वीपी प्रतिष्ठानमा सर्कुलर जारी गरेर डा. यादवले थाले काम


काठमाडौं ।  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीको हैसियतमा काम गर्न पठाइएका डा. श्यामसुन्दर यादवले  सर्कुलर जारी गरेर काम सुरु गरेका छन् ।

सरकारले वीपी प्रतिष्ठानमा अस्पताल तथा प्रतिष्ठानको प्रशासनिक काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ (बाह्रौं तह) डा. यादवलाई पठाउने निर्णय गरेको थियो । यादवले मन्त्रिपरिषद्को निर्णयको आधारमा वीपी प्रतिष्ठानमा काम कारबाही अघि बढाउनका लागि सर्कुलर जारी गरेका हुन् ।

उनले जारी गरेको सर्कुलर माघ १० गते नै हाजिर भएर सरकारको निर्देशन अनुसार कामकाज थालिसकेको उल्लेख गरेका छन् । मन्त्रिपरिषदको निर्णयअनुसार सबै एकतावद्ध भएर प्रतिष्ठानको सर्वोपरि हितको लागि सहयोग गर्दै अघि बढ्न सम्पूर्ण शिक्षक, कर्मचारी एवं विद्यार्थीहरुमा डा. यादवले सर्कुलरमार्फत अनुरोध गरेका छन् ।

सरकारले प्रतिष्ठानका उपकुलपति, रेक्टर, अस्पताल निर्देशकलगायतका पदाधिकारीहरुलाई काम गर्न रोक लगाउँदै डा.यादवलाई अस्पताल तथा प्रतिष्ठानको प्रशासनिक काम गर्न पठाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी प्रतिष्ठानमा कामकाज गर्न पठाएका यादव अहिले गेष्ट हाउसमा बसेर प्रतिष्ठानलाई नियालिरहेको बताइएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले सुनसरीस्थित कोष तथा लेखा निन्त्रणक कार्यालय प्रमुख चिरञ्जीवी अधिकारीलाई साथमा लिएर डा. यादव कामकाजका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गएका छन् ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ