‘अधिकांश मधुमेहका बिरामी उपचारको दायराबाहिर’

डा. सजीव ढुंगेललाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेपालमा अधिकांश मधुमेहका बिरामी उपचारको दायराबाहिर रहेका जनाएका छन् ।

मन्त्री खतिवडाले अधिकांश मधुमेहका बिरामी उपचारको दायरामा नपुगेको भन्दै सरकारले यसलाई विशेष योजना ल्याएर सम्बोधन गर्ने बताएका हुन् ।

मंगलबार भएको एक कार्यक्रमा बोल्दै मन्त्री खतिवडाले प्रायजसो मधुमेहका बिरामी उपचारको दायरमा नआउनु चुनौतीको विषय रहेको धारणा राखे । सरकारले छिट्टै योजना बनाएर मधुमेहका सबै बिरामीलाई उपचारको दायरामा ल्याउने उनको भनाइ छ ।

जनचेतनाको अभावका कारण पनि मधुमेहका बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्न नसकेको मन्त्री खतिवडाको स्पष्टोक्ति छ ।

कुल मृत्युदरमध्ये नेपालमा करिब चार प्रतिशत मधुमेहका बिरामी रहेकाे सरकारी आँकडा छ ।  कार्यक्रममा बेलायतस्थित संस्था हेल्थ एक्सचेन्ड नेपालका महासचिव डा.सत्यन राजभण्डारी, मधुमेह नेपालका अध्यक्ष रोशन कृष्ण न्याछयौं, महासचिव कैलाश प्रधानलगायतले मधुमेह लाग्नुको कारण, रोकथाम, व्यवस्थापन  तथा उपचारका लागि भइरहेको प्रयास र आगामी दिनमा राज्य, स्वास्थ्यकर्मी र संघ/संस्थाले चाल्नु पर्ने कदमको विषयमा धारणा राखेका थिए ।

मधुमेहसम्बन्धी उक्त कार्यक्रममा प्रा. डा. सजीव ढुंगेललाई स्वास्थ्यमन्त्री खतिवडामार्फत लाइफटाइम एचिभमेन्ट अवार्ड समेत प्रदान गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ