अन्तर्राष्ट्रिय नारी दिवस विशेष

स्वास्थ्यको नीतिगत तहमै महिलाको शानदार उपस्थिति


काठमाडौं । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । सरकारले आज महिलाहरुको सम्मान स्वरुप सार्वजनिक बिदा दिएको छ । नारी दिवस पनि भनिने आजको दिनमा नेपालको परिवेश हेर्दा राष्ट्रपतिदेखि स्वास्थ्य सचिवसम्म भूमिकामा महिलानै रहेको अवस्था छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था हेर्दा माथिल्लो  तहमा महिलाहरुको उल्लेख उपस्थिति देखिन्छ । अहिले त स्वास्थ्यको नीतिगत तहमै नारीहरूको शानदार उपस्थिति र हस्तक्षेप देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रशासन हेर्ने सचिव देवकुमारी गुरागाईं, स्वास्थ्य मन्त्रालयको महत्त्वपूर्ण महाशाखा मानिने अन्तर्राष्ट्रिय समन्वय महाशाखामा डा. संगिता कौशल मिश्रादेखि मन्त्रालय मातहतको नीतिगत तहका समेत महिलाहरुको उल्लेख्य हस्तक्षेप रहेको देखिन्छ ।

स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञमा डा. मिश्राको नाम निकै चर्चामा रह्यो । डा.सुधा देवकाेटा, डा. प्रभा चापागाईं काेइराला, गाेमादेवी निराैला र डा. शैली प्रधानले पनि स्वास्थ्यको प्रमुख विशेषज्ञ ( बाह्रौं तह)मा दाबी गरेका थिए । स्वास्थ्यमा महिलाको उपस्थिति हेर्दा नारी दिवसले सार्थकता पाउने देखिन्छन् ।

यी हुन् स्वास्थ्यमा चम्किएका महिला

देवकुमारी गुरागाईं

सचिव

देवकुमारी गुरागाईं अहिले स्वास्थ्य मन्त्रालय मन्त्रालयको प्रशासन तथा जनसंख्या हेर्ने सचिवको भूमिकामा छिन् । २०७५ फागुन २६ गते सचिवमा बढुवा भएकी देवकुमारी यही फागुनमा स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फको सचिवको जिम्मेवारी सम्हाल्ने गरी स्वास्थ्य मन्त्रालयमा सरुवा भएर आइपुगेकी हुन् ।

प्राविधिक सहायक, अधिकृत, उपसचिव, सहसचिव हुँदै सचिवमा पनि गुरागाईं विविधतर्फ शिक्षा सेवाको शिक्षा प्रशासनबाटै बढुवा भएकी हुन् । सचिव भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय(पीपीएमओ) हुँदै उनी स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फको सचिवको भूमिकामा आइपुगेकी छिन् । २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फको सचिवमा सरुवा गरेर पठाएको हो ।  २०२८ सालमा तेह्रथुममा जन्मिएर मोरङमा हुर्किएकी स्वास्थ्य मन्त्रालयमा सरुवा भएकी सचिव गुरागाईं अहिले स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारीमा छिन् । २०५१ सालमा प्राविधिक सहायकबाट सरकारी सेवा( निजामती)मा प्रवेश गरेकी देवकुमारीसँग शिक्षक किताब खाना, शैक्षिक जनशक्ति विकास केन्द, सानोठिमीमा निर्देशक, क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलको नेतृत्व समेत सम्हालेको अनुभव छ । २०५५ मा शाखा अधिकृत २०६४ मा उपसचिव, २०६४ मा शिक्षा सेवा, शिक्षा प्रशासनको सहसचिवमा हुँदै २०७५ मा सचिवमा बढुवा भएकी हुन् ।

डा. संगित मिश्रा

प्रवक्ता एवं सहसचिव

कोरोना भाइरस कोभिड १९ लाई परास्त गर्न घर परिवार नभनी जनताको सेवामा खटिएकी एक कर्मठ सिपाही डा. संगिता मिश्रा पनि हुन् । कोभिड सुरु हुदा उनी पूर्वको कोशी अस्पतालको मेडिकल सुपरीटेन्डेन्ट थिइन् । भारतसँग सीमा जोडिएका कारण पनि कोशी महामारीमा जोखिम थियो । कोही कर्मचारी जाँन मानेका थिएनन् । तर, डा. मिश्राले कोभिडसँगको प्रत्यक्ष फाइटबाटै सयौं बिरामी बचाइन् ।

कोभिडको सुरुवाती चरण भएकाले आम मानिसमा त्रास थियो । जमातीहरूलाई कोरोना पोजेटिभ आयो भने उनीहरूको समुदायमाथि विभिन्न प्रकारका लान्छना आउन सक्छन् । समाजमा मुस्लिमहरूलाई गाह्रो पनि हुन सक्छ । मुस्लिम समुदायका अगुवाहरूलाई बोलाएर सहयोग मागिन् ।

समाजको शान्ति–सुरक्षाको विषयमा चिन्तित भएर पहल गर्नु पर्ने जिम्मेवारी कोरोनाविरूद्ध लडिरहेका अस्पताल प्रमुखको नभएर प्रहरीको हो । तर, डा मिश्राले एउटा जिम्मेवार चिकित्सक भएर समाजको शान्ति सुव्यवस्था कायम राख्न भूमिका खेलिन् । महामारीका बेला सम्भवतः पहिलोपटक उनी अस्पताल प्रमुखको जिम्मेवारी सम्हाल्दै थिइन् ।

देशभरका निजी देखि सरकारी अस्पतालले गेट बन्द गरेर बस्दा अरू बिरामीका लागि पनि अस्पताल खुलै राख्ने निर्णय डा मिश्राले गरिन् । डा संगीता परिस्थिति अनुसारको जोखिम लिन सक्ने साहसिक महिला हुन् । तर, पछिल्लो समय स्वास्थ्य मन्त्रालयमा आएपछि उनी केही बरालिएको होकी भन्ने अनुभूति भएको छ ।

प्रा. गोमादेवी निरौला 

सहसचिव, नर्सिङ महाशाखा 

गोमादेवी निरौलाले नर्सिङ केयर सुधार गर्नलाई कोचिङ मेन्टोरिङ भन्ने कार्यक्रम सुरु गरिन् । सामान्य बिरामीका लागि नर्सिङ केयरलाई कसरी गुणस्तरीय रुपमा सुधार गर्ने भन्ने विषयमा क्षमता वृद्धिका कार्यक्रम चलाईएको छ । नर्सहरुले दिने सेवाको गुणस्तरमा कुनै कमी नहोस् भनेर यो कार्यक्रम राखिएको हो । नर्सिङ महाशाखा मार्फत सामुदायिक घरदैलो नर्सिङ कार्यक्रम सुरु गरेको छ । परीक्षणका लागि भक्तपुर नगरपालिका र बर्दिबास नगरपालिकामामा सुरु भएको छ ।

बि.स २०४६ साल अगाडी नर्सिङ शिक्षामा केटाहरुले पनि पढ्न पाउथे । तर, पछिल्लो समय हटाइयो । यसले नर्सिङ शिक्षामा पक्षपात भएको ठहर गर्दै निरौला नेपाल नर्सिङ काउन्सिलको अध्यक्ष हुुँदा केटाहरुले पनि पढ्न पाउने व्यवस्था गरियो । उनको निर्णयसँग हरेक नर्सिङ कलेजमा १५ प्रतिशत केटाहरुले पनि नर्सिङ पढ्न पाउने व्यवस्था गरियो ।  यसमा निरौलाको महत्त्वपूर्ण योगदान र भूमिका रहेको छ ।

नेपालमा मिडवाइफ्रीको पठनपाठन सन् २०१६ देखि सुरु भएको हो । यसको लाइसेन्स सुरुवात पनि निरौलाकै पालामा भएको हो । १० बर्षे नर्सिङ तथा मिडवाइफ्री रणनीति तयार भएको छ । अघिल्लो नेतृत्वले सुरु गरेको कामलाई निरौलाले सम्पन्न गराएकी छन् ।

डा. रुणा झा 

 निर्देशक (सहसचिव), राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला 

कोरोना भाइरस (कोभिड१९)को नियन्त्रणमा अग्रस्थानमा रहेर देशभरका प्रयोगशालाको नेतृत्वदायी भूमिका सफलता पूर्वका निभाउने महिला हुन् डा. रुणा झा । कोभिडमा काम गर्ने उत्कृष्ट ५ महिलामध्ये नेपालबाट डा. झा पनि परेकी थिइन् । संयुक्त राष्ट्रसंघको यूएन वुमेनले कोरोना भाइरस नियन्त्रणका अग्रस्थानमा रहेर काम गरिरहेको ५ महिलाको सूचीमा डा. झालाई राखेको थियो ।

कोभिड १९ महिलाहरुको जीवनमा विभिन्न खाले चुनौती आइरहेको छ । सयौं चुनौतिका बाबजुत कोभिड-१९ को नियन्त्रणका लागि अग्रस्थानमा रहेर जिम्मेवारी निभाएकी थिइन् । नेपाल जस्तो देशमा स्रोत साधन र जनशक्तिको अभावकाबिचमा पनि झाले कोरोना भाइरस परीक्षणमा देखाएको नेतृत्वदायी भुमिकाको कुनै कोणबाट प्रशंसा गरेपनि कम हुन्छ ।

यशोदा अर्याल

सहसचिव, स्वास्थ्य मन्त्रालय

स्वास्थ्य सेवाको नवौं तहबाट सरकारी सेवा प्रवेश गरेकी यशोदा अर्याल कर्मशिल कर्मचारी हुन् । जति समय कार्यालयमा  रहन्छिन् इमानदारिताका साथ काम गर्छिन् । स्वास्थ्य मन्त्रालयको अन्तराष्ट्रिय विकास समन्वय शाखामा रहेर उनले कोभिड-१९ महामारीका बेला उत्कृष्ट काम गरिन् ।

कोभिडको चपेटासँगै पढाइलाई अगाडी बढाएकी उनले महामारीकै समयमा गत मंसिरमा ११ औं तह अर्थात् सहसचिवमा नाम निकालिन् । पुरुषबादी सोच भएको स्वास्थ्य मन्त्रालय त्यसमा पनि अन्तर्राष्ट्रिय सहयोग समन्वय शाखामा कोभिड-१९ को समयमा काम गर्नु उनका लागि निकै चुनौतीपूर्ण थियो । तर, उनले इमानदारिताका साथ कार्यन्वयन गर्न भूमिका खेलिन् । भलै अहिले भने उनलाई कामको जिम्मेवारी दिएको छैन ।

रोशनी लक्ष्मी तुईतुई

सहसचिव, वीर अस्पताल

रोशनी लक्ष्मी तुईतुई नर्सिङ क्षेत्रमा निकै अब्बल सहसचिवका रुपमा परिचित छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सह सचिव भएपछि स्वास्थ्य मन्त्रालय पुगेकी उनले स्वास्थ्य मन्त्रालयको ओएनएम गर्दा नर्सिङ क्षेत्रको दरबन्दी र एउटा महाशाखा स्थापना गराउँन सफल भइन् । उनलाई मन्त्रालयमा रहेका दुई नर्स कविता अर्याल र अमृता पहाडीले काँद थापेका थिए ।

नर्सिङ महाशाखा किन चाहियो भनेर पटकपटक प्रश्न गर्ने मन्त्रालयका पुरुषहरुलाई तर्कले घुडा टेकाएर तुइतुइले एउटा नयाँ महाशाखा स्थापना गराउन सफल भइन् । त्यसको नाम नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा राखिएको छ । उक्त महाशाखाको नेतृत्व नर्सहरुले मात्रै गर्न पाउने व्यवस्था छ ।

विसं २०७५ मा स्थापना भएको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले नर्सिङ, मिडवाइफरी, विद्यालय स्वास्थ्य र विभिन्न पक्षको योजना, समन्वय, पर्यवेक्षण, अनुगमन र सहजीकरणलगायत नर्सिङको क्षमता विकास र व्यावसायिकताको माध्यमबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने जिम्मेवारी दिएको छ ।

उनीसँगै रहेर काम गर्ने कविता अर्यालको पनि नर्सिङ क्षेत्रकाे नीतिगत व्यवस्थामा सुधार र स्थापित गराउन ठूलो भूमिका रहेको छ । कम्युनिटि नर्सिङ लाई स्थापित गराउनदेखि ९ तहसम्म दरबन्दी बनाउन अर्यालले ठूलो लडाइँ लडेकी छिन् ।

रिता जोशी भण्डारी
सचिव, सुदुरपश्चिम प्रदेश

सरकारले सहसचिव रिता जोशी भण्डारी कर्मचारी समायोजन ऐन, २०७५ लाई टेकेर हेटौंडा पोष्टिङ गरेको थियो । भण्डारीले  अदालतको स्टे–अर्डर लिएर प्रदेशबाट संघमा आउन सफल भइन् । यद्यपि सर्वोच्चको अदालतको पूूूर्ण इजलासले समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारी संघमा आउन नपाउने फैसला गरिसकेको छ ।

अदालतबाटै स्टे–अर्डर लिएर संघमा फर्किएकी जोशीले मन्त्रालयको आकर्षक महाशाखा मानिने अन्तर्राष्ट्रिय समन्वय महाशाखाको जिम्मेवारी लिन सफल भइन । उक्त महाशाखामा बसेर प्रवक्ताको भूमिका निर्वाह गर्न नसके पछि उनलाई छोटो समयमा हटाईयो । तर, अहिले उनी सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवको भूमिकामा छिन् ।

डा. राधिका थपलिया
सहसचिव
डा. राधिका थपलिया स्वास्थ्य सेवाको एघारौं तह सहसचिव हुन् । सरकारले कर्मचारी समायोजन ऐन, २०७५ लाई टेकेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सहसचिव डा.  थपलियालाई कर्णाली प्रदेश सुर्खेतको तालिम केन्द्र पठाएको थियो । तर डा. थपलियाले तालिम केन्द्र खारेज भएको कारण देखाउँदै सर्वोच्च अदालतमा रिट हालिन । उनको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश (स्टे–अर्डर) दिएपछि थपलिया प्रदेशबाट संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता आइन् ।

स्वास्थ्य बिमा बोर्ड, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा छोटो समय मात्रै काम गर्न पाइन् । जसले गर्दा अरुले झै कामको प्रगति देखाउन सकिनन् ।  स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक रहँदा संगठनको अस्थायी संरचना बनाउनदेखि त्रिवि शिक्षण अस्पताललाई बिमामा आवद्ध गराउने काम उनैले गराइन् । उनले स्वास्थ्य शिक्षालाई प्रवद्र्धनात्मक रुपमा अगाडि बढाउने योजना समेत बनाएकी थिइन् ।

भेरी अस्पतालमा कार्यरत दुर्गा श्रेष्ठ डा. शैली प्रधान, डा. कल्पना उपाध्याय सुबेदी डा वीना प्रजापति डा. निशाज्योति श्रेष्ठ, डा रोहिनी सिग्देल , डा. डेला सिंह, डा. ममता कोइराला, वर्षा थापा, लिली श्रेष्ठ, शिलु श्रेष्ठ, डा. माया लामा पनि स्वास्थ्यको नीतिगत तहमा हस्तक्षेप गर्न सक्ने भूमिकामा पुगेका महिला हुन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## डा. रुणा झा, #अन्तर्राष्ट्रिय नारी दिवस विशेष, #गोमादेवी निरौला, #डा रोहिनी सिग्देल, #डा. कल्पना उपाध्याय सुबेदी डा वीना प्रजापति डा. निशाज्योति श्रेष्ठ, #डा. डेला सिंह, #डा. ममता कोइराला, #डा. माया लामा, #डा. राधिका थपलिया, #डा. शैली प्रधान, #डा. संगिता कौशल मिश्र, #देवकुमारी गुरागाइँ, #यशोदा अर्याल, #रीता जोशी भण्डारी, #रोशनी लक्ष्मी तुईतुई, #लिली श्रेष्ठ, #वर्षा थापा, #शिलु श्रेष्ठ, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ