राष्ट्र बैंकमा घुस माग्ने सुवोध कर्णको वीपी प्रतिष्ठानमा ब्रह्मलुट


काठमाडौं । राष्ट्र बैंकमा बसेर ३० हजार डलर घुस मागेको आरोप लागेका सुवोधकुमार कर्णले वीपी प्रतिष्ठानमा ब्रह्मलुट मच्चाएको तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एउटा परामर्श ठेक्कामा प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार तुलबहादुर श्रेष्ठसँगको मिलेमतोमा उनले ब्रम्हलुट मच्चाएको फेला परेको हो ।

राष्ट्र बैंकको सञ्चालक समितिका सदस्य समेत रहेका कर्णले नेपाल नागरिक उड्डयन प्राधिकरणकै शैलीमा वीपी प्रतिष्ठानमा ठेक्का सम्झौताविपरीत लुट मच्च्याएको कागजात स्वास्थ्य लाइभले प्राप्त गरेको हो । वीपी प्रतिष्ठानमा नेपाल वित्तीयमान प्रतिवेदन(एनएफआरएस) लागू गर्दा कर्णको फर्मले सेटिङ गरेर प्रतिष्ठानमा ब्रम्हलुट गरेको उक्त कागजातबाट प्रस्टै देखिन्छ ।

यसरी मच्चाए कर्णले ब्रह्मलुट

वीपी प्रतिष्ठानमा नेपाल वित्तीयमान प्रतिवेदन(एनएफआरएस) लागू गर्दा परामर्श ठेक्कामा कर्णको कम्पनी सुवोध एसोसियट्सले लागत २३ लाख ७९ हजार ३ सय रुपैयाँको आर्थिक प्रस्ताव हालेको देखिन्छ ।

प्रतिष्ठानको रजिष्ट्रार एवं मूल्याङ्कन समितिका संयोजक तुलबहादुर श्रेष्ठले उपकुलपति पेश गरेको प्रविधिक तथा आर्थिक प्रस्ताव मूल्याङ्कनको प्रतिवेदनमा भ्याटबाहेक लागत २३ लाख ७९ हजार ३ सय रुपैयाँ प्रस्ताव गर्ने सुवोध एसोसियट्स, काठमाडौंको प्राविधिक तथा आर्थिक प्रस्ताव स्वीकृत हुनुपर्ने उल्लेख गरिएको छ ।  तर पछि उक्त फर्मसँग वीपी प्रतिष्ठानले एनएफआरएसका लागि परामर्श ठेक्का सम्झौता गर्दा ६७ लाख ८० हजारमा सम्झौता गरेको प्रमाण स्वास्थ्य लाइभले फेला पारेको छ । 

अझ रोचक पक्ष त २३ लाख ७९ हजार ३ सय रुपैयाँ प्रस्ताव हालेको सुवोध एसोसियट्सले ६७ लाख ८० हजारमा ठेक्का सम्झौता गरेर १ करोड ५० लाख भुक्तानी पाउन सफल भएको पाइन्छ । २४ लाख ७९ हजारको प्रस्तावमा ६७ लाख ८० हजारमा सम्झौता गर्नु आफैंमा लुट हो । भुक्तानी गर्दा १ करोड ५० लाख पाउनु ब्रह्मलुट नै हो । 

एउटा लागतमा १५ दिनको सूचना प्रकाशित गरि आसय पत्र मागी प्रतिस्पर्धा देखाउने, सम्झौता त्यसको तीन गुणा रकमा गर्ने तर भुक्तानी भने सम्झौता भन्दा पनि करिब दुई गुणा गर्ने यस्तो प्रकारको खरिद कार्य देशमै बिरलै पाइन्छ । यसमा ठूलो आर्थिक चलखेल भएको वीपी प्रतिष्ठानका एक कर्मचारी सुनाउँछन् । ‘मैले अनेक पटक यो कार्य नगर्न भन्दा पनि जबरजस्ती गरेर आन्तरिक रूपमा आफ्नो समेत पार्टनरशिप राखी रजिष्ट्रार श्रेष्ठले सुबोध कर्णलाई करिव १ करोड ५० लाख भुक्तानी गरि कम्तिमा ५० लाख अपचलन गरे’ लेखा शाखामा कार्यरत एक अधिकृतले भने ।

तत्कालीन रजिस्ट्रार तुलबहादुरद्वारा बिना टेण्डर करोडौंको काम

वीपी प्रतिष्ठानमा तत्कालीन रजिष्ट्रार तुलबहादुर श्रेष्णले बिना टेण्डर एनएफआरएसका नाममा करोडौ भुक्तानी गरेको पाइएको छ । सुवोध कर्णको फर्मलाई मिलेमतोमा उक्त रकम भुक्तानी गरेको पाइएको हो ।

सार्वजनिक खरिद ऐन, नियमावली र प्रतिष्ठानको आर्थिक प्रशासन नियमावलीको ठाडो उल्लङ्घन गर्दै खर्च न्यून हुने आम्दानी बढी हुने भित्री मनसायले रजिष्ट्रारको योजनामा प्रतिष्ठानले मिति २०७१/०८/२९ गतेको एक दैनिक पत्रिकामार्फत १५ दिनको म्याद दिएर एनएफआरएस सम्बन्धी कार्य गर्ने फर्महरूसँग आसय पत्र माग्यो । एनएफआरएसको आवश्यकता र मापदण्ड अनुसार प्रतिष्ठानको एकाउण्टिङ म्यानुअल सिस्टम निर्माण र विकास गर्ने तथा सो प्रणालीबारे प्रतिष्ठानका कर्मचारीलाई तालिम समेत दिने भनि खोलिएको आसय पत्र हेर्दा र सुन्दा अत्यन्त सकारात्मक तर चरम भ्रष्टाचारको नियतले अभिप्रेरित थियो ।

कुनै समय विभिन्न फर्ममार्फत अडिट गर्दै हिँड्ने रजिष्ट्रार श्रेष्ठका व्यापारिक साझेदार काठमाडौंका चार्टर एकाउण्टेण्ट सुवोधकुमार कर्णको नाममा रहेको सुवोध एसोसियट्सलाई सेटिङमा सानो रकममा काम जिम्मा दिएर करोडौं भुक्तानी गर्ने कार्य भएको छ ।

आर्थिक अपचलन गर्ने नियतले प्रकाशित आसयपत्रमार्फत प्रस्ताव पेश गर्ने फर्महरुको प्राविधिक मूल्यांकन अंक निर्धारण नै यस्तो तवरले गरियो कि सुवोध एसोसियट्सकै योजनामा पेश भएका तिन वटा फर्म मात्र छनौट भए ।

सार्वजनिक खरिद प्रक्रिया बुझ्ने जो कोहीले पनि प्राविधिकरुपमा छनौट भएका तीनवटा फर्महरुले कबुल गरेको रकममा देखिएको फरक हेर्दा यो सबै कार्य मिलेमतोमा भएको हो भनेर बुझ्न एक मिनेट पनि लाग्दैन ।  यस्तो प्रतिष्पर्धा कुनै पनि ठेक्कामा विरलै देख्न पाइन्छ ।

सेटिङमा सुवोध एसोसियट्सले कामको जिम्मा पायो । कबुल गरेको रकममा प्रतिष्ठानमै रजिष्ट्रार श्रेष्ठले २५ लाख लिएर नियुक्त गरेकी आर्थिक शाखा प्रमुख रुपा सिघान्चिकीसँग फेरि मोटो रकम लिएर उनलाई नियुक्त गरि एनएफआरएसको काम सुवोध एसोसियट्समार्फत रजिष्ट्रार श्रेष्ठले गराउन सुरु गरेको चर्चा वीपी प्रतिष्ठानभित्र अझैपनि चल्ने गरेको छ । कर्णले लेखा सुधार गर्न ठेक्का लिएर करोडौं घोटाला गरेपछि वीपी प्रतिष्ठानको लेखा सुध्रिनुको साट्टो बेरुजु बढेर १ अर्ब नाघेको छ ।

प्रतिष्ठानका स्कूल अफ पब्लिक हेल्थ का प्रमुख प्रा. डा. पारस कुमार पोखरेल ले फेसबुक मार्फत सार्वजनिक रूपमा तत्कालिन रजिष्ट्रार तुला बहादुर श्रेष्ठ र सुवोध कुमार कर्णको साँठगाँठ मा प्रतिष्ठानको डेपुटी रजिष्ट्रारको कार्यकक्षनै कब्जा गरेर यस ठेक्कासम्बन्धी कार्य गरेको लेखेका छन् ।

तत्कालीन रजिष्ट्रार श्रेष्ठ वीपी प्रतिष्ठानमा भएका विभिन्न अनियमिततामा संलग्न देखिएर अख्तियारद्वारा दायर दुईवटा भिन्न/भिन्न मुद्दामा विशेष अदालत धाईरहेका छन् । यता सेटिङमा भुक्तानी लिने कर्ण भने राष्ट्र बैंकको सञ्चालक सदस्यको हैसियतमा डलरमा घुस बार्गेनिङ गरिरहेका छन् । कर्णले नबिल बैंक र नेपाल बंगलादेश बैंक गाभिएर एउटै बन्ने प्रक्रियामा सबै कुरा मिलाइदिन्छु भनेर व्यापारी घराना चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग ३० करोड घुुस मागेको अहिले तरंग ल्याएको छ । पछिल्लो घुस काण्डले वीपी र क्यानमा लुट्न पल्किएका कर्ण राष्ट्र बैंकमा पनि त्यहिँ शैलीमा उत्रिएको देखिन्छ ।

कर्णको शैली: कम रकम प्रस्तावपछि चलखेल

सार्वजनिक निकायले नेपाल वित्तीय प्रतिवेदनमान लागू गर्न परामर्शदाता छनौट गर्दा कर्णले आर्थिक प्रस्ताव पेश गरेपछि चलखेल गर्ने गरेको पाइन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणदेखि वीपी प्रतिष्ठानसम्मको ठेक्कामा त्यो कुरा लागू भएको छ ।

प्राधिकरणमा एनएफआरएस लागू गर्दा एक करोड ८९ लाख खर्च लाग्ने लागत अनुमान तयार गरेर कर्णको सुवोध एसोसियट्सले ४ करोड भन्दा बढी रकम भुक्तानी गरिएको छ । त्यस्तै वीपीमा २३ लाखम  काम गर्ने कबोल गरेको कर्णको कम्पनीले डेढ करोड झ्वाम पारेको पाइन्छ । त्यसो त उनले नागरिक उड्डयन प्राधिकरणमा नक्कली विदेशी विज्ञ खडा गरेर झन्डै एक करोड झ्वाम पारेको संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमै उल्लेख छ ।

 

 

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #एनएफआरएस लागू, #घुस बार्गेनिङ, #घोटाला लुट, #तुलबहादुर श्रेष्ठ, #नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान, #नेपाल राष्ट्र बैंक सञ्चालक सदस्य, #सुवोध एसोसियट्स, #सुवोध कुमार कर्ण

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ