चिकित्सकमाथि हातपात गर्नेलाई बिना धरौटी थुनामा हाल्ने कानुन जगाउँदै
काठमाडौं । सरकारले ड्युटी खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई बिना धरौटी थुनामा पठाउने कानुन जगाउँने तयारी भएको छ । उक्त कानुन निष्क्रिय भएकाले स्वास्थ्य मन्त्रालयले सक्रिय बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी(पहिलो संशोधन) , २०७८ निष्क्रिय भएकाले त्यसलाई फेरि सक्रिय बनाउने तयारी भइरहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । उक्त विधेयक प्रतिनिधि सभामा पेश भएपछि संसद चल्न नसक्दा पास हुन नसकेको सुनाउँदै उनले संसदबाट विधेयक फिर्ता लिएर पुनः अध्यादेश ल्याउने गरी प्रस्ताव अगाडि बढेको जानकारी दिए ।
‘मन्त्रिपरिषद्को आगामी बैठकले पहिला सदनबाट विधेयक फिर्ता लिने निर्णय गर्छ, त्यसपछि अध्यादेश आउँछ । यही आश्वासन पाएका छौं ।’, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी(पहिलो संशोधन) , २०७८ मा स्वास्थ्य संस्थामा आगजानी, तोडफोड कुटपिट, तालाबन्दी वा उपचारको क्रममा बाधा पारे पुर्पक्षको लागि थुनामा राखी २ देखि ५ वर्षसम्म कैद वा २ देखि ५ लाख जरिवाना वा दुवै सजाय हुन सक्ने छ भन्ने उल्लेख छ ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले संघको महासचिव हुँदा देखिनै उठाउँदै आएको स्वास्थ्य संस्थामा आगजानी, तोडफोड कुटपिट, तालाबन्दी वा उपचारको क्रममा बाधा पारे जेल हाल्ने कानुन अध्यादेशमार्फत आएको थियो । डा. कार्कीकै निरन्तर सक्रियताको उक्त अध्यादेश आएपनि सदनबाट पास नहुँदा निष्क्रिय बनेको हो । त्यसैलाई ब्युँताउन नेपाल चिकित्सक संघ फेरि सक्रिय भएको हो ।
अब एकहप्ताभित्र उक्त कानुन फेरि सक्रिय हुने नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको भनाइ छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस