कोरोनामा उत्कृष्ट सेवा दिएका एपीएफ अस्पतालका प्रमुख डा. रुपकलाई डीआईजी पुरस्कार !


काठमाडौं। कोरोना भाइरस (कोभिड-१९)को उच्च संक्रमणको बेला उत्कृष्ट सेवा दिएका एपीएफ अस्पतालका प्रमुख एसएसपी डा. रुपक महर्जनलाई डीआईजी पुरस्कार मिल्ने भएको छ ।

कोरोनाकालमा संक्रमितलाई उत्कृष्ट सेवा दिएर अब्बल स्थापत  गराउन सफल सशस्त्र प्रहरी बल (एपीएफ) अस्पताल  प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. रुपक महर्जनलाई बढुवा गर्ने गरी सशस्त्र प्रहरीमा स्वास्थ्यतर्फको प्रविधिक पदमा १ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक(डीआईजी)को दरबन्दी थपिएको छ । उक्त डीआईजीको दरबन्दीमा डा. रुपक एकमात्र दाबेदार रहेकाले उनको बढुवा हुने निश्चित जस्तै भएको छ ।

सशस्त्र प्रहरी बल उच्च स्रोतका अनुसार थपिएका पदमा चाँडै बढुवा प्रक्रिया सुरू हुने र डा. रुपकलाई प्रविधिक डीआईजीमा बढुवा गर्ने तयारी भइरहेको छ । नेपाल प्रहरी अस्पतालमा प्राविधिक एआईजीको दरबन्दी छ । कोरोनाकालमा कोभिड संक्रमितको सेवामा उत्कृष्ट सावित भएको सशस्त्र प्रहरी अस्पतालमा मन्त्रिपरिषद्‌ले भर्खर डीआईजीको दरबन्दी थप गरेको हो ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा गठित संगठन तथा सर्वेक्षण व्यवस्थापन समितिको सिफरिस बमोजिम मन्त्रिपरिषद्ले सशस्त्र प्रहरीमा दुई प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)सहित १ सय १२ वटा दरबन्दी थप गर्न स्वीकृति दिइसकेको छ ।

संगठन तथा सर्वेक्षण व्यवस्थापन समितिमा सशस्त्र प्रहरीका भावी आईजीपीको रुपमा हेरिएका डीआईजी राजु अर्याल समेत रहेका थिए । सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा हुँदा एपीएफ अस्पताललाई अब्बल बनाउन महत्त्वपूर्ण योगदान दिएका डीआईजी अर्यालको पनि स्वास्थ्य प्रविधिकतर्फ १ डीआईजी, २ एसपी र २२ जना सई दरबन्दी थप गर्न भूमिका रहेको स्रोतको भनाइ छ । सशस्त्र प्रहरी अस्पतालको व्यापक विस्तार र सुविधा सम्पन्न भएको र अस्पतालको उचित व्यवस्थापन गर्न उक्त दरबन्दी आवश्यक रहेको सशस्त्र प्रहरी उच्च स्रोतको भनाइ छ ।

डा. रुपकको नेतृत्वमा रहेको नेपाल एपीएफ अस्पतालले कोभिड-१९ को संकटमा उत्कृष्ट सेवा दिएको भन्दै  ‘बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मान’ समेत प्रदान गरिसकेका छ ।

सशस्त्र प्रहरी थप गरिएको दुई दरबन्दीमा स्वास्थ्यमा १ जना र सञ्चार तथा इन्जिनियरिङतर्फ १ जना रहेको छ  । थप गरिएको  स्वास्थ्यतर्फको प्रविधिक डीआईजीमा डा. रूपक र इन्जिनियरिङ तथा सञ्चारतर्फको डीआईजीमा बढुवाका लागिप्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप थापा मात्र दाबेदार रहेकाले उनीहरू नै बढुवा हुने निश्चित छ ।कानुनतर्फ एक एसएसपी, लेखातर्फ १० डीएसपी र १० इन्सपेक्टरको दरबन्दी थप गरिएको हो ।

 सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालको यही चैतमा ४ वर्ष सेवा अवधिका कारण अवकाश हुन लागेको र स्थानीय तहसहित एकपछि अर्को निर्वाचन आउन लागेका द्रूत गतिमा सशस्त्र प्रहरीको थपिएका दरबन्दीमा बढुवा गर्न लागिएको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #आईजीपी शैलेन्द्र खनाल, #एपीएफ अस्पताल, #एसएसपी, #डा. रुपक महर्जन, #डीआईजी, #दरबन्दी थप, #राजु अर्याल, #सशस्त्र प्रहरी बल, #सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप थापा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ