स्वास्थ्य र शिक्षा निजीलाई छाडेर भ्यू टावरमा अर्बो स्वाहा,  मन्त्री श्रेष्ठ भ्यू टावरको विपक्षमा


काठमाडौं । बागमती प्रदेश सरकारले स्वास्थ्य र शिक्षामा निजी क्षेत्रलाई छाडेर अनुत्पादक भ्यू टावरमा अर्बो बजेट स्वाहा पारेको पाइएको छ । बागमती प्रदेश सरकारले एउटा भ्यू टावरमा औसत ५ करोड बजेट छुट्याएर प्रदेशभर १० वटा भ्यू टावरमा बजेट दुरुपयोग गरेको तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ ।

स्वास्थ्य र शिक्षा जस्ता अत्यावश्यक क्षेत्र निजी क्षेत्रको जिम्मामा दिएर बागमती सरकारले भ्यू टावरको नाममा अर्बौ रुपैयाँ दुरुपयोग गरेको देखिन्छ । तत्कालीन मुख्य मन्त्री डोरमणि पौडेलको पालामा बागमती प्रदेशको तत्कालीन उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रालयले १० वटा भ्यू टावरमा झन्डै एक अर्ब लगानी गरेको पाइएको हो ।

अघिल्लो सरकारले भ्यू टावरका नाममा गरेको फजुल खर्च / लगानी अहिलेको सरकारले नगर्ने भएको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले अहिलेको आवश्यकता भ्यू टावर नभइ अस्पताल भएको बताउँदै अब नयाँ बजेटमा भ्यू टावरका लागि पैसा नराखिने स्पष्ट पारे ।

श्रेष्ठ पर्यटन मन्त्री भएलगत्तै आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले रामेछापमा बन्दै गएको भ्यू टावर हेर्न पुगेका थिए । त्यो भ्यू टावरबाट पर्यटकलाई आकर्षित गर्ने कुनै कुरा नदेखिएको उनले सुनाए । त्यो भ्यू टावरभन्दा अग्ला अग्ला डाँडा मात्र त्यहाँबाट देखिएको उनको भनाइ छ । ‘रामेछापको भ्यू टावरबाट प्रदेशका पूर्व अर्थ मन्त्री कैलाश ढुंगेलको घर हेर्न बनाएको जस्तो देखियो । भ्यू टावरबाट कुनै महत्वपूर्ण भ्यू देखिएन । जंगल र वस्ती हेर्नका लागि मात्र उक्त भ्यू टावर निर्माण गरिएको रहेछ।’, मन्त्री श्रेष्ठले व्यांग्यात्मक शैलीमा भने ।

उनका अनुसार एउटा भ्यू टावरमा न्यूनतम ३ देखि ५ करोड बजेट विनियोजन गरिएको छ । नयाँ मन्त्री श्रेष्ठ त्यस्ता भ्यू टावरको विपक्षमा उभिएका छन् ।

बागमती प्रदेश सरकारले दोलखाको जिरीमा दुईवटा भ्यू टावर (हिलस्टेश)को कार्यक्रम राखेको छ । सिन्धुपाल्चोकको मुडे, नुवाकाेटकाे चिम्टेश्वर र ककनी, धादिङको रुबी भ्याली र तोप्लाङ्ग, रामेछापको शिवालय र गोगनपानीमा भ्यू टावरका लागि बजेट छुट्याएको छ ।

त्यस्तै नुवाकोटको चित्लाङग र काभ्रेको भूपिचुलीमा भ्यू टावरका लागि कार्यक्रम दिएको छ । रसुवाको सोम्दाङ, चितवनको  सिराईचुली, ललितपुरको कालेश्वर र सुन्धुलीको सिन्धुली गढीमा भ्यू टावरको डिपिआर गर्न प्रदेश सरकारले बजेट छुट्याएको पाइएको छ । अघिल्लो सरकारले अनावश्यक ठाउँमा भ्यू टावरको नाममा बजेट दुरुपयोग गरेको भन्दै वर्तमान पर्यटन मन्त्री श्रेष्ठले यस्ता गलत कुरा रोक्ने प्रयास गरेका छन् । उनले आगामी वर्ष प्रदेश सरकारले अनावश्यक भ्यू टावर निर्माण गर्न बजेट विनियोजन नगर्ने स्पष्ट पारेका छन् ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, #बागमती प्रदेश सरकार, #भ्यू टावर, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, #हिलस्टेशन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ