‘लुकेर’ मेडिसिटी अस्पतालमा काम गर्ने डा. ओमबिजु पन्त अझै सरकारी सेवामा


काठमाडौं । सरकारलाई जानकारी नै नदिई ‘लुकेर’ नेपाल मेडिसिटी अस्पताल, भैसेपाटीमा काम गरिरहेका सरकारी डाक्टर ओमबिजु पन्तलाई अझै सेवाबाट बर्खास्त गरिएको छैन ।

९० दिनभन्दा बढी जानकारी नै नदिई कार्यालय र काम छाड्ने सरकारी कर्मचारी सरकारी सेवाबाट हट्ने व्यवस्था छ । तर डा. पन्त ३ वर्षदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पदाधिकार रहेको कोशी अस्पतालसँग सम्पर्कबिहीन रहेको पाइन्छ । तीनवर्षदेखि कोशी अस्पताल छाडेर नेपाल मेडिसिटी अस्पतालमा काम गर्न हिँडेका पन्त अहिलेसम्मपनि सरकारी सेवामै रहेकाे देखिन्छ ।

मन्त्रालयले पन्तलाई विदा स्वीकृत नगराई सेवामा अनुपस्थित रहेकाले सेवाबाट बर्खास्त गर्न स्पष्टीकरण सोध्न सार्वजनिक सूचना जारी गरेकोपनि तीनमहिना भइसकेको छ । तर स्वास्थ्य मन्त्रालयले उनलाई शक्तिको आडमा बर्खास्त गर्न सकेको छैन ।

स्वास्थ्य मन्त्रालयले कोशी अस्पतालका कन्सलटेन्ट रेडियोलोजिष्ट डा. पन्तलाई स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (१)(ज) को कसुरमा सोही ऐनको दफा ७२(ख)१ बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी बर्खास्त गर्ने प्रक्रिया अघि बढाएको थियो ।

मन्त्रालयले उनलाई गत मंसिर २१ गते स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (१) ज को कसुरमा कारवाही किन नगर्ने ? नगर्नुपर्ने कुनै कारण भए सुबद प्रमाणसहित ७ दिनभित्र स्पष्टीकरण पेस गर्न सार्वजनिक सूचनामार्फत भनेको थियो । ‘लुकेर’ मेडिसिटीमा काम गरिरहेका सरकारी डाक्टर पन्तले स्पष्टीकरण पेश गरिसकेको मन्त्रालयको सम्बन्धित शाखाले जनाएको छ । तर मेडिसिटी अस्पतालमा काम गर्ने भएकाले शक्ति केन्द्रको दबाबमा डा. पन्तलाई बर्खास्त गर्न नखोजिएको मन्त्रालयका अधिकारीहरूको दाबी छ ।

सबै प्रक्रिया पुगिसक्दा पनि नेपाल मेडिसिटीमा कार्यरत सरकारी डाक्टर पन्तलाई बर्खास्त नगर्नुले चलखेल भएको आशंका गर्ने आधार मिलेको छ ।

आयुर्वेद निरीक्षक दुवाडी बर्खास्त

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङकी वैद्य निरीक्षक शोभा दुवाडीलाई सरकारी सेबाबाट बर्खास्त गरेको छ ।  मन्त्रालयले एक सूचना निकाल्दै भविष्यमा स्वास्थ्य सेवाका निमित्त अयोग्य ठहरिने गरी वैद्य निरीक्षक (छैठौ तह)की कर्मचारी दुवाडीलाई बर्खास्त गरेको हो।

पुस ११ गतेदेखि नै लागू हुने गरी वैद्य निरीक्षक दुवाडीलाई भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी  सेवाबाट बर्खास्त गरिएको मन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ । यता लुकेर मेडिसिटी अस्पतालमा काम गरिरहेका पन्तको हकमा भने मन्त्रालयले बर्खास्त गर्ने छाँट देखाएको छैन ।

क्याटेगोरी : समाचार
ट्याग : ## कोशी अस्पताल, ## डा. ओमबिजु पन्त, #कन्सलटेन्ट रेडियोलोजिष्ट, #नेपाल मेडिसिटी अस्पताल, #लुकेर काम गर्ने, #वैद्य निरीक्षक शोभा दुवाडी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य सेवाबाट बर्खास्त

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ