टेस्टट्युब बेबीको अवैध धन्दा रोक्ने प्रयासमा स्वास्थ्य मन्त्रालय
अनुमति नलिई सञ्चालनमा रहेका टेस्टट्युब बेबी सेन्टरहरुलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन

काठमाडौं । अनुमति नलिई सञ्चालित टेस्टट्युब बेबी (आईभीएफ) सेन्टरको अवैध धन्दा रोक्ने प्रयासमा स्वास्थ्य मन्त्रालय लागेको छ । अनुमति नलिई सञ्चालनमा रहेका टेस्टट्युब बेबी सेन्टर बन्द गर्ने चेतावनी दिँदै दर्ता प्रक्रियामा आउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेस्टट्युब बेबी सेन्टर सञ्चालन गर्न अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै अनुमति नलिई सञ्चालनमा रहेका टेस्टट्यूब बेबी सेन्टरहरुलाई १५ दिन भित्र दर्ता प्रक्रियामा आउन समय सीमा दिएको छ । १५ दिनभित्र पनि निवेदन नदिने अवैध टेस्टट्यूब बेबी सेन्टरहरुलाई बन्द गराउने मन्त्रालयले जनाएको छ ।
‘टेस्टट्युब बेबी सेन्टरहरु सञ्चालन गर्न यस मन्त्रालयबाट इजाजतपत्र लिनुपर्ने कानुनी व्यवस्था रहेको हुँदा अन्य निकायबाट अनुमति लिई वा नलिई सञ्चालनमा रहेका त्यस्ता सेन्टरहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको १५ यस मन्त्रालयमा निवेदन दिनुहुन सबैको जानकारीको लागि यो सूचनामा प्रकाशित गरिएको छ’, स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ । सो अवधिभित्र दर्ता प्रक्रियामा नआए कानून बमोजिम कारबाही हुने स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति छ ।
जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालनका लागि नियमावलीको अनुसूची ९ अनुसार स्वास्थ्य संस्थाले इजाजतपत्र लिनुपर्ने कानूनी व्यवस्था रहेको मन्त्रालयको सूचनामा उल्लेख छ ।
स्वास्थ्य लाइभले टेस्टट्युब बेबीको अवैध धन्दा चलिरहेको समाचार प्रकाशित गरेपछि स्वास्थ्य मन्त्रालयले १५ दिने सूचना निकालेर टेस्टट्युब बेबीको अवैध धन्दा रोक्ने कदम चालेको हो ।
क्याटेगोरी : समाचारट्याग : ## अवैध धन्दा, #आइभीएफ, #कारबाही, #टेस्टटुयुब बेबी, #सूचना, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
तपाईको प्रतिक्रिया दिनुहोस