सिटामोलको कथा : सरकार भन्छ टन्न छ, बजारमा कृत्रिम अभाव !


काठमाडौं । सरकारले पारासिटामोलको अभाव नरहेको दाबी गरेको छ । औषधि व्यवस्था विभागले पासासिटामोल ५०० एमजी चक्की औषधि अभाव भनि विभिन्न सञ्चार माध्यममा प्रकाशन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले आज एक औषधि उत्पादक कम्पनीको स्थलगत निरीक्षण गर्दा उक्त औषधिको कच्चा पदार्थ मौज्दात करिब २४ लाख चक्की उत्पादन हुन सक्ने रहेको भेटेको दाबी गरेको छ । बजारमा बिक्री वितरणको ४ लाख ५९ हजार चक्की, उत्पादनको क्रममा रहेको २० लाख चक्की,  करिब ३ करोड चक्की उत्पादन हुने कच्चा पदार्थ आउने क्रममा रहेको औषधि व्यवस्था विभागले जनाएको छ ।

तीन करोड चक्की उत्पादन हुने कच्चा पदार्थ स्वदेशी औषधि उत्पादक कम्पनीसँग रहेको स्पष्ट पार्दै औषधि व्यवस्था विभागले औषधि उत्पादन तथा बिक्री वितरण कार्य निरन्तर एवं नियमित रहेकाले अभाव हुने भ्रममा नपर्न अपिल पनि गरेको छ ।

नेपालमा औषधि व्यवस्था विभागको महानिर्देशक र औषधि बढी खपत हुने समयमा पारासिटामोलको कृत्रिम अभाव सिर्जना गर्ने गरेको आरोप लाग्दै आएको छ ।

सिटामोलको मूल्य बृद्धि गर्नका लागि विभागका अधिकारी, औषधि उत्पादक, बिचौलिया र वितरकहरूको साँठगाँठमा सिटामोलको कृत्रिम अभाव बनाउने काम हुने गरेको आरोप लाग्दै आएपनि आज विभागले त्यस्तो अभाव नरहेको दाबी गरेको हो । सिटामोलको मूल्य बृद्धि गर्न कृत्रिम अभाव सिर्जना गरिएको भन्ने आरोपको विषयमा आवश्यक छानबिन गर्न विभागले तत्परता देखाउँछ कि विज्ञप्ति निकालेर झारा टार्ने काम मात्र गर्छ हेर्न बाँकी छ ।

सम्बन्धित समाचार :

सिटामोल अभावको चर्चाबीच एक डाक्टरले यसरी सुनाए सिटामोलको कथा !

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ