कोरोनाको प्रजाति पत्ता लगाउने मेसिन छ, परीक्षण छैन, कोभिड-१९ संक्रमितलाई जाँच्ने विधि के हो ?


काठमाडौं। कोभिड–१९ को नयाँ भेरिएन्ट पत्ता लगाउन गरिने परीक्षण जीन सीक्वेन्सीङ मेसिन देशभर ६ वटा छन् । सरकारी स्वमित्वमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसहित निजी क्षेत्रसँग गरी ६ वटा कोरोनाको भेरिएन्ट पत्ता लगाउने मेसिन छन् । तर, सेन्टर फेर मलिकुलर डायनामिक नेपाल(सीएमडीएन)बाहेक अन्यमा नियमित चलेको छैन ।

नेपालमा उपकरण छ तर, कोरोनाको नयाँ प्रजाजि पत्ता लागाउन दर्जनौं नमुना हङ्गकङ्ग पु¥याइन्छ । नमूना हङ्गकङ्ग पठाउनुको एउटा मात्रै कारण छ खर्च नेपालले व्यहोर्नु पर्दैन । अनुसन्धानकर्ता संस्था सीएमडीएनकाअनुसार एउटा जीन सीक्वेन्सीङ गरेको खर्च प्रती सेम्पल ८ देखि ९ हजार पर्छ ।

गत मंसिरमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएपछि लामो ‘ग्याप’मा २४ नमूनाको जीन सीक्वेन्सीङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गरेको थियो । उक्त क्रममा सबै ओमिक्रोन पुष्टि भएका थिए । त्यस यता ८० हजार भन्दाबढी नयाँ संक्रमित मात्रै थपिएनन् । ८ माघमा २४ घण्टामा १६ जनाको मृत्यु भएको थियो । उक्त मृत्यु २ असोज यता कै सर्वाधिक थियो । तर, कुन भेरिएन्टले उनीहरुको मृत्यु भयो भनेर अहिलेसम्म हेरिएको छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण मशाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेल अहिलेको संक्रमण ओमिक्रोन भएको अनुमान गर्छन । तर, उनमा पनि दाबी गर्ने कुनै आधार भने छैन । सीएमडीएनका बायोइन्फरमेटिक्स अफिसर प्रज्वल मानन्धर अहिले देखिएको संक्रमण ५० प्रतिशत डेल्टा र ५० प्रतिशत ओमिक्रोन भएको दाबी गर्छन् ।

धुलिखेल अस्पताल, जैविक प्रविधि केन्द्रिय विभाग किर्तिपुर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले हालै नयाँ मेसिन किनेपनि विधि विज्ञान प्रयोगशाला नास्ट र सेन्टर फर डायनामिक नेपालसँग वर्षौ देखि परिक्षण गर्दै आएका जीन सीक्वेन्सीङ गर्ने मेसिन छन् । अरु संचालनमा नभएपनि सीएमडीएनले नियमित परिक्षण गरिरहेको छ ।  सीएमडीएनले एक हप्ता अगाडि गरेको जीन सीक्वेन्सीङमा डेल्टा र ओमिक्रोन ६०/४० मा थियो । अहिले ओमिक्रोनले उछिनेको मानन्धरको अनुमान छ  ।

मान्धर भन्छन् ,’जीन सीक्वेन्सीङ गर्ने दुई वटा मेसिन सीएमडीएनसँग  नियमित संचालनमा छ । ‘तर, राज्यले यसको अनुभूति गर्न चाहेको छैन ।’, सीएमडीएनले एक हप्तामा नतिजा निकाल्दै आएको छ ।

सीएमडीएनले युके भेरिएन्ट, साउथ अफ्रिकन भेरिएन्ट, ब्राजिलियन भेरिएन्ट, भारतीय डबल म्युटेन, डेल्टा भेरिएन्ट र हाल देखिएको ओमिक्रोन समेत पत्ता लगाएको छ । यता सरकारले भने हाल कोरोना जाँच गर्दा ‘एस जीन’ नभेटिएको आधारमा ओमिक्रोन भन्न थालेको छ ।

शताब्दीपछिको ठूलो महामारी
कुनै समय लाखौँको मृत्युको कारण बनेको थियो स्पेनिस फ्लु । करिब एक शताब्दी पछिको सबैभन्दा ठूलो महामारी मानिएको कोभिड–१९ को संक्रमणबाट यतिखेर विश्व आक्रान्त छ । कोभिड-१९ को तेस्रो र चौथो लहर विश्वमा चलिरहेको छ ।

नेपालमा पनि कोरोना भाइरस रोगबाट संक्रमित हुनेको संख्या ९ लाख १८ हजार ४४८ पुगेको छ । सन् २०१९ माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित देखिएको हो । यसबीचमा ११ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले पनि ‘थ्री टि’ अर्थात् ट्रेस, टेस्ट एण्ड ट्रिट (संक्रमित पत्ता लगाउने, उसको परीक्षण गर्ने र उपचार गर्ने) मा जोड दिएको छ । तर, संक्रमित तीव्र भएपछि नेपालमा सम्भव देखिएको छैन । अहिले हरेक घरमा संक्रमित देखिएका छन् ।
कमजोर स्वास्थ्य संरचना, अन्य क्षेत्रझैं ढिलो गरी तात्ने स्वास्थ्य क्षेत्रको नेतृत्व र महामारी प्रतिको आम हेलचेक्र्याइँका बाबजुद नेपाल यस महामारीको सामना गरिरहेको छ । अहिले डेल्टा भेरिएन्टको समाप्तीसँगै विश्वमा नयाँ ओमिक्रोन देखिएको छ । जुन बिजुली गतिमा फैलिएको छ । नेपालमा पनि २७ केस औपचारिक रुपमा ओमिक्रोन पुष्टि भएको छ ।

नेपालमा जीन सीक्वेन्सीङ गर्ने उपकरण नभएको भन्दै सरकारले हङ्गकङ्ग नमुना पठाउँदै आएको छ । पछिल्लो समय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जीन सीक्वेन्सीङ गरेपछि पर्याप्त मात्रामा गरेको छैन । ओमिक्रोन पुष्टि भएयता पछिल्लो २३ दिनमा ४ हजार एक्टिभ संक्रमितबाट बढेर ८२ हजार भन्दा बढी केस पुगेको छ । तर, नयाँ भेरिएन्ट हो, हैन कुनै परीक्षण भएको छैन ।
निजी क्षेत्रबाट सञ्चालित सेन्टर फेर मलिकुलर डायनामिक नेपाल(सीएमडीएन)का बायोइन्फरमेटिक्स अफिसर मानन्धर भन्छन् ‘डेल्टा र ओमिक्रोन एकहप्ता अगाडि जीन सीक्वेन्सीङ गर्दा ६०–४० को रेसमा भेरिएन्ट देखिएको थियो ।

कोभिड–१९ संक्रमितलाई जाँच्ने विधि के हो ?
कोभिड–१९ का संक्रमितलाई जाँच्ने हालसम्म दुई तरिका उपलब्ध छन् । पहिलो पोलिमेरास चेन रियाक्सन (पीसीआर) र दोस्रो सेरोलोजिकल परीक्षण । पीसीआर वंशाणुमा आधारित परीक्षण विधि हो जसमा नाक वा घाँटीको पछाडिबाट र्यालको नमुना लिइन्छ ।
श्वासप्रश्वाससम्बन्धी रोग कोभिड–१९ ले मान्छेको सम्पूर्ण श्वासप्रश्वास प्रणालीमा असर गर्ने भएकाले पिसिआर विधि प्रभावकारी भएको सीएनडीएनका असिस्टेन्ट ल्याब म्यानेजर समनमान प्रधान बताउँछन् । ‘भाइरसको वंशाणुको एउटा ढाँचा हुन्छ, त्यसको अनुक्रम पत्ता लगाउन जाँच गर्ने विधि हो ।’, उनी भन्छन्, ‘पीसीआर परीक्षण विधि संक्रमण भएको शुरुतिर प्रभावकारी हुन्छ । यस विधिमा रिएजेन्ट भनिने तत्वको प्रयोग गरिन्छ, जसले भाइरसको वंशाणुको नक्कल गर्छ । उक्त भाइरसमा त्यो नक्कल मिल्यो भने त्यसको रंग बदलिन्छ ।’,प्रधानकाअनुसार दोस्रो विधि सेरोलोजी मानिसको रोग प्रतिरोधी प्रणालीको भाइरससँग जम्काभेट भएपछि जीवाणुविरोधी तत्व पत्ता लगाउने विधि हो । यस विधिमा रगतमार्फत शरीरको रोग प्रतिरोधी क्षमतालाई मापन गरी संक्रमण भए-नभएको पत्ता लगाइन्छ । जसलाई र्यापिड टेस्टिङ किट भनिन्छ ।

कोरोना जाँचसँगै भेरिएन्ट पत्ता लगाउन आवश्यक छ 

अनुसन्धानकर्ता संस्था सीएमडीएनका कार्यकारी निर्देशक डा. दिवेश कर्मचार्यले कोरोना पत्ता लगाउन गरिने पीसीआर परीक्षणसँगै अब त्यसको भेरिएन्ट पत्ता लगाउन जरुरी भएको बताए । ‘अहिले कोरोना पत्ता लगाउँन पीसीआर जाँच भइरहेको छ’, निर्देशक डा कर्मचार्यले भने, ‘अब यतिले मात्र पुग्दैन कोरोनाको भेरिएन्ट जान्न उति नै आवश्यक छ ।’,

नेपालामा कोभिसिल्ड, भेरोसेल, जोन्सन, मोर्डना, फाइजर खोप प्रयोग भइरहेको छ । उक्त खोप नयाँ देखिएका हालका भाइरसमा प्रभावकारी छ या छैन भनेर जान्न आवश्यक छ डा कर्मचार्यले भने । अहिले कोरोनाको दोस्रो मात्रा लगाएकाहरुले बुष्टर खोप कुन लगाउने भन्ने पनि उत्तिकै प्रश्न उब्जिएको छ ।

हाल विश्वमा नयाँ भेरिएन्टका रुपमा ओमिक्रोन देखिएको छ । यो डेल्टा भन्दा ७ गुणाबढी  तीव्र गतिमा फैलिएको छ । यसलाई रोक्न कस्तो नीति राज्यले अबलम्बन गर्नुपर्छ भन्ने प्रश्नपनि आममानिसमा उठेको छ ।

निर्देशक डा. कर्मचार्यकाअनुसार भाइरसको भेरिएन्ट पत्ता लगाउन  देशका विभिन्न संस्थामा उपकरणहरु छन् । सरकारले एक-आपसमा समन्वय गरेर प्रयोगमा ल्याए जीन सीक्वेन्सिङ गर्न अर्थात् भेरिएन्ट पत्ता लगाउन नमूना विदेश पठाउँनु पर्दैन । ‘छिटो र भपर्दो रुपमा नेपालमा परीक्षण गर्न सकिन्छ तर, यसका लागि आवश्यक समन्वय अपरिहार्य छ ‘,उनले भने ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ##CMDN, ##Covid 19, ##MOHP, ##NPHL, ##PCR, ##Virus

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ