अस्पताल नभएको ठाउँमा भ्यू टावर नबनाउने पर्यटन मन्त्री श्रेष्ठको घोषणा


काठमाडौं । अस्पताल र स्कुलको राम्रो व्यवस्थापन नभएको ठाउँमा भ्यू टावर नबनाउने बागमती प्रदेशमा संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले घोषणा गरेका छन् । बागमती प्रदेशको पर्यटन कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

अस्पताल र स्कुल जस्ता अत्यावश्यक पूर्वाधारको विकास हुन नसकेको ठाउँमा अनावश्यक भ्यू टावर बनाएर करोडौं पैसा स्वाहा पारिएको भन्दै उनले अब बागमती प्रदेश सरकारले भ्यू टावरमा बजेट दुरुपयोग नगर्ने स्पष्ट पारे । आफूभन्दा अघिल्लो मन्त्रीले भ्यू टावरमा करोडौं रुपैयाँ विनियोजन गरेको र त्यसको आवश्यकता र कुनै औचित्य नदेखिएको पर्यटन मन्त्री श्रेष्ठको भनाइ छ । 

बागमती प्रदेशका तत्कालीन अर्थमन्त्री कैलाश ढुंगेलको गाउँको डाँडामा समेत भ्यू टावर बनाइएको प्रसंग कोट्‌पाउँदै पर्यटन मन्त्री श्रेष्ठले त्यो भ्यू टावरबाट जंगल र घर हेर्नु भन्दै व्यंग्य समेत गरे । नेपालका डाँडाहरु आफैंमा भ्यू टावर रहेको बताउँदै उनले भ्यू टावरको नाममा बजेट विनियोजन गर्नु गलत भएको तर्क गरे । 

यस्तै बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन कार्यालयले आयोजना गरेको कार्यक्रममा होमस्टेको विकास र विस्तारमा प्रदेश सरकारले जस्तोसुकै सहजिकरण गर्न तयार रहेको पर्यटन मन्त्री श्रेष्ठले बताए ।

बागमती प्रदेश होमस्टे कार्यविधि, २०७८ निर्माण गर्ने सम्बन्धमा राखिएको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले होमस्टेको विकास, विस्तार र प्रमोसमा प्रदेश सरकारले रचनात्मक भूमिका खेल्ने विश्वास दिलाए । हामस्टेलाई व्यवस्थित गर्न र नियमनको दायरामा ल्याउने तथा सुविधा उपलब्ध गराउने उद्देश्यले होमस्टे कार्यविधि निर्माण गर्न लागिएको पर्यटन मन्त्री श्रेष्ठको भनाइ छ ।

बागमती प्रदेशका पर्यटन सचिव मदन कोइरालाले प्रदेश सरकार होमस्टेलगायतका पर्यटन क्षेत्रमा रहेका जति पनि कुराहरुलाई व्यवस्थित गर्न तयार रहेको बताए । सरोकारवालाहरुलाई होमस्टेमा देखिएका समस्याहरु निर्धक्क रुपमा राख्न आग्रह गर्दै उनले सुझावबाटै उत्कृष्ट कानुन बन्ने स्पष्ट पारे । सचिव कोइरालाले क्षेत्र अनुसारको कानुन बनाउने भन्दै ऐन, र नियममा ती कुराको व्यवस्था राखेर कार्यविधिमार्फत कार्यान्वय गरिने जनाए ।

भक्तपुर नगरकोट सामुदायिक होमस्टे, बाँस्तोला गाउँमा भएको उक्त कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, पर्यटन कार्यालयका प्रमुख टंक भट्टराई, टुरिजम लयर्स फोरम नेपालका अध्यक्ष घनेन्द्र श्रेष्ठ, पर्यटन कानुन विज्ञ विष्णु लुईटेल, टानका अध्यक्ष खुमबहादुर सुवेदीलगायतले हामस्टे र पर्यटन क्षेत्रमा देखा परेका समस्या र सम्भावनाका विषयमा धारणा राखेका छन् । ती सबै कुरालाई समेटेर विस्तृत कार्ययोजना ल्याइने पर्यटन मन्त्री श्रेष्ठको प्रतिवद्धता छ । उक्त कार्यक्रममा ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #अस्पताल, #नगरकोट सामुदायिक होमस्टे, #भ्यू टावर, #मदन कोइराला, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ