स्वास्थ्यमन्त्री र सचिव भारत भ्रमणमाः २ सय डायलाइसिस मेसिन नेपालले पाउने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा रोशन पोखरेल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीमा खतिवडा र पोखरेल पनि जान लागेका हुन् । भ्रमणमा स्वास्थ्यका केही विषयमा सहमति हुने भएकाले मन्त्री र सचिव जान लागेको बुझिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार दुई देशबिच आपसी सहयोग र समझदारीमा छलफल हुने छ । साथै भारतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २ सय डायलाइसिस मेसिन दिने भएको छ ।
त्यस्तै जिपी कोइरालालाई प्रतिष्ठानका रुपमा अगाडि बढाउने विषयमा सहमति हुने छ । साथै दुई देशका एमडिएमएस विद्यार्थीलाई दुवै देशले दुईतिरकै मान्यता दिने समझदारीमा हस्ताक्षर हुनेछ ।
टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र केही सचिवहरु समेत रहेका छन् ।
प्रधानमन्त्री देउवा नेतृत्वको स्वास्थ्यमन्त्री खतिवडा सहितको नेपाली प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । स्वदेश फर्कनुअघि प्रधानमन्त्रीले भारतको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
तपाईको प्रतिक्रिया दिनुहोस