पारासिटामाेल “६५०” विवाद : सबै उद्योगीले ५ सय मिलिग्राम पनि उत्पादन गर्ने
काठमाडौं । नेपालमा पारासिटामाेलकाे “वजन” बढाउन हालै गरिएकाे सिफारिसमा केन्द्रित रहेर फरकफरक टिकाटिप्पणी भइरहेका छन् । हालै औषधि सल्लाहकार समितिकाे बैठकले नेपालमा पारासिटामाेलकाे “वजन” बढाउन स्वीकृति दिएकाे छ ।
पारासिटामाेलकाे “वजन” बढाउने बिषयमा थुप्रै प्रश्नहरु बजारमा सुनिएको छ । स्वास्थ्य लाइभले नेपलमा पारासिटामाेलकाे मूल्य बढाउन अब “वजन” मै वृद्धि गर्न लागेकाे समाचार १ महिना अगाडि नै प्रकाशित गरेकाे थियाे । त्यस यता निरन्तर यसका विषयमा समाचार आइरहेका छन् ।
यसलाइ आराेपित उद्योगले मूल्य बढाउने नियतले वजनमा वृद्धि नगरेको दाबी गरेकाे छ । संघका अध्यक्ष प्रज्वलजंग पाण्डे मूल्य बढाउने कुनैपनि नियत नभएकाे बताउछन् । बाहिर ५ सय मिलिग्राम विस्थापित गरेर ६५० मात्रै निकाल्न लागे भन्ने हल्ला सुनिएको भन्दै उनले ५ सय र ६५० दुबै प्रकारको पारासिटामोल उत्पादन सँगसँगै लैजाने स्पष्ट पारे ।
नियम अनुसार समय समयमा मूल्य समायोजन गर्ने उल्लेख छ । त्यहि अनुसार उद्योगीले ०६७ साल देखि औषधि व्यवस्था विभागमा मूल्य समायोजनका लागि निवेदन दिएका थिए । तर, राजनीतिक दलहरुले भाेट बिग्रने भन्दै नियम अनुसार पनि मूल्य समायोजन गर्न नचाहेकाे पाण्डेकाे तर्क छ । ६५० मिलिग्रामका लागिपनि ४ वर्ष अगाडि प्रस्ताव गरेको तर अहिलेसम्म प्रक्रिया अघि नबढी रोकिएको बताए ।
दैनिक प्रयाेग हुने ग्यास, तरकारी, नुन, तेल, दूध जस्ता थुप्रै खाद्य वस्तुमा हरेक बर्ष मूल्य वृद्धि भएकाे तर, नियम भएपनि पारासिटामाेलमा मात्रै मूल्य नबढेेको उत्पादकहरुको तर्क रहेेको छ । ‘हामी पारासिटामाेलकाे मूल्य र वजन बढाउन पर्छ भन्नेमा कदापि छैनाैं तर, नियमले दिएकाे अधिकार र सबै वस्तुको बढ्दा पारासिटामाेलमा मात्रै राजनीति गर्नुपर्छ भन्ने ठान्दैनाैं ‘, संघका अध्यक्ष पाण्डेले भने ।
सरकारी स्वामित्वमा रहेकाे नेपाल औषधि लिमिलेडलाइ कच्चा पदार्थ महँगो भयाे भनेर २ कराेड ट्याब्लेट उत्पादन गरी बजार पढाउन १ कराेड ६ लाख घाटा हुने अनि निजी क्षेत्रमा संचालित उद्योगलाई १ रुपैयाँ नै महँगो भयाे भन्नू पटक्कै नसुहाउने संघमा आवद्ध कम्पनीहरुको भनाइ छ ।
‘प्रती ट्याब्लेट दशाैं हजार पर्ने औषधिमा भएकाे लुट आम नागरिक र पत्रकारलाई जानकारी छैन किनकि उनिहरुले त्यस्ता औषधिकाे नाम उचारण गर्नै जान्दैनन् त्यसैले सबैकाे नजर पारासिटामाेलमा गएकाे हाे ।’, संघका एक पदाधिकारीले भने।
पारासिटामोल ६५० एमजीको दर्ता सम्बन्धमा हाल बजारमा आएका टिकाटिप्पणीको बिषयमा यस नेपाल औषधी उत्पादक संघले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको बताएकाे छ । विभिन्न राष्ट्रहरुमा र रोगहरुमा पारासिटामोल ६५० एमजी पनि आबश्यक दखिएकाले आवश्यक बिरामीको उपचारका लागि सही मात्राको औषधीको अभाव हुन नदिनुनै आफूहरुको मुल उद्देश्य रहेको संघका महासचिव विप्लब अधिकारीले बताए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस