सिभिल अस्पतालमा भएको एउटा घटना
पत्रकार विश्वकर्माको उपचारमा भएको के हो ? अस्पतालको प्रतिक्रिया उनीहरुकै शब्दमा
काठमाडौं । टिभी टुडेमा कार्यरत २६ वर्षीय पत्रकार लालबहादुर विश्वकर्माको गत बिहीबार बिहान पाटन अस्पतालमा मृत्यु भएको थियो । मृत्यु हुनुभन्दा अगाडि उपचारका लागि उनी बानेश्वरमा रहेको सिभिल सर्भिस अस्पताल पुगेका थिए । सिभिल अस्पतालमा प्राथमिकता उपचारपछि आइसियूका लागि विश्वकर्मालाई पाटन अस्पताल पठाइएको अस्पतालले जनाएको छ ।
श्रमजीवी पत्रकार संघ, नेपालले सिभिल अस्पतालमा उपचारका लागि पु¥याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणबिना उपचार नहुने भनेर लापरबाही गर्दा मृत्यु भएको आरोप लगाएको छ । संघले अस्पतालमाथि कारबाहीको माग समेत गरेको छ । नेपाल पत्रकार महाँसघले पनि दु:ख व्यक्त गरेको छ ।
पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको मृत्युको घटनाबारे चौतर्फी प्रश्न उठेपछि छानबिन गर्न सिभिल अस्पतालले छानबिन समिति समेत गठन गरिसकेको छ । अस्पतालका इमर्जेन्सी विभागका प्रमुख डा. दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको हो ।
समितिको सदस्यमा अस्पतालका उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउण्टर इन्चार्ज भेषबहादुर बस्नेत रहेका छन् । पैसा नभएर उपचार नपाएको आरोप अस्पतालमाथि लागेको छ । तर, अस्पतालले भने बाहिर आरोप लगाए जस्तो नभएको बताएको छ ।
अस्पतालका निर्देशक डा. अनुजजंग रायमाझी पीडित पक्ष नदेखिएकाले समस्या भएको बताउँछन् । हामी पीडितका मान्छे खोजिरहेका छौं तर, सम्पर्कमा आएका छैनन् ।
पत्रकार विश्वकर्माको उपचारमा भएको के हो ? अस्पतालको प्रतिक्रिया उनीहरुकै शब्दमा
वर्ष २६ का स्थायी ठेगाना अछाम भई हाल काठमाण्डौंमा बस्ने लाल बहादुर विश्वकर्मा इमर्जेन्सी विभागमा ०७८ माघ ५ गते राति ११ः२० बजे आएका थिए । बिरामीलाई उनका भाइले ट्याक्सीमा राखेर अस्पताल ल्याएका थिए । गेटबाटभित्र लगेपछि अस्पतालको ह्विल चियरमा उनलाई इमर्जेन्सीभित्र लगिएको थियो ।
इमर्जेन्सीमा गम्भीर बिरामी राख्ने एटिएस वेड १ मा राखिएको थियो । त्यस अवस्थामा बिरामीलाई श्वास फेर्न निकै गाह्रो भएको थियो । शरीरमा रगतको मात्रा जाँच गर्दा सुन्न गाह्रो भएको थियो । बिरामीलाई आइसियू आवश्यक थियो तर, सिभिलमा आइसियू ‘प्याक’ थियो । स्वास्थ्यकर्मीले आइसियूको आवश्यकता भएको परिवारलाई जानकारी गराइएका थिए ।
सिभिलबाट पाटन गएपछि बिहान उहाँको मृत्यु भएको सुन्नमा आयो । सीधै मृत्यु भएको विषयलाई मात्रै जोड्नुभन्दा पनि उहाँको विगतमा भएको रोगलाई पनि हेर्नु पर्ने हुन्छ । उहाँ पुस २५ गते पनि सिभिल अस्पतालको फेमिली मेडिसिनको ओपिडीमा स्वास्थ्य जाँच गराउँन जानु भएको थियो । चिकित्सकले स्वास्थ्य जाँच गरेपछि अवस्था ठिक छैन भन्दै भर्ना हुन तत्काल इमर्जेन्सीमा पठाएका थिए ।
इमर्जेन्सीमा स्वास्थ्य जाँच गर्दा ज्वरो, दमको समस्या पुरानो देखिएको थियो । कर्मचारीले मेडिसिनको चिकित्सक बोलाएर भर्ना हुन सुझाव दिएका थिए । उनीहरुले बिरामीलाई तत्काल मुटु र कलेजोसम्बन्धी चिकित्सकलाई देखाउँनु भनेका थिए । तर, उहाँ भर्ना नहुने भन्दै घर जान अनुमति माग्नु भयो । घर जान अनुमति मागेपछि फलोअपमा आउँनु भनेर बिदा गरिएको कागज पत्रबाट देखिन्छ । तर, उहाँलेबीचमा फलोअप चेक गरे नगरेको आवश्यक कागजपत्र नपाउँदा स्पष्ट खुलेको छैन ।
पुस २५ गते स्वास्थ्यको अवस्था के थियो ?
पत्रकार विश्वकर्मा स्वास्थ्यमा समस्या देखिएपछि पुस २५ गते सिभिल अस्पताल आएका थिए । अस्पताल पुग्दा ज्वारो १०४ डिग्री थियो, मुटुको चाल प्रति मिनेट ११४ थियो । ६० देखि ९० सम्मलाई सामान्य अवस्था मानिन्छ । श्वासप्रश्वासको गति २२ थियो । अक्सिजनको मात्रा ९९ थियो । मुटु र स्वाश्सप्रश्वासको समस्या त्यहीँ बेला चिकित्सकले एकिन गरेका थिए ।
त्यस बेला चिकित्सकले स्वास्थ्य जटिल रहेको भन्दै तत्काल भर्ना हुन अनुरोध गरे । तर, चिकित्सकले स्वास्थ्य जटिल छ भन्दै भर्ना हुन अनुरोध गर्दा उहाँले मान्नु भएन । नमानेपछि उहाँकै सहमतीमा घर पठाइएको थियो ।
माघ ५ गते स्वास्थ्यको अवस्था के देखियो ?
पुस २५ गते अस्पताल भर्ना हुन नमानेर घर जानुभएका विश्वकर्मा पुन स्वास्थ्यमा जटिल समस्या देखिएपछि माघ ५ गते अस्पताल आउँनु भएको देखिन्छ । बिरामीलाई उहाँका भाइले ट्याक्सीमा राखेर अस्पताल ल्याउनु भएको थियो । गेटबाटभित्र प्रवेश गराएपछि अस्पतालको ह्विल चियरमा उनलाई इमर्जेन्सी भित्र लगिएको थियो ।
तत्काल इमर्जेन्सीमा वेडमा राखेर उपचार गरियो । त्यस अवस्थामा बिरामीलाई श्वास फेर्न निकै गाह्रो भएको थियो । उहाँको शरीरमा ब्लड प्रेसर थिएन । मुटुको चाल अघिल्लोपटक प्रतिमिनेट ११४ सम्म धड्किएको थियो । तर, ५ गते थाकेर मुटुको चाल प्रतिमिनेट ४६ मा झरेको थियो । अक्सिजनको मात्रा २५ गते ९९ थियो । तर, ५ गते ६१ मा झरेको थियो । सामान्य अवस्थामा एकमिनेटमा ६० देखि सय पटकसम्म मुटु धड्कीने गर्छ । ५० भन्दा कम वा १०० भन्दा बढी चाल भयो भने समस्या निम्तन्छ ।
बिरामीको जाँचमा उठेको प्रश्न
ब्लड प्रेसर नै नभएको बिरामी अस्पतालमा आइपुग्दा बिरामीलाई अरु अस्पतालमा जाँनु भन्न चिकित्सकीय धर्मले मिल्दैन । यस्तो बिरामी इमर्जेन्सीमा भर्ना गरेर आवश्यक उपचार गर्ने हो । आइसियू नै पठाउँन पनि कुन आइसियूमा पठाउँने भन्नका लागि पनि प्रारम्भिक जाँच अनिवार्य हुन्छ ।
गोल्डेन समयमा इमर्जेन्सीमा भर्ना गरेर बिरामीलाई चिकित्सकले प्रतिमिनेट १५ लिटरका दरले अक्सिजन दिएका थिए । साथै स्लाइनपानी चडाइएको थियो । गम्भीर बिरामी राख्ने एटिएस वेड १ मा राखिएको थियो ।
रातीको १ बजेर ४५ मिनेटमा भाइटललाई स्टेबल बनाइएको थियो । नदेखिएको ब्लड प्रेसरलाई ११० बाई ८०, अस्पताल आउँदा श्वासप्रश्वासको गतिलाई ३० बाट २५ मा झारेको थियो । यो भनेर बिरामीलाई स्टेबल गर्ने हो । कुनै पनि अस्पतालमा जाँदा प्राथमिक उपचार गर्नै पर्छ । प्राथमिक उपचार नगरी रिफर गर्न मिल्दैन ।
अस्पताल आउँनासाथ बिरामीलाई आइसियूको आवश्यकता पर्ने जानकारी दिएको थियो । साथै सिभिल अस्पतालमा आइसियू खाली नभएको जानकारी स्वास्थ्यकर्मीले दिएका थिए । यो समयमा भाइटल स्टेबल बनाउने काम गरियो ।
अस्पतालको एम्बुलेन्स बारे उठेको प्रश्न
सिभिल अस्पतालको एम्बुलेन्समा राखेर बिरामी पाटन किन नपठाएको भन्ने प्रश्न पनि उठेको छ । अस्पतालमा स्वास्थ्यकर्मी खाली भएको खण्डमा एम्बुलेन्समा स्वास्थ्यकर्मी राखेर पठाउँने हो । तर, इमर्जेन्सीमा अहिले कोभिडको समय बिजी हुन्छ ।
दुई जना स्वास्थ्यकर्मी गाडीमा पठाउँदा भर्ना भएका अरु बिरामीको सेवा अवरुद्ध हुन्छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स (१०२) बोलाएर झन राम्रो होस् भनेर पाटन बिरामी पठाएको थियो । एम्बुलेन्स आउँन समय लागेपनि अस्पतालमा हुने उपचार चलिरहेको थियो । आइसियू आफैंमा जादु हैन । उहाँको मृत्युको अझै मसिनो गरी हेर्ने हो भने पोष्टमाटम राम्रो विकल्प हो ।
एक हजार नभएको कुरा
एक हजार रुपैयाँ नभएर बिरामी भर्ना नगरेको भन्ने आरोप पनि लगाइएको छ । एक हजार नभएर बिरामीको भर्ना रोकिने भन्ने हुँदैन । सबै अस्पतालमा भर्ना गरेको बिरामीको केही सेवा निःशुल्क हुन्छ । त्यसका लागि पहिला बिरामी भर्ना हुनुपर्छ । भर्ना नभइकन नि:शुल्क भन्ने हुँदैन ।
भर्ना भएको बिरामीलाई वेड सुबिधा छ । उहाँ बिरामीलाई भर्ना गर्ने भनेको आइसियूमा हो । सिभिलमा मेडिकल आइसियू, सर्जरी आइसियु र कोभिड आइसियु छ । सर्जरी आइसियूमा राख्ने कुरा हुँदैन । बाँकी मेडिकल आइसियू र कोभिड आइसियू खाली थिएन । यस्तो अवस्थामा भर्ना गरेर उहाँले पाउने सुविधा दिन सकिएन ।
पिसिआर परिक्षणको विषय पनि उठाइएको छ । सिभिल अस्पतालमा रातिको समयमा आरटी- पीसीआर मेसिन चल्दैन । सिस्टममा चल्ने भएकाले एउटा सेम्पलका लागि हामीले चाहेर पनि परीक्षण हुँदैन । पीसीआर परीक्षणका लागि बिहानसम्म कुर्नुको कुनै विकल्प थिएन । तर, आरटी-पीसीआर परीक्षण नभएर उपचारमा कुनै समस्या हुँदैन ।
क्याटेगोरी : विचार
तपाईको प्रतिक्रिया दिनुहोस