अखाद्य बिस्कुट बेचेर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड
काठमाडौं । “स्पर्श मह’ उत्पादकको अखाद्य बिस्कुट उत्पादन एवं बिक्रीवितरण गरेर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको पाइएको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले अखाद्य बिस्कुट बेच्ने कम्पनीलाई सिल गरेको छ ।
महाशाखाको टोलीले ३ वर्ष पुरानो म्याद नाघेका कुकिजहरुबाट पुनः बटर चकलेट, काजु कुकिज बनाई बिक्रीवितरण गर्दै आएको फेला पारेको हो । अत्यधिक सडेगलेका पाउरोटीहरुलाई सुकाएर पुनः कुकिज बिस्कुटहरु बनाई बेच्ने गरेको समेत महाशाखाले जनाएको छ । त्यस्तै म्याद नाघेका पाउरोटीलाई पुनः धुलो बनाई बजारमा क्रन्चि तथा चिकेन रोष्ट बनाउन प्रयोगमा ल्याएको पाईएको प्रहरीको महानगरीय अपराध महाशाखाको भनाइ छ ।
प्रहरीका अनुसार ललितपुर जिल्लाको सुनाकोठी स्थितमा केहि व्यक्तिहरुले अखाद्य बस्तुहरुको उत्पादन एवं विक्रि वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा महाशाखाबाट टोली खटिएको थियो ।
गुणस्तरहीन मह बेचेको अभियोगमा गत माघ ६ गते पक्राउ कारबाहीका लागि पठाइएका नरबहादुर श्रेष्ठले ललितपरको सुनकोठीमा अखाद्य बिस्कुट उत्पादन गरेर बिक्रीवितरण गर्दै आएको प्रहरीले फेला पारेको हो ।
काठमाडौं ज्याठामा बस्ने सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिकाका ४४ वर्षीय श्रेष्ठले अखाद्य बिस्कुट उत्पादन गरी बेचेर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गर्ने गरेको देखिन्छ ।
‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रा.लि.’ र ‘श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रा.लि.’ का नाममा खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति समेत नलिई विगत ३ वर्ष देखि म्याद नाघेका र बजारमा बिक्रि बितरण नभई फिर्ता भएका कुकिज बिस्कुट तथा सडेगलेका पाउरोटीहरुलाई पुनः धुलो बनाई कुकिज टोष्ट तथा अन्य बिस्कुटहरु बनाई बजारमा बिक्रीवतरण गर्दै आएको फेला परेेको प्रहरीको अपराध महाशाखाले जनाएको छ ।
खाद्य तथा गुण नियन्त्रण विभाग बबरमहल समेतको रोहबरमा उल्लेखित दुवै कम्पनीबाट उत्पादित सबै अखाद्य सामग्री तथा कच्चा पदार्थहरु स्थानीय जनप्रतिनिधिहरु समेतको उपस्थितिमा नष्ट गरिएको अपराध महाशाखाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रा.लि.’ लाई सिल गरि खाद्य तथा गुण नियन्त्रण बिभाग बबरमहलबाट कारबाही एवं आवाश्यक अनुसन्धान कार्य भइरहेको महाशाखाको भनाइ छ ।
प्रहरीले नष्ट गरेको अखाद्य सामाग्रीहरुः
भेनेगर ५४ कार्टुन, चिनी ३० कार्टुन, क्रसर पाउडर ७ कार्टुन, सुप १० कार्टुन, अजिना मोटो ३८५ बोरा, बेकिङ पाउडर ९५ कार्टुन, कोका ३ कार्टुन, ईष्ट ४५ कार्टुन, सोसा सस ६ कार्टुन, चिउरा ३८ वोरा, चकलेट पाउडर ४० बोरा रहेको छ । त्यस्तै Tempor २० कार्टुन, Acetic Acid ७ ड्रम, Crofter पाउडर ७ कार्टुनलगाएतका सामग्रीहरू नष्ट गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस