिष्ट्रार गजेन्द्र बहादुर सिंहसहित २५ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसैलाई मध्यनजर गर्दै  आज डेढ बजेलाई सर्वोच्च अदालतको फूलकोर्ट बोलाइएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाए पनि उनी आफैं बैठकमा उपस्थित हुने सम्भावना कम रहेको सर्वोच्च स्रोतको भनाइ छ । प्रधानन्यायाधीश राणाविरुद्ध न्यायाधीशहरू आन्दोलनमा रहेकाले फूलकोर्ट बैठकमा सहभागिताको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अदालतको कोरोना संक्रमण भयावह बन्दै गएपछि सेवाहरु कटौतीदेखि शून्य समय लागू गर्नसम्मका विषयहरूमाथि निर्णय लिइने सम्भावना रहेको अदालत प्रशासनले स्वास्थ्य लाइभलाई जानकारी दियो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ