सचिवमा बढुवा लागि निरौला, सिंह र खनालको नाम सिफारिस


काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिले रिक्त रहेको एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीनजना सहसचिवको नाम सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव शिशिरकुमार ढुंगानाले अनिवार्य अवकाश पाएपछि रिक्त रहेको उक्त एक सचिव पदका लागि बढुवा समितिले सहसचिवहरु क्रमशः मुकुन्द प्रसाद निरौला, विनोद प्रकाश सिंह र गोपीकृष्ण खनालको नाम सिफारिस गरेको हो ।

लोकसेवा आयोगका अध्यक्ष रेग्मी बाहिर रहेको सचिव बढुवाको सिफारिस नहुँदा सोमबारको मन्त्रिपरिषद्को बैठकमा सचिव बढुवाको एजेन्डा नै गएन । अब बिहीबार बस्ने नियमित मन्त्रिपरिषद्को बैठकले सचिव बढुवाको निर्णय गर्ने देखिन्छ ।

लुम्बिनी (५ नम्बर) प्रदेशको स्वास्थ्य हेर्नेगरी सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी समेत सम्हालेका खनाल पहिलोपटक सचिवमा सिफारिस भएका हुन् । निरौला चारपटक र सिंह दुईपटक सचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन् । सचिवमा सिफारिस भएका निरौला गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख हुन् । यो महाशाखा उत्यान्तै संवेदनशील र महत्त्वपूर्ण मानिन्छ । उनीभन्दा पछाडिका सहसचिव शंकरप्रसाद खरेल सचिवमा बढुवा भइसकेका छन् । दुई दिने सचिव बनाउन खरेललाई बढुवा गर्दा प्रशासनिक वेथिति र क्रमभंगता भएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ । निरौलासँगै सचिव बढुवाका लागि सिफारिसमा परेका कृष्णबहादुर राउत, शंकरप्रसाद खरेल र रामेश्वर दंगाल सचिवमा बढुवा भइसकेका छन् । अब चौथोपटक सचिव हुने दौडमा छन् ।

फागुन २३ गते ४९ वर्ष पुग्न लागेका सहसचिव निरौला सचिवको हैसियतमै जन्मदिन मनाउने कसरतमा छन् । तर योपटक पनि सचिव बढुवाका लागि चलखेल सुरू भएको छ ।

दोस्रोपटक सचिव बढुवाका लागि सिफारिस भएका सिंह क्रमभंगता गरेर सचिवमा बढुवा भई गृह मन्त्रालय जाने चलखेलमा लागेका छन् । उनी फेरि पनि खरेल प्रवृत्तिबाट छिर्के दाउ हानेर यसैपटक सचिवमा बढुवा हुने चलखेलमा लागेको चर्चा छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका सिंह निजामतीमा ५८ वर्षे उमेर हद रहिरहे यसैपटक सचिवमा बढुवा भए ४ वर्ष सचिव हुने छन् ।

सरकारले घोषणा गरेको चुनाव मिति वैशाख ३० भन्दा ५ दिन अगाडि सिंह ५४ वर्ष पुग्दैछन् । त्यसैले उनी जसरी भएपनि यसैपटक सचिवमा बढुवा हुन लागिपरेका छन् ।

सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पीएलजीएसपी)को राष्ट्रिय कार्यक्रम निर्देशक खनाल ५८ वर्ष पुग्ने साढे दुई वर्ष देखिन्छ । उनी २०७८ सालमा बढुवा हुने सम्भावना पनि अत्यान्तै न्यून छ । खनालपछि ललितपुरको प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्याय, राधिका अर्याल, दीपक काफ्लेहरू सचिवमा बढुवा हुने पाइपलाइनमा रहेका छन् ।

क्याटेगोरी : प्रदेश
ट्याग : #कृष्ण राउत, #गोपीकृष्ण खनाल, #धनश्याम उपाध्याय, #माधव प्रसाद रेग्मी, #मुकुन्द प्रसाद निरौला, #राधिका काफ्ले, #रामेश्वर दंगाल, #लोकसेवा आयोग अध्यक्ष, #विनोद सिंह, #सचिव बढुवा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ