डब्ल्यूएचओका महानिर्देशक टेड्रोस भेटघाटमा व्यस्त
काठमाडौं । तीनदिने नेपाल भ्रमणमा बिहीबार काठमाडौं आइपुगेका विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस् आज दिनभर भेटघाटमा व्यस्त भएका छन् ।
दक्षिण-पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक, डा पूनम खेत्रपाल सिंहलाई साथमा लिएर नेपाल भ्रमणमा आएका डा. टेड्रोसले आजै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई भेटेका छन् ।
उक्त शिष्टाचार भेटघाट कार्यक्रममा महानिर्देशक डा. टेड्रोसले डा. खेत्रपाल सिंह, विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यालयका प्रमुख, डा राजेश संभाजीराव पाण्डव, र देशिय रणनीति तथा सहयोग विभागका निर्देशक, डा. शम्भु आचार्य पनि साथमा राखेका थिए ।
स्वास्थ्यमन्त्री खतिवडादेखि, परराष्ट्रमन्त्री खड्का र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग भेट्दा महानिर्देशक डा. टेड्रोसले दोस्रो कार्यकालका लागि आफ्नो मनोनयनलाई समर्थन गर्न अनुरोध गरेका छन् । साथै भेटमा डा. टेड्रोसले नेपालले कोभिड-१९ खोप अभियानमा हासिल गरेको उपलब्धिको लागि बधाई समेत दिएका छन् ।
महानिर्देशक डा. टेड्रोस स्वास्थ्यमन्त्री खतिवडाले आयोजना गरेको रात्रिभोजमा सामेल हुन् बत्तिसपुतलीस्थित द्वारिका होटल पुगेका छन् ।
भोलि साढे ९ बजे बालुवाटर पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाबाट उनको भेटघाट सुरु हुने छ । महानिर्देशक डा. टेड्रोस पर्सी जेनेभा फर्किने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस