ल्याब खोल्दा चलखेल गर्ने दिपक मल्होत्राले एयरपोर्टमै पैसा असुल्न थाले
बबरमहलमा ३ रोपनी सरकारी जग्गा हडपेर मल्होत्राले भाडा खाइरहेको संरचनामा दिपेन्द्रले डोजर लगाइदिए
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र कोभिड-१९ संक्रमण पत्ता लगाउन पीसीआर ल्याब खोल्दा चलखेल गर्दै आएका व्यापारी दिपक मल्होत्राले नयाँ धन्दा सुरु गरेका छन् ।
विमानस्थल परिसरमा जहाज उडानमा कठिनाई हुने गरी भवन निर्माण गरेका आइएमएस ग्रुपमा मालिक दिपक मल्होत्राले आगमन कक्षमा मान्छे कुर्न बस्नेसँग १ सय रुपैयाँसम्म असुल्ने नयाँ धन्दा सुरु गरेका हुन् ।
नक्सा पास नै नगरी विमानस्थल परिसरमा नाङ्ग्लो पसलझैं पीसीआर ल्याब खोल्न दिएर चर्चामा आएका व्यापारी मल्होत्रा फेरि आगमन कक्षमा पैसा उठाउन लागेका छन् ।
विमानस्थलमा निःशुल्क सटल बस सेवा सञ्चालन गरेर जस लिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले मल्होत्रालाई असुली धन्दामा चुपचाप छन् । मल्होत्राको आइएमएस ग्रुपले ३० वर्षका लागि आगमन कक्षमा बस्नेसँग पैसा उठाउने ठेक्का पाएको छ ।
विमानस्थल परिसरको २५ रोपनी जग्गा कौडीको भाउमा भाडामा लिएर मनपरी गरिरहेका मल्होत्राले आफन्त लिन आगमन कक्षमा पुग्नेलाई प्रतिव्यक्ति ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म ठटाउन थालेका छन् । विमानस्थलमा सुविधा थप्ने भनेर चर्को कुरा गर्ने पर्यटनमन्त्री आले आगमन कक्षमा आउनेसँग पैसा असुल्ने मल्होत्राको मतियार बनेका छन् ।
सुन तस्करीदेखि सार्वजनिक/सरकारी जग्गा हडपेर भाडा खाने मल्होत्राको विमानस्थलमा असुली धन्दा भने विवादमा आएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ११ बबरमहलस्थित करिब ३ रोपनी सरकारी जग्गा हडपेर ओलम्पिया नामको स्कुलसँग भाडा खाने मल्होत्रा यस्तै धन्दाबाट रातारात अर्बपति बनेको देखिन्छ ।
किङ्ग्स कलेजसँगै रहेको उक्त सरकारी जग्गा १५ वर्षभन्दा बढी समयदेखि मल्होत्राले हडपेर भाडा खाइरहेको फेला परेपछि त्यसै क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले डोजर लगाएर संरचना भत्काइदिए । उनले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग मिलेर सरकारी जग्गा हडप्ने काम जारी राखेपछि सांसद श्रेष्ठले आफैं डोजर लगाएर हडपेको संरचना भत्काइदिएका हुन् ।
मल्होत्राले विभिन्न प्रलोभन देखाएर सरकारी जग्गामा भाडा खाने धन्दा जारी राख्न खोजेपनि सांसद श्रेष्ठले उक्त जग्गा समुदायको हितमा सदुपयोग गर्नुपर्छ भन्दै जोखिम मोलेर बुल डोजर हान्दिए ।
सरकारी जग्गामा काठमाडौं महानगरपालिकाको खर्चमै पर्खाल लगाएर व्यापारी मल्होत्राले हडपेका थिए । अहिले भने त्यो जग्गा खाली गराएर सार्वजनिक प्रयोगमा ल्याउने तयारी भइरहेको छ ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रीको भूमिकामा पुगेका श्रेष्ठ आफैंले डोजर लगाएर सार्वजनिक गराउन सफल मल्होत्राले हडपेको उक्त जग्गामा पार्क निर्माण गर्ने प्रयासमा रहेका छन् । मल्होत्राले सबैलाई मिलाएर सरकारी जग्गामा रजाइँ गरिरहे पनि इमान्दार जनप्रतिनिधि दिपेन्द्रसामू उनका सबै प्रयास असफल देखिए ।
विमानस्थलमा निजी ल्याबको अवैध धन्दामा चलखेल गर्दै आएको विवादित व्यापरी मल्होत्राको बबरमहलको ‘आर्क ब्रिज’ नजिकै रहेको सरकारी जग्गाको अवैध धन्दामा भने दिपेन्द्रले ब्रेक लगाइदिएका छन् ।
पैसाको आडमा सार्वजनिक/ सरकारी जग्गामा रजाइँ गर्ने मल्होत्रालाई उनले साइजमा ल्याइदिएका हुन् । अहिले विमानस्थलको आगमन कक्षमा बस्नेलाई शुल्क लिन थालेपछि व्यापरी मल्होत्राको थप कर्तुत सार्वजनिक हुन थालेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस