प्रत्येक वर्ष २ हजार किलो बढी औषधि खेर जान्छ तर नष्ट गर्ने कार्यविधि छैन
काठमाडौं । सरकारले खरिद गरेका तथा अनुदान सहयोगमा आएका औषधि तथा औषधिजन्य सामग्रीहरु वर्षमा न्यूनतम २ हजार किलो भन्दा बढी खेर जाने गरेको छ । भूकम्पको समयमा आएका तथा खरिद गरेका औषधिहरु स्वास्थ्य सेवा विभागले ठूलो परिमाणमा हालै नष्ट गरेको छ । कतिपय अझै बाँकी छन् ।
स्वास्थ्य सेवा विभागका कर्मचारीले बताए अनुसार खेर गएका औषधि नेष्ट गर्ने कुनै कानुन नभएकाले मनलाग्दी हिसाबमा नष्ट गरिएको छ । बाहिर पठाएका औषधिहरु त्यसै बाटामा फाल्ने काम भएका छन् । म्याद सकिएका औषधि तथा औषधिजन्य सामग्रीहरु विशेष रसायनिक पदार्थद्वारा निस्कृय पार्नुपर्छ तर, नष्ट गर्ने कानुन नहुँदा सार्वजनिक स्थानहरुमा फाल्ने, खोलामा बगाउने र धेरै सुरक्षित तरिका अपनाएको खण्डमा खाडल खनेर पुर्ने गरिएको छ ।
स्वास्थ्य मन्त्रालयको रेकर्ड हेर्ने हो भने ६ हजार बढी सरकारी स्वास्थ्य संस्थाहरु संचालनमा रहेका छन् । एउटा संस्थाबाट एक वर्षमा न्यूनतम पनि ३ केजी औषधि तथा औषधिजन्य सामग्री खेर जान्छ । यसलाई आधार मान्दा सरकारी स्वास्थ्य संस्थाहरुमा मात्रै प्रत्येक वर्ष २ हजार किलो बढी औषधि सुरक्षित रुपमा नष्ट गर्नुपर्ने हुन्छ तर, भएको छैन ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका स्टोर किपर केदारनाथ उप्रेती औषधि तथा औषधिजन्य सामग्रीहरु सुरक्षित र वैज्ञानीक तवरले नष्ट गर्न कार्यविधि ल्याउन लागेको बताउँछन् । यसका लागि तीव्र रुपमा काम भइरहेको उप्रेतीले जनाए ।
स्वास्थ्य मन्त्रालयका सचिव डा . रोशन पोखरेलले पनि विभिन्न कारणले नष्ट गर्नुपर्ने औषधि र औषधिजन्य सामग्रीहरु वैेज्ञानीक रुपमा कसरी नष्ट गर्न सकिन्छ भनेर निर्देशिका तयार पार्ने काम भइरहेको बताउँछन् । उनका अनुसार यसको सबै जिल्ला स्टोर किपर केदारनाथ उप्रेतीलाई दिइएको छ । उप्रेतीले निर्देशिका बनाउने काम भइरहेको तर, नसकिएको स्पष्टोक्ति दिए ।
जानकारहरुले बताए अनुसार रसायन विज्ञ बिना रासायनतत्वद्वारा निस्क्रिय पार्नु हुँदैन । यो विधि असाध्यै संवेदनशील, जटिल, महँगो र समय लाग्ने विधि हो । ५० केजीभन्दा कम औषधिहरु मात्रै यस विधिद्वारा निस्क्रिय पार्न सकिन्छ तर, सोभन्दा माथि भएको खण्डमा पटक पटक दोहो¥याएर गर्नुपर्छ । उप्रेती भन्छन् , ‘सिमेन्ट कारखाना धेरै समय ८५० डिग्री सेल्सियस तापक्रममा चल्ने भट्टीहरु हुन् । हाम्रो जस्तो अत्यावश्यक डिस्पोज प्लान्ट नभएको देशमा यो भट्टी एक महत्वपूर्ण विकल्पका रुपमा लिन सकिन्छ ।’, ८५० देखि १४५० डिग्री सेल्सियस सम्मको तापक्रममा औषधिहरु साइक्लोन भित्र जलेर नष्ट हुनेछ ।
नष्ट गर्नुपर्ने औषधिहरु
➡️म्याद समाप्त भएका औषधिहरु,
➡️औषधिका स्ट्रिप, ब्लिस्टर, प्याकिङ, बट्टाहरुमा मात्रा र स्पेसिफिकेसन र भाषा नबुझिने औषधिहरु,
➡️औषधिको चक्कीको रंग फरक भएमा, पानिले भिजेका स्ट्रिप, ब्लिस्टर च्यातिएका औषधिहरु,
➡️औषधि व्यवस्था विभागले प्रयोग गर्न अनुमति नदिएका औषधिहरु,
➡️प्रयोगमा आएका र मौज्दातमा रहेका तर, स्वास्थ्य सेवामा प्रयोग गर्न अनुमती बन्द गरेको औषधिहरु
तपाईको प्रतिक्रिया दिनुहोस