स्वास्थ्य लाइभ निगरानी

 विशेषज्ञ चिकित्सक बिनै निदान अस्पताल संचालनमा, कसरी पायो संचालन स्वीकृती !


काठमाडौं । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७० मा निजी अस्पतालहरुले पूरा समय ‘फूल टाइम’ काम गर्ने चिकित्सक राख्नुपर्ने प्रावधान स्पष्ट उल्लेख गरेको छ । मापदण्ड अनुसार फूल टाइम विशेषज्ञ चिकित्सक राखेको छैन भने, अस्पताल नवीकरण रोकिन्छ । तर, नयाँ स्वास्थ्य संस्था सञ्चालन मापदण्डले यसलाई परिवर्तन गरेको छ ।

राज्य एकातिर गुणस्तरीय स्वास्थ्य सेवाको कुरा गर्दै हिँडेको देखिन्छ, सुनिन्छ । अर्कातिर भने गुणस्तरीय सेवा प्रवाहमा कानुनमै अवरोध गरेको देखिन्छ । नयाँ स्वास्थ्य संस्था सञ्चालन मापदण्ड अनुसार सरकार आफैंले  गुणस्तरीय सेवा पाउँनबाट बन्चित गराएको भान हुन्छ ।

हाल देशका एक आध निजी अस्पतालहरुबाहेक अन्यमा विशेषज्ञ चिकित्सक छैनन् । स्वास्थ्य लाइभले केही निजी अस्पतालहरुमाथि गरेको अनुसन्धानपछि विशेषज्ञ चिकित्सक बिनै सेवा प्रवाह गरेको देखिएको छ ।

नियम अनुसार विशेषज्ञ चिकित्सक पनि अस्पतालमा २४ घण्टा हुनुपर्छ । तर, निजी अस्पतालहरुले फूल टाइम विशेषज्ञ चिकित्सक बिनानै सेवा दिएको फेला परेको छ । पूरा समय काम गर्ने नर्स र मेडिकल अधिकृतले बिरामीलाई सेवा दिने गरेको पाइएको हो ।

निजी अस्पतालका माफियासँग मिलेर सरकार आफैले नागरिकलाई गुणस्तरीय सेवा पाउनबाट बन्चित गरिएको छ । तपाईँहरुलाई विश्वास नलाग्न सक्छ तर, निदान अस्पताल जाँनुहोस् उक्त अस्पतालसँग एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् ।

निदान ५० वेडको अस्पताल हो । तर, मेडिकल अधिकृत र नर्सको भरमा सेवा चलेको छ । ५० वेडको निदान अस्पतालमा एकैजना फूल टाइम चिकित्सक नभएको विवरण स्वास्थ्य लाइभसँग छ । तपाईंहरुसँग कति विशेषज्ञ चिकित्सक छन् भनेर हामीले अस्पतालका एचआर प्रमुखलाई सम्पर्क गरेरै सोधेका थियौं ।

निदान अस्पतालले आफूसँग ६८ जना विशेषज्ञ चिकित्सक भएको देखाएको छ । अस्पतालले पनि उक्त संख्या स्वीकार गरेको छ । कागजमा विशेषज्ञ चिकित्सक देखाएर अर्थ छैन । फिल्डमा पुर्णकालिन चिकित्सक छन्, छैनन् भन्नेमा प्रश्न हो । सरकारी चिकित्सकलाई ‘पार्ट टाइम’को चिकित्सक देखाएर निजी अस्पताल चलेका छन् ।

निदान अस्पताल एक प्रतिनिधि मात्रै हो । हामीसँग अन्य थुप्रै निजी अस्पतालका डकुमेन्टहरु छन् । निरन्तर जनतालाई जानकारी दिनेछौं । यसरी विशेषज्ञ चिकित्सकको भ्रम छरेर बिरामी ठग्ने निजी अस्पतालमाथि स्वास्थ्य मन्त्रालयले कडाई गर्नै पर्छ । जनता झुक्याएर बिरामीलाई सेवा नर्स र मेडिकल अधिकृतबाट दिने तर पैसा २४ सै घण्टा विशेषज्ञ सेवा भनेर लिने निजी अस्पताल माफियामाथि कारबाही जरुरी छ ।

हरेक वर्ष अस्पताल नवीकरण हुनुपर्छ । तर विशेषज्ञ चिकित्सक बिना कसरी त्यस्ता अस्पतालनविकरण भएका छन् गम्भीर प्रश्न स्वास्थ्य मन्त्रालयका अधिकारीमाथि तेस्रिएको छ । यसको जवाफ हामीले खोज्नेछौं ।

अधिकारीहरु भन्छन्, ‘पैसा पाएपछि स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीले यस्ता काम सहजै गर्छन ।’, हुनपनि त्यस्तै लाग्छ, नर्स र मेडिकल अधिकृतले पूरा समय काम गरेको भरमा कसरी मापदण्ड पुगेको देखाउन सकिन्छ । तर, मन्त्रालयका अधिकारीहरुले देखाएका छन् ।

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रर डा. कृष्ण अधिकारीले निजी स्वास्थ्य सस्थासँग विशेषज्ञ चिकित्सक नभएकाले संकटका बेला गेट बन्द हुने गरेको बताउँछन् । ‘जतिबेला देशलाई राष्ट्रिय संकट पर्छ निजी अस्पतालले सेवा दिन सक्दैनन्’, उनले स्वास्थ्य लाइभसँग भने ।

२०७२ सालको बिनाशकारी महाभूकम्प र कोभिडको महामारीमा निजी अस्पतालले एक जना चिकित्सक पनि राज्यलाई दिन सकेनन् । निजीमा काम गर्ने सबै सरकारी चिकित्सक मात्रै छन् ।

मन्त्रालयकै अधिकारी भन्छन्, ‘ संकटका बेला निजीले जनतालाई स्वास्थ्य सेवा दिन सक्दैनन् ।’, सरकारले आफ्ना चिकित्सकलाई कडाई गरेको खण्डमा निजी क्षेत्रका कयौं अस्पतालहरु बन्द हुने स्वास्थ्य मन्त्रालयका ती अधिकारीहरूको दाबी छ ।

अधिकारीहरुले बताए अनुसार फुर्सदको समयमा मात्रै निजी अस्पताल चलिरहेका छन् । जनतालाई ढाँटेर निजी क्षेत्रले कमाइ खाने भाडो बनाएका छन् । फुर्सदमा गएर निजीमा बिरामी हेरेका सरकारी चिकित्सकलाई आफ्नो मान्छे भन्दै निजीले नाम बेचिरहेका छन् ।

तर, हामी आम नागरिकलाई भ्रममा नपर्न आग्रह गर्छौ । यदी गुणस्तरीय स्वास्थ्य सेवा लिने भए जो-कोही वीर, अस्पताल वा अन्य शिक्षण संस्थामा जानु अति उत्तम हुन्छ । यदी समय अवधिभर खोजेको चिकित्सक नभेटिएको खण्डमा हामीलाई सम्पर्क गनुहोस् त्यस्ता चिकित्सककोबारेमा हामी खोजबिन गर्नेछौं ।

नियम अनुसार निजी अस्पतालमा पूरा समय काम गर्नेबाहेक पार्ट टाइम चिकित्सकको संख्या गन्न पाइँदैन । तर निदान लगायतका निजी अस्पतालले पार्ट टाइम चिकित्सकलाई देखाएर अस्पताल सञ्चालन गरिरहेक    गरेका प्रमाणहरु फेला परिरहेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ