डा. उप्रेतीले हडपेको बानेश्वरको ‘सरकारी’ जग्गामा पाठशाला स्कुलको रजाइँ

आदर्श कवि पराजुलीकै मिलेमतोमा सार्वजनिक प्रयोगमा रहेको जग्गा कब्जा गरेपछि स्थानीयहरू अख्तियारसम्म पुग्न बाध्य


काठमाडौं । बानेश्वर थापागाउँस्थित डा. प्रेमरमण उप्रेतीलगायतले हडपेको झन्डै १ रोपनी ‘सरकारी’ जग्गामा पाठशाला स्कुलको रजाइँ गरिरहेको छ ।

काठमाडौं महाागरपालिका वडा नम्बर १० थापागाउँ बानेश्वर लाखेचौर मार्गमा सार्वजनिक प्रयोगमा रहँदै आएको उक्त जग्गा पाठशाला स्कुलले पार्किङ गर्न थालेको छ ।  पाठशालाका स्कुलका सञ्चालक आदर्श कवि अर्जुनप्रसाद पराजुलीकै मिलेमतोमा सार्वजनिक प्रयोगमा रहेको जग्गा कब्जा गरेपछि स्थानीयहरू अख्तियारसम्म पुग्न बाध्य भएका छन् ।

५० सौं वर्षदेखि सार्वजनिक प्रयोगमा रहँदै आएको उक्त जग्गा एक्कासी पाठशाला स्कुलले जस्ताले घेरेर पार्किङ गर्न थालेपछि सरकारी जग्गा डा. प्रेमरमण उप्रेती र दिपकरमण उप्रेतीले हडपेको रहस्य खुलेको हो ।

अहिलेसम्म कसैले भोगचलन र खनजोत गर्ने आँट नगरेको थापागाउँको त्यो जग्गा पाठशाला स्कुलको कब्जामा पुगेपछि  खोजी गर्दा २०२१ सालको नापी अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित साबिकको महादेवस्थान ६( ख) सिट नम्बर १७२–११४६–०७ को कित्ता नम्बर ७९ को क्षेत्रफल १ रापनी १२ आना २ पैसा पर्ती उल्लेख भएको जग्गामध्ये कित्ताकाट भइ नयाँ कित्ता नम्बर १२७ को क्षेत्रफल १५ आना १ दाम जग्गा मालपोत कार्यालय डिल्लीबजारबाट २०५३ साल असार १२ गते डा. उप्रेती दाजुभाईको नाममा दुषित दर्ता गराएको देखिन्छ ।

भूमि अभिलेखालयबाट स्वास्थ्य लाइभलाई प्राप्त कागजातमा पर्ती उल्लेख भएको ठाउँमै केरमेट र किर्ते गरेर व्यक्तिको नाममा उक्त जग्गा दुषित दर्ता भएको प्रस्टै अनुमान लगाउन सकिन्छ ।

काठमाडौं मुटु बानेश्वर थापागाउँको सार्वजनिक प्रयोजनमा रहेको जग्गा पाठशाला स्कुलले उपभोग गर्न थालेपछि स्थानीयहरु सक्रिय भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगेका छन् ।

पाठशाला स्कुलका लागि महत्त्वपूर्ण ठाउँमा रहेको उक्त जग्गा स्कुलसँग जोडिएका कवि पराजुली र सिस्नोपानी नेपालका टंकराज आचार्यहरुको उक्साहटमा भाडामा लगाइएको स्थानीयको आरोप छ ।

पाठशाला स्कुलले कब्जा गरेपछि सबै प्रमाण जुटाएर स्थानीयले सरकारी जग्गा हडप्नेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दर्ता गराएका छन् ।

अख्तियारले मालपोत कार्यालय डिल्लीबजारसँग कागजात समेत मागिसकेको छ । मालपोत कार्यालय प्रमुख टुना बहादुर श्रेष्ठले अख्तियारले पत्र काटेको पुष्टि गर्दै अख्तियारलाई जवाफ समेत पठाइसकेको बताए ।

मालपोत कार्यालय डिल्लीबजारले अख्तियारलाई पठाएको लिखित जवाफमा प्रस्ट रुपमा उक्त जग्गा सरकारी हुन सक्ने उल्लेख गरेको छ । अख्तियारबाट त्यसपछि केही आएको देखिँदैन । सरकारी/सार्वजनिक जग्गा संरक्षणमा विशेष चासो दिने प्रेम कुमार राई नै अख्तियार प्रमुखको भूमिकामा रहेकाले हडपिएको उक्त पर्ती जग्गा फिर्ता आउनेमा स्थानीयको विश्वास छ ।

जग्गा नापजाँच ऐन २०१९ तथा मालपोत ऐन २०३४ ले पर्ती जग्गा भन्नाले सरकारी जग्गालाई जनाउने परिभाषा गरेको छ। मुलुकी देवानी (संहिता) ऐेन २०७४ दफा २९९ को (ङ) मा पनि पर्ती जग्गालाई सरकारी सम्पत्ति मानिने उल्लेख छ ।

डा. उप्रेती परिवारले सेटिङमा ‘किर्ते’ गरेर थापागाउँको उक्त पर्ती जग्गा हडपेको देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ