बिस्तारै ओमिक्रोन ओझेल पर्न थालेपछि स्वास्थ्यकर्मीहरु ‘रिल्याक्समा’ देखिएका छन्


काठमाडौं । कोरोना भाइरस कोभिड-१९ को तेस्रो छाल निकै कम समयमा सकिने अनुमान अधिकारीहरुले लगाउन थालेका छन् । कोभिडको बिरामी हेर्ने चिकित्सकहरु आफूलाई केही दिन यता ‘रिल्याक्स’ महशुस गर्न थालेका छन् ।

कोभिडको तेस्रो छाल औपचारिक रुपमा १६ पुसबाट सुरु भएको थियो । तर, यो छाल लामोसमय टिक्ने देखिएको छैन । एकमहिना पुगेपछि क्रमशः ओरालो लाग्नेक्रममा ओमिक्रोन छ ।

शुक्रबार ११ हजार ७३ नमूना परीक्षण गर्दा २ हजार ५ सय २६ जनामा पोजेटिभ देखिएको छ । तर, मृत्युको संख्या केही बढेको छ । विभिन्न समयमा १६ जनाको मृत्यु भएको छ । तथ्यांक अनुसार शुक्रबार २२ प्रतिशत पोजेटिभ देखिएको छ ।

ओमिक्रोनको दैनिक संक्रमणदर ५० प्रतिशत पुगेर निरन्तर ओरालो लागिरहेको छ । टेकु अस्पतालका आइसियु चिकित्सक डा. दिपेश पौडेल ओमिक्रोनबाट दीर्घरोगीहरु बढी प्रभावित भएकाले मृत्यु केही बढेको हो ।

‘युवा अवस्थामा समस्या बनाएको हामीले पाएका छैनौं’, उनले भने, ‘ओमिक्रोनका एक्टिभ संक्रमित मात्रै ५६ हजार बढी छन् । त्यसैले मृत्युको संख्या थोरै बढेको हो ।’ अल्फा केयर एण्ड डायग्नोष्टिक सेन्टरका कन्सल्ट्यान्ट प्याथोलोजिस्ट डा. हिमांशु रेग्मी पनि दैनिक संक्रमणदर घटिरहेको पुष्टि गर्छन् ।

‘एक हप्ता अगाडिसम्म दैनिक पोजेटिभ दर ४० देखि ४५ को वरिपरि थियो’, रेग्मीले भने, ‘अहिले २० प्रतिशतमा झरेको छ ।’ उनकाअनुसार तेस्रो छाललाई पार लगाउनेतर्फ हामी लागेका छौं । चिकित्सकहरुले अझै स्वास्थ्यका मापदण्डलाई पूर्ण पालना गर्नु अनुरोध गरेका छन् ।

एक हप्ता देखि रिल्याक्समा छौं : डा. पुन

सरुवा रोग विज्ञ चिकित्सक डा. शेरबहादुर पुनले विगत एक हप्तादेखि चिकित्सकहरु केही ‘रिल्याक्समा’ भएको बताए । संक्रमण तिब्र रुपमा बृद्धि हुँदा अस्पतालमा पनि केही त्रास उब्जिएको थियो । तर, निरन्तर केस घट्न थालेपनि नागरिकको त्रास कम भएसँगै हामी पनि रिल्याक्समा छौं । यो अस्ता अस्पतालमा बिरामीहरु छिटफुट मात्रै गएका थिए ।

ओमिक्रोन धेरै छिटो फैलन भएकाले त्यही अनुपातमा ओराला लाग्न थालेको उनको बुझाइ छ । डा. पुन भन्छन्, ‘अस्पतालमा रिल्याक्स भएपनि घरमा बसेकाहरुको संख्या ज्यादै ठूलो छ । त्यसैले उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा कसरी रेखदेख गर्ने भन्ने ठूलो चुनौती छ ।

कुनै पनि बेला यसले ठूलो रुप लिएको खण्डमा समस्या आउँन सक्छ । ह्वात्तै अस्पतालमा केस बढ्न पनि सक्छन् । घर घरमा केस पुगेको मात्रै छैन, बृद्धबृद्धा र दीर्घरोगी यसमा चपेटामा छन् ।’,

१४ दिनको संक्रमणदर

माघ ८ गतेः ५०

माघ ९ गते : ३७

माघ १० गते :४८

माघ ११ गते : ४६

माघ १२ गते : ४१

माघ १३ गते :३६

माघ १४ गते :३४

माघ १५ गते :३३

माघ १६ गते :२६

माघ १७ गते :३२

माघ १८ गते :३१

माघ १९ गते :३१

माघ २० गते :२५

माघ २१ गते : २२

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ